
टोकियो। चामलको बढ्दो मूल्यको सामना गरिरहेको जापानमा आफ्नो वक्तव्यमा भएको गल्तीले सार्वजनिक आक्रोश बढेसँगै कृषिमन्त्री टाकु इटोले बुधबार पदबाट राजीनामा दिएका छन्।
टाकु इटोले सप्ताहन्तमा एउटा भेलालाई भनेका थिए, ‘मैले आफैं कहिल्यै चामल किनेको छैन किनभने मेरा समर्थकहरूले मलाई यति धेरै दान गरे कि म यसलाई व्यावहारिक रूपमा बेच्न सक्छु।’ चामलको अभावका कारण मूल्य आकाशिएको जापानमा सम्बद्ध मन्त्रीको यो भनाइले ठूलो असर पारेको छ।
गत महिना चामलको मूल्य सन् २०२४ अप्रिलको तुलनामा झन्डै दोब्बर थियो। यसको कारणमा सन् २०२३ मा गर्मी मौसमका कारण खराब फसल र गत वर्ष ‘मेगाक्वेक’ (ठूलो भूकम्प) चेतावनीद्वारा प्रेरित आपत्कालीन खरिदका साथै पर्यटन उद्योगको वृद्धि थियो। सरकारले मूल्य घटाउने प्रयासमा आफ्नो आपत्कालीन चामल भण्डारको केही हिस्सा जारी गर्न बाध्य भएको छ र अहिलेसम्म थोरै सफलता मिलेको छ।
इटोको टिप्पणीलाई मुख्य विपक्षी कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टी अफ जापानका महासचिव जुन्या ओगावाले ‘अत्यन्त अनुचित, वास्तविकताबाट टाढा र असहनीय’ भन्दै आलोचना गरेका थिए। खाद्य पदार्थको उच्च मूल्यका कारण खराब जनमत रेटिङ भएका प्रधानमन्त्री सिगेरु इसिबाले मन्त्रीको टिप्पणीलाई ‘अत्यन्त दुर्भाग्यपूर्ण’ भन्दै निन्दा गरे।
‘अहिले चामलको बढ्दो मूल्यको समाधान गर्नु कृषिमन्त्रीको काम हो। म उहाँबाट समाधानको अपेक्षा गर्छु,’ इसिबाले मंगलबार पत्रकारहरूसँग भनेका थिए। विपक्षी दलहरूले इसिबाको अल्पमत सरकारविरुद्ध अविश्वासको प्रस्ताव दायर गर्ने धम्की दिएका छन्, जसले जुलाईमा माथिल्लो सदनको कठिन चुनावको सामना गर्दैछ।
सोमबार इटोले आफूले अतिरञ्जित गरेको र आफ्नी श्रीमतीले सुधार गरेको भन्दै टिप्पणीहरू फिर्ता लिन खोजेका पनि थिए। ‘उनले मलाई भनिन् कि जब हाम्रो भण्डार रित्तिनेछ उनी चामल किन्न जान्छिन्,’ इटोले भने, ‘यस्तो होइन कि हाम्रो परिवार पूर्ण रूपमा उपहार दिइएको चामलमा आश्रित छ।’
बुधबार बिहान इटोले पत्रकारहरूलाई प्रधानमन्त्रीको ‘धेरै कडा शब्दहरू’ पछि राजीनामा दिएको भन्दै आत्मसमर्पण गरे। पछि इसिबाले माथिल्लो सदनको सत्रमा ‘कृषि नीतिले काम गर्न रोक्न सक्दैन भन्ने दृष्टिकोणबाट उनको राजीनामा स्वीकृत गरेको’ बताए।
‘म जापानी जनतासँग माफी माग्छु किनकि मैले उहाँलाई नियुक्त गरेको मेरो जिम्मेवारी हो,’ इसिबाले भने, ‘चामलको मूल्य उच्च रहिरहेको एक पटकको घटना होइन भन्ने मलाई लाग्छ। हामीले यसबारे छलफल गर्नुपर्छ र अवश्य पनि मूल्य घट्नुपर्छ।’
इटोको उत्तराधिकारीका रूपमा इसिबाले मिडियाप्रेमी पूर्ववातावरण मन्त्री एवं पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा सिन्जिरो कोइजुमीको नाम दिए। ४४ वर्षीय कोइजुमीले ‘चामलको बढ्दो मूल्यबीच बलियो नेतृत्व’ प्रदर्शन गर्ने अपेक्षा गरेको उनले बताए। -एएफपी/रासस