
काठमाडौं। अमेरिकाले एमसीसी परियोजनालाई निरन्तरता दिएको छ। अमेरिकी दूतावासले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै एमसीसी कम्प्याक्ट नेपाललाई पूर्ण कार्यान्वयन गर्न अनुमति दिएको उल्लेख छ।
अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)ले फागुन २ गते गरेको इमेल अनुसार एमसीसी परियोजना रोकिएको थियो।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जिम्मेवारी सम्हाल्नासाथ विभिन्न देशलाई गर्दै आएको अनुदान सहयोग ९० दिनका लागि स्थगन गर्ने निर्णय गरेका थिए। ट्रम्पको त्यही निर्णय अनुसार सरकारलाई अमेरिकाबाट इमेल आएको थियो। तर, एसीसी नेपाल कम्प्याक्टका लागि भने विदेश मन्त्रालयबाट ‘स्पेसिफिक एक्सेप्सन’ मिलेको दूतावासले जनाएको छ।
‘एमसीसी नेपाल कम्प्याक्ट पूर्ण कार्यान्वयनका साथ अगाडि बढ्न अधिकार प्राप्त छ,’ दूतावासको विज्ञप्तिमा भनिएको छ। एमसीसी स्थगनपछि पनि यहाँ कुनै पनि काम रोकिएको थिएन। पूर्ववत रुपमै ठेक्का लगायतका प्रक्रिया अगाडि बढेका थिए।
नेपाल र अमेरिकाबीच २०७४ भदौ २९ गते नेपालमा एमसीसी परियोजना लागू गर्ने सम्झौता भएकामा डेढ वर्षअघि अर्थात २०८० भदौ १३ गते कार्यान्वयन सुरु भएको थियो।
परियोजना कार्यान्वयनको चरणमा गएको ८ महिनापछि गत वैशाखमा ४०० केभी नयाँ बुटवल सबस्टेसन निर्माणको पहिलो ठेक्का लगाइएको थियो। एमसीए नेपालले सुस्ता पश्चिममा सबस्टेसन निर्माणको ठेक्का भारतीय कम्पनी लिङ्कसन इण्डिया प्रालिलाई दिएकामा कम्पनी फिल्डमा काम गरिरहेका छन्।
परियोजनाअन्तर्गत नुवाकोटको रातमाटे र तनहुँको दमौलीमा पनि एक/एकवटा सबस्टेसन निर्माण गर्नुपर्नेछ। त्यहाँ पनि निर्माण कम्पनीले काम अगाडि बढाएका थिए।
कार्यान्वयन सुरु भएको मितिबाट ५ वर्षमा ३१५ किलोमिटर ४०० केभी प्रसारण लाइन र तीन वटा सबस्टेसन निर्माणका साथै पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने ७१ किलोमिटर सडक आधुनिक प्रविधि प्रयोग गरेर मर्मत गर्ने भनिएको थियो।
५० करोड अमेरिकी डलर अनुदानको परियोजनामा नेपालले थप १९.७ करोड डलर लगानी गर्ने सहमति थियो।