
काठमाडौं। २०७९ को निर्वाचनपछि उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेस एकअर्कोलाई वर्गीय शत्रुझैं व्यवहार गर्छन्। पछिल्लो समय भने यी दुई दल नजिकिन थालेका छन्। कारण – नयाँ सत्ता समीकरण बनाउने प्रयास।
कांग्रेस र रास्वपाबीचको तिक्तता मेटाउन माओवादी नेताहरु नै खटिएका छन्।
कांग्रेसलाई एमालेबाट अलग गरी नयाँ समीकरण बनाउन अंकगणितमा कमजोर भएकोले माओवादीले रास्वपाको साथ खोजिरहेको हो। यसका लागि रास्वपाले पनि कांग्रेससँग नजिकिने वातावरण बनाइरहेको रास्वपाकै नेताहरु बताउँछन्। ‘अहिले कुनै दललाई सत्तामा समर्थन गर्न परे कांग्रेसप्रति सफ्ट हुने हो रास्वपा,’ रास्वपका एक पदाधिकारीले भने।
यद्यपि सदनमा कांग्रेस – रास्वपा नोकझोंक पनि उस्तै चर्को सुनिन्छ। गृहमन्त्री रमेश लेखकलाई भिजिट भिसा प्रकरणमा राजीनामा दिन माओवादी र रास्वपाले बाध्य बनाउने प्रयास गरेका थिए। यो प्रकरणमा एमाले मौन बसेपछि माओवादी एकाएक ब्याक भयो। माओवादी ब्याक भएसँगै कांग्रेससँग निकट हुन खोजेको रास्वपालाई पनि यो मुद्दा भारी भएको रास्वपाकै नेताहरु बताउँछन्।
घिमिरेसँग खड्का रुष्ट
तर कांग्रेसकै नेताहरु यो मुद्दा सेटल गर्नुको साटो भड्काउनतिर लागेको बुझाइ अहिले रास्वपामा देखिन्छ। मंगलबार कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपाका सांसदहरुको निलो स्कार्फमाथि प्रश्न उठाउँदै संसदबाटै निष्कासन गर्नुपर्ने बताएका थिए।

माओवादी नेताहरु भने रास्वपा कांग्रेससँग नजिकिसकेको दाबी गर्छन्। यसरी अनुकूल वातावरण बनाएको बेला भड्काउनतिर लागेको भन्दै उपसभापति खड्का कांग्रेस प्रमुख सचेतक घिमिरेसँग रुष्ट बनेका छन्। मंगलबार घिमिरेको मन्तव्य सकिनै लाग्दा सदन पुगेका थिए कांग्रेस उपसभापति खड्का। सदन स्थगित हुन साथ खड्काले घिमिरेलाई उनको प्रस्तुतिको विषयलाई लिएर असन्तुष्टि पोखेका थिए। रास्वपासँग बन्दै गरेको वातावरण बिगार्न लागेकोतिर इंगित गर्दै खड्काले घिमिरेलाई सम्झाएका थिए।
घिमिरेमात्र हैन भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै सदन अवरोध जारी राखेपछि कांग्रेस सचेतक सुशीला थिङ रास्वपामाथि खनिएकी थिइन्।
‘आपत्तिजनक शब्दहरू यहाँ मानव तस्करीको कुराहरू उठ्यो। बोल्ने वक्ताले बोलिरहेको बेलामा अवरोध गर्ने कुराहरू उठ्यो। मानव तस्करी भनेर कसलाई भन्न खोजेको हो? परिभाषित गर्न सक्नुहुन्छ?’ थिङले प्रश्न गरेकी थिइन्। उनले नियमापत्तिमै थपिन्, ‘५/५ जनालाई व्यक्तिलाई हस्ताक्षर गरेर विदेश पठाएको तस्करी हो कि कुन विषयको मानव तस्करी हो?’ एक वर्ष अगाडि उपसभामुख इन्दिरा रानामगरले हस्ताक्षर गरी विदेशमा कार्यक्रममा पठाएको पत्र सार्वजनिक भएको थियो।
आइतबारमात्र कांग्रेस सांसद नगिना यादवले रास्वपामाथि रोष पोखेकी थिइन्। ५ जिल्लामा सहकारी ठगीको मुद्दा खेपेको व्यक्तिलाई पार्टी सभापति मानेको रास्वपाले गृहमन्त्रीको राजीनामा माग्नु आपत्तिको विषय भएको उनको दाबी थियो। ‘रास्वपा सभापतिको ५ जिल्लामा सहकारी ठगीको मुद्दा विचाराधीन छ। सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा चलेको छ,’ सांसद यादवले भनिन्, ‘सहकारी मात्र होइन नागरिकता र पासपोर्ट काण्डमा उहाँको पद नै गएको थियो। काण्डै काण्डले भरिएका यस्ता गन्हाउने व्यक्तिको नेतृत्वमा बस्ने यी सांसदले नैतिकताको पाठ कसलाई पढाउने?’
यसैगरी गत सोमबार कांग्रेस सांसद रामहरि खतिवडाले रास्वपाको विरोधशैलीको व्यङ्ग्य कसेका थिए। ‘आज म केही माननीय सदस्यहरु माननीय मन्त्रीभन्दा अगाडि बस्न रहर गरेर बस्नुभयो। आन्दोलन जारी गर्न पनि बस्नुभएको हुनसक्छ। मन्त्रीभन्दा अगाडि कुर्सी खाली गरेर बस्नुभएको छ। म धन्यवाद दिन चाहन्छु उहाँहरुलाई,’ खतिवडाले भनेका थिए, ‘म अनुरोध गर्न चाहन्छु मर्यदापालक साथीहरुलाई मानव अधिकारको पनि कुरा हुन्छ। अगाडि राखेर उभ्याएर आफू बस्नुभएको छ। राप्रपाका माननीय सदस्यहरुले हामीलाई बैठक भत्ता चाहिँदैन भन्नुभयो। त्यो अगाडि बैठक बस्नेको बैठक भत्ता पनि मर्यादापालकलाई दिए म झन् खुसी हुन्छु सभामुखज्यू।’

यसले पछिल्लो वातावरण बिगार्दै लगेको रास्वपाका नेताहरुको दाबी छ। यस्तो आक्रामक अभिव्यक्ति राख्ने दलसँग रास्वपाको कार्यगत एकता हुनै नसक्ने रास्वपाका ती पदाधिकारी बताउँछन्। ‘कांग्रेस पछिल्लोपटक रास्वपालाई चिढ्याउनतिर लागेको देखिन्छ। यसरी त मिल्ने कुरा हुनै सक्दैन,’ रास्वपाका ती पदाधिकारीले भने।
दुईतर्फी डिल यसरी हुँदै
सत्ता फेर्न कांग्रेसलाई माओवादीमात्र भएर पुग्दैन। किनभने कम्तीमा १३७ सिट बहुमतका लागि आवश्यक हुन्छ। अहिले कांग्रेससँग ८७ सिटमात्र छ भने माओवादीसँग ३२ सिट। यो जोड्दाजम्म ११९ हुन्छ। पछिल्लो समय एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पतञ्जलि जग्गा प्रकरणमा मुछिएसँगै कांग्रेस गठबन्धनसँग सहभागी हुने इच्छा देखाइरहेका छन्। माओवादी र एकीकृत समाजवादीले गृहमन्त्रीको राजीनामाको अडान एकैसाथ त्यागेबाट प्रस्ट हुने नेताहरु बताउँछन्। तर यो दलसँगको ९ सिट जोड्दा जम्मा १२८ सिटमात्र पुग्छ। रास्वपाको २० सिट जोडे १४८ सिट पुग्छ।
वैकल्पिक गठबन्धनका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादीसँग ‘सिक्वेस’ मिलाउन उपसभापति पूर्णबहादुर खड्कालाई खटाएका छन्। यता माओवादी अध्यक्ष दाहालले भने शक्तिबहादुर बस्नेत, वर्षमान पुन र जनार्दन शर्मासम्मलाई यो जिम्मेवारी दिएका छन्। माओवादी नेताहरु एमालेसँग पनि सत्ता समीकरणको जोडघटाउका विषयमा पटकपटक भेट जारी राखेका छन्। माओवादीका दोस्रो तहका नेताहरुले कांग्रेस र एमालेसँग दुईतर्फी रुपमा भेटवार्ता जारी राखेकाे छ।
रास्वपा एमालेतिर सफ्ट हुने कि कांग्रेसतिर भन्नेमा माओवादी नेताहरुको बुझाइ प्रस्ट देखिँदैन। ‘रास्वपाका लागि पहिलेबाटै प्रधानमन्त्री केपी शर्मा ओली सफ्ट हुन्। अहिले रास्वपाको अडानमा पनि एमाले मौन देखिन्छ,’ माओवादीका एक नेताले भने। यद्यपि लोकतान्त्रिक आचरण र कांग्रेससँग धेरैको निकट सम्बन्ध रास्वपाको देखिन्छ।
के अहिले कांग्रेसले वैकल्पिक गठबन्धन बनाए रास्वपा सत्तामा जान तयार हो? रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले यो लगभग असम्भव भएको दाबी गरे। ‘रास्वपाले ८४ सम्म सरकारमा जाने कुनै योजना बनाएको छैन,’ झाले भने।
भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएको परराष्ट्रमन्त्री आरजु राणा, भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री लेखकजस्ता पात्र भएको पार्टीसँग सत्तामा जानु जनताका लागि घात गर्नुसरह हुने झाको भनाई छ।