एनएसीमा १० जहाज थप्ने पाण्डेको योजना, व्यवस्थापनको जिम्मा विदेशी कम्पनीलाई दिइँदै

वसन्तराज उप्रेती
२०८२ जेठ ४ गते १५:२३ | May 18, 2025
एनएसीमा १० जहाज थप्ने पाण्डेको योजना, व्यवस्थापनको जिम्मा विदेशी कम्पनीलाई दिइँदै


काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसभित्रबाट नेपाल वायुसेवा निगम (एनएसी)को सुधारका लागि आधाभन्दा बढी सेयर निजी क्षेत्रलाई बेच्नुपर्ने आवाज उठिरहेका बेला त्यही पार्टीका तर्फबाट पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका बद्री पाण्डेले विदेशी कम्पनीलाई व्यवस्थापनको जिम्मा दिने तयारी अगाडि बढाएका छन्।

Tata
GBIME
NLIC

मन्त्री पाण्डेले अहिलेको व्यवस्थापनबाट एनएसीको सुधार सम्भव नरहेको निष्कर्षसहित विदेशी कम्पनी भित्र्याउने तयारी अगाडि बढाएका हुन्। उनले एनएसीको व्यवस्थापन विदेशी कम्पनीलाई दिने विषयमा अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरिसकेका छन्।

अर्थमन्त्री पौडेलको ग्रिन सिग्नलपछि मन्त्री पाण्डेले विदेशी कम्पनी भित्र्याउनका लागि डेण्डर आह्वानको तयारी अगाडि बढाएका हुन्।

‘आन्तरिकदेखि अन्तर्राष्ट्रिय उडानमा एनएसीको उपस्थिति निकै दयनीय छ। आन्तरिकतर्फ त एनएसीले उडान नै गर्न सकेको छैन भने पनि हुन्छ। अहिलेको व्यवस्थापनबाट एनएसीमा सुधार सम्भव छैन,’ मन्त्री पाण्डेले बिजमाण्डूसँग भने, ‘बजारमा उपस्थिति बढाएर एनएसीलाई ऋणमुक्त गर्न नयाँ व्यवस्थापन नभइ हुँदैन। त्यसैले विदेशी कम्पनी भित्र्याउनका लागि टेण्डर निकाल्ने तयारी अगाडि बढाएका छौं।’

उनका अनुसार दुई महिनाभित्र टेण्डर निकाल्ने तयारी छ।

एनएसीको व्यवस्थापनका लागि जर्मनीको राष्ट्रिय ध्वजाबाहक लुफ्थान्साले चासो देखाउँदै आएको छ। यो कम्पनीले मन्त्री पाण्डेसँग पनि सम्पर्क गरिसकेको छ। तर, पाण्डेले विनाप्रतिस्पर्धा व्यवस्थापनको जिम्मा दिन नसक्ने भन्दै टेण्डरमा प्रतिस्पर्धा गर्न सुझाव दिएका छन्।

‘लुफ्थान्साले एनएसीको व्यवस्थापनका लागि चासो देखाएको थियो। तर, प्रतिस्पर्धाविना कुनै निश्चित कम्पनीलाई दिन मिल्ने कुरा भएन,’ उनले भने, ‘हामीले बिडिङ प्रक्रिया अगाडि बढाएका छौं। लुफ्थान्सालाई पनि बिडिङमा भाग लिन भनेका छौं।’    

लुफ्थान्साले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा २०७४ मा पनि एनएसीको व्यवस्थापन लिन चाहेको थियो। तर, त्यतिखेर चुनावबाट एमालेको नेतृत्वमा सरकार बनेपछि प्रक्रिया रोकिएको थियो।

१० वटा जहाज भित्र्याउने योजना!

मन्त्री पाण्डेले व्यवस्थापन सुधारसँगै एनएसीलाई थप जहाज पनि आवश्यक रहेको भन्दै आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि १० वटा भित्र्याउन चाहेका छन्।

‘अहिलेको व्यवस्थापन कायम राखेर जहाज थप्नुको अर्थ हुँदैन। त्यसैले हामीले व्यवस्थापनमा विदेशी कम्पनी भित्र्याउने र नयाँ जहाज थप्ने योजना सँगसँगै अगाडि बढाएका छौं,’ उनले भने।

आन्तरिकतर्फ ५ र र अन्तर्राष्ट्रिय उडानका लागि ५ वटा जहाज थप्नुपर्ने पाण्डेको निष्कर्ष छ। ५० अर्बभन्दा बढी ऋणको भार बोकिरहेको एनएसीमा जहाज कसरी भित्र्याउने त?

‘जहाज किन्न सक्ने अवस्था एनएसीसँग छैन। सरकारले पनि पैसा दिन सक्ने अवस्था छैन। त्यसैले लिजमा भित्र्याउने विषयमा छलफल गरिरहेका छौं,’ पाण्डेले भने।

एनएसीसँग अहिले आन्तरिकतर्फ दुईवटा ट्विनअटर तथा अन्तर्राष्ट्रियतर्फ दुईवटा ए-३२० र दुईवटा ए-३३० जहाज छन्।

एनएसीले दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाज सरकारको जमानीमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट गरी ३४ अर्ब ऋण लिएर किनेकामा त्यसको भार ५० अर्ब नाघिसकेको छ।

सरकारले आफ्नो नीति तथा कार्यक्रममार्फत एनएसीको पुनर्संरचना गर्ने बताएको छ।

तर, पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पुनर्संरचनाको अमूर्त कुरा गरेर नहुँने भन्दै एनएसीको आधाभन्दा बढी सेयर निजी क्षेत्रलाई बेच्न अब ढिलाइ गर्न नहुने बताउँदै आएका छन्। कांग्रेसका अरु सांसद पनि एनएसीमा निजी क्षेत्र भित्र्याउनुपर्ने पक्षमा छन्।

मन्त्री पाण्डे सबैसँगको छलफलका आधारमा एनएसीको व्यवस्थापनमा विदेशी कम्पनी भित्र्याउने योजना अगाडि बढाएको बताउँछन्।

‘एनएसीको अवस्थालाई लिएर धेरैको चिन्ता छ। सबैसँगको छलफलका आधारमा नै मन्त्रालयले सुधारको योजना अगाडि बढाएको हो,’ उनले भने।