
काठमाडौं। २५ बुँदे आह्वान जारी गर्दै सरकारले पहिलोपटक आयोजना गरेको सगरमाथा संवाद सम्पन्न भएको छ।
आफ्नो देश विशेष अनुकूलन आवश्यकता पूरा गर्न राष्ट्रिय अनुकूलन योजना विकास र कार्यान्वयन गर्न थप प्रोत्साहित गर्ने, विकासशील र विशेष परिस्थितिमा रहेका देशमा जलवायु कार्य कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय वित्तीय सहायता वृद्धि र परिचालन गर्न आह्वान गर्ने निष्कर्षसहित जेठ २ सुरु भएको सगरमाथा संवाद आइतबार सम्पन्न भएको हो।
विकासशील र जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई अन्तर्राष्ट्रिय जलवायु वित्तमा समान र सरलीकृत पहुँच सुनिश्चित गर्न सामूहिक प्रयासलाई प्रोत्साहित गर्न आह्वान गरेिएको छ।
यस्तै दिगो जलवायु कार्यलाई बढावा दिन निजी क्षेत्रको वित्त र कार्बन बजारको भूमिकालाई जोड दिने, जलवायुमैत्री प्रविधिमा पहुँच सहज बनाउन र क्षमता अभिवृद्धि गर्न विश्वव्यापी र क्षेत्रीय साझेदारीलाई सुदृढ गर्ने संवादको निष्कर्ष छ ।
जलवायुजन्य विपद्लाई सम्बोधन गर्न तथा हिमनदी, जलस्रोत, वन र कृषि प्रणालीको संरक्षणका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनमा आधारित समाधानलाई प्रवर्धन गर्ने आह्वानमा उल्लेख छ ।
पर्वतीय समुदायको आवाजलाई विश्वव्यापी जलवायु प्रक्रियाहरूमा बुलन्द गर्ने उद्देश्यले संवाद, नवप्रवर्तन र सशक्तीकरणका लागि हिमाल र जलवायु परिवर्तनसम्बन्धी बहु–सरोकारवाला अन्तर्राष्ट्रिय मञ्च सिर्जना गर्न आह्वान गरिएको छ।
यस्तै सगरमाथादेखि समुद्रसम्म र उच्च भूभागदेखि टापुसम्म गुञ्जिने गरी तत्काल जलवायु कार्यका लागि साझा आवाज बनाउने संकल्प गरिएको छ।