उद्यमीको भेषमा बिचौलियाको जालो : आइपीओ कमिसनको मोलमोलाई तारे होटलमा

विज्ञान अधिकारी
२०८२ जेठ ४ गते १२:४१ | May 18, 2025
उद्यमीको भेषमा बिचौलियाको जालो : आइपीओ कमिसनको मोलमोलाई तारे होटलमा


काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा साधारण सेयर (आइपीओ) निष्कासनका लागि आवेदन दिएलगत्तै ऊर्जा कम्पनीका संचालकलाई एक जानेमाने व्यवसायीले फोन गरेर नक्सालस्थित पाँच तारे होटल हिल्टनमा भेट्न बोलाए।

Tata
GBIME
NLIC

२२ महिनादेखि आइपीओ निष्कासनको अनुमति पर्खिरहेका कम्पनीका ती संचालक हतारहतार हिल्टन पुगे।

ती उद्योगीले भूमिका नबाँधी सिधै आइपीओको कुरा झिके। उनले तत्काल अनुमति चाहिने हो भने निश्चित प्रतिशत कमिसन दिनु पर्ने ‘डिल’ प्रस्ताव गरे ।

राष्ट्रियरुपमै उद्योगीको परिचय बनाएका ती व्यवसायी मिनेटभरकै चिया गफमा एकाएक बिचौलियाका रुपमा प्रस्तुत भए। उनको प्रस्तुतिबाट ऊर्जा उद्यमी अवाक बने। के भन्ने के? अन्यौलमा परे संचालक।

केही समयसम्म उनी बोल्नै सकेनन्, किनभने आफूले राम्रो मान्दै आएका व्यवसायीले बिचौलिया भनेर कमिसन मागिरहेका थिए। ती ऊर्जा उद्यमीले जवाफ दिएनन्। साथीभाईसँग कुराकानी गरेर खबर गर्ने भनेर उनी निस्किए।

प्रतिशत नै तोकेर कमिसन मागिएको विषय उनले आफ्ना साथीभाईलाई सुनाए। उनीहरुका बीचमा आफ्नो घरखेत राखेर तयार पारेको परियोजनाको आइपीओको अनुमतिका लागि कुनै व्यक्तिलाई १० प्रतिशत बुझाउन हुँदैन भन्ने मत बलियो बन्यो। उनीहरु कमिसन बुझाउन नसकिने निधोमा पुगे।

कमिसनका बारेमा ह्वाट्सएपमा मोलतोल भएको ‘टेक्स्ट’सहितको प्रमाण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ।

तर, हिल्टन होटलमा बोलाउने ती व्यवसायीले आइपीओ अनुमतिका लागि कमिसन प्रस्तावबारे के भयो भनेर सोध्न छाडेनन्। उनले आफ्नो ‘पर्सनल एसिस्टेन्ट’ को ह्वाट्सएप नम्बरबाट कुराकानी गर्न थाले। ‘प्रधान’ थरका ती असिस्टेन्टको नम्बरबाट ‘कोड भाषा’ मा कमिसनको मोलतोल गर्न सुरु भयो।

कमिसनका बारेमा ह्वाट्सएपमा मोलतोल भएको ‘टेक्स्ट’सहितको प्रमाण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ। प्रमुख आयुक्त प्रेमकुमार राईसमक्ष इप्पानका केही पदाधिकारीले कमिसन मागेको ह्वाट्सएप र अडियो रिपोर्ट बुझाएका छन्।

त्यसपछि ती ऊर्जा उद्यमीले स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इप्पान) का पदाधिकारीलाई आइपीओ जारी गर्दा कमिसन मागेको कुरा जानकारी गराए।

उनले जानकारी गराएपछि आइपीओ स्वीकृतिका लागि आवेदन दिएका अधिकांश कम्पनीका संचालकसँग पाँचदेखि १० प्रतिशतसम्म कमिसन मागेको सूचना ह्वारह्वार्ती आउन थाल्यो। स्रोतका अनुसार आइपीओ स्वीकृतिका लागि बिचौलियाले कमिसन उठाउने जालो नै तयार पारेका थिए।

त्यो जालो तयार पारेर कुन कम्पनीका संचालकलाई कसरी, कहाँ बोलाउने भन्ने रणनीति तयार पारिएको थियो। जलविद्युत कम्पनीका संचालकको सम्बन्धका आधारमा मान्छे तयार पारिएको थियो।

बिचौलियाको समूहले तयार पारेको रणनीति अनुसार अरु ठाउँमा बोलाएर कमिसनको मोलमोलाई हुने गरेको थियो।

स्रोतका अनुसार हिल्टन बाहेक नक्सालमै रहेको पाँच तारे होटल मेरियट र सोल्टीमोडमा रहेको ह्यात सेन्ट्रिकमा समेत केही उद्यमीलाई बोलाएर कमिसनका लागि मोलमोलाई गरिएको जानकारी अख्तियार प्रमुख राईले पाइसकेका छन्।

‘कम्पनीका संचालकलाई हेरेर रणनीति तयार पारिन्थ्यो। त्यही रणनीति अनुसार अरु होटलमा बोलाएर कमिसनको मोलमोलाई हुने गरेको थियो,’ स्रोतले भन्यो।

बिचौलियाहरुको एउटै बोली हुन्थ्यो, ‘सेबोन अध्यक्ष हामीले ल्याएका हौं। बीमा प्राधिकरणको अध्यक्ष पनि हाम्रै हो। अब गभर्नर पनि हाम्रै आउँछ।’

स्रोतका अनुसार होटलमा बोलाएर छलफल गर्नेमा बजारमा लब्धप्रतिष्ठित भनिएका उद्योगी व्यवसायी नै हुन्थे। उनीहरुको एउटै बोली हुन्थ्यो, ‘सेबोन अध्यक्ष हामीले ल्याएका हौं। बीमा प्राधिकरणको अध्यक्ष पनि हाम्रै हो। अब गभर्नर पनि हाम्रै आउँछ।’

त्यति मात्रै होइन, केही उद्योगी सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आइपीओ र हकप्रद सेयरको फाइल आफूले नभनी केही पनि गर्न नसक्ने दाबी गर्थे।

नभन्दै मेरियट होटलमा एउटा हस्पिटलको आइपीओको ‘डिल’ गराइएको थियो। ती उद्योगीले कमिसनका लागि एउटा क्यापिटल कम्पनीका सीइओलाई नै उपयोग गरेका थिए।

‘कुनै कम्पनीको आइपीओका लागि भन्दै आउने ती सीइओले सेबोनको पाइपलाइनमा रहेको कम्पनीको आइपीओको स्वीकृतिका लागि कमिसनको बार्गेनिङ समेत गरिएको भेटिएको छ,’ अख्तियार स्रोतले भन्यो, ‘यो सबै हेर्दा बिचौलियाले योजनाबद्ध रुपमा कमिसन उठाउने रणनीति बनाएको देखिन्छ।’

त्यो दाबीलाई देखाउनकै लागि सन्तोषनारायणलाई टेलिफोन गरेर आफूले नभनी फाइल यताउता नगर्नु भनेर भनेको जारी सूचना पनि राईसमक्ष पुगेको छ।

स्रोतका अनुसार यसअघिका सेबोन अध्यक्ष रमेश हमालले समेत बिचौलियाले पैसा उठाएर आफू बदनाम् भएको आफ्ना निकटलाई भन्ने गरेका छन्। हमालका पालामा प्रिमियममा आइपीओ दिएका बारेमा अख्तियारले छानबिन गरिरहेको छ।

ऊर्जा उद्यमी असुरक्षित

आइपीओका लागि मोटो कमिसनको दबाब आएपछि इप्पानले सार्वजनिकरुपमै प्रतिकार गर्ने निर्णय गर्‍यो। इप्पानले र्‍याडिसन होटलमा राखेको छलफलमा सहभागी ४० जनामध्ये सबैजसोले आइपीओका लागि कमिसनको दबाब आएको जनाएको छ।

सम्बन्धित समाचार : आइपीओ अनुमति दिँदा कमिसन माग्ने बिचौलियाबाट उल्टै धाकधम्की, सन्तोषनारायण पनि पत्र पठाएर तर्साउँदै

बिचौलियाको रजगज सार्वजनिक भएपछि ऊर्जा उद्यमीलाई धाकधम्की आउन थालेको छ। स्रोतका अनुसार बिचौलियाले सरकारी निकायबाटै कमिसनको प्रस्ताव सार्वजनिक गर्ने उद्यमीलाई कारबाही गर्ने धम्की दिएका छन्।

‘हामीसँग सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व विभाग लगायतमा हाम्रै मान्छे छन्,’ उनीहरुले धम्की दिँदै भनेका थिए, ‘ती निकायमार्फत छानबिन गरेर तिमीहरुलाई नै कारबाही गर्छौं।’

बिचौलियाले अख्तियार प्रमुखसमेत आफ्नै योजना अनुसार फेरिन लागेको र अब आफ्नै मान्छे आउने बताएका छन्।

ती बिचौलिया त्यतिमा रोकिएनन्। प्रहरी प्रमुखदेखि न्यायालय समेत आफ्नो कब्जामा रहेको जिकिर गर्दै आफूविरुद्ध बोल्नेलाई नछाड्ने धम्कीसमेत ती बिचौलियाले दिएका छन्। ती बिचौलियाले अख्तियार प्रमुखसमेत आफ्नै योजना अनुसार फेरिन लागेको र अब आफ्नै मान्छे आउने बताएका छन्।

यो धम्कीपछि कमिसनको विषय सार्वजनिक गर्ने इप्पानका पदाधिकारीले असुरक्षित महसुस गरेका छन्।

एक ऊर्जा उद्यमीले बिजमाण्डूसँग कुरा गर्दै भने, ‘हामीसँग भएको प्रमाण अख्तियारमा दिएका छौं। हामीसँग प्रमाण सुरक्षित छ। तर, हामीले प्रमाण सार्वजनिक गरे राज्य संयन्त्र उनीहरुकै हातमा छ, हामी जुनसुकै बेला मारिन सक्छौं।’