
काठमाडौं। छोरीलाई विदेश पठाउनुपर्ने थियो मोरङका निरोज अर्याललाई। विदेश पठाउने प्रक्रियामा विदेशी मुलुकहरूले आफन्तको खातामा रकम मौज्दात समेत हेर्ने गर्छन्। त्यसैले निरोजले केही महिना अगाडी नै त्यसको व्यवस्था गरेका थिए। अमेरिकामा रहेका आफन्तले उनलाई पछिको लागि केही महिना अगाडी नै ४० लाख रुपैयाँ हाल्दिएका थिए।
विदेश जाने प्रक्रिया सुरु भएको थियो। केही महिना रकम निरोजको खातामा नै बस्ने थियो। उनले त्यो रकमलाई केही महिना भएपछि लगानी गर्ने सोच बनाए। केही मुनाफा कमाउँला भन्ने पनि थियो। त्यसैले उनले सेयरमा लगानी गरे। १७ नम्बर ब्रोकरबाट कारोबार गरे। त्यो अवधिमा ३/४ लाख रुपैयाँ समेत कमाए।
एक दिन उनको सामाजिक सञ्जालमा ‘ एआईबाट सेयरमा लगानी गर्ने नयाँ टुल’ भन्दै लिंक आयो। एआई विश्वमा देखिएको पछिल्लो नयाँ टेक्नोलोजी हो। निरोजले पनि फाइदा लिने मौका खोजे। त्यसपछि त्यसलाई खोल्दै गए। त्यसमा भने अनुसार उनी अगाडि बढेका थिए। त्यसमा एक सातालाई मात्र निःशुल्क भनिएको थियो।
यो सुविधा ल्यापटप र डेक्सटपमा मात्र थियो। मोबाइलमा भने थिए। उनी त्यसपछि अरू नै काममा व्यस्त भए। तर त्यसको केही दिनमा उनको मोबाइलमा पटक पटक गरेर ४० लाख रुपैयाँ काटिएको म्यासेज आयो। रकम उनले प्रयोग गर्ने कनेक्ट आइपीएसबाट गएको थियो। कनेक्ट आइपीएसबाट ओटीपी कोड समेत मोबाइलमा आएको रहेछ। तर त्यो म्यासेज उनले केही दिनमा मात्र देखेका थिए।
४० लाख रुपैयाँ खाताबाट हराएपछि उनी हारगुहारको लागि प्रहरीमा पुगे। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उनले निवेदन समेत दिए। कनेक्ट आइपीएसबाट नै यसरी सबै सिस्टम नियन्त्रणमा लिएर रकम झिकेको नौलो कुरा थियो।
‘स्क्याम्म र ह्याक फरक हुन्। यहाँ स्क्याम भन्दा पनि ह्याक नै गरेको देखिन्छ,’ एक अनुसन्धान अधिकृतले सुनाए।
प्रहरीले अनुसन्धान थाल्यो। त्यसपछि थप निरोजलाई नेपाल प्रहरीको साइवर ब्युरोमा पनि उजुरी दिन भन्यो। निरोज साइबर ब्युरोमा पनि पुगे। त्यहाँ पुगेपछि थाहा पाए उनी अघि यस्ता केस लिएर ४० जना भन्दा बढी पीडित पुगिसकेका रहेछन्।
‘उहाँहरूले यहाँ धेरै चाप छ। पहिले कै ठाउँमा गएर भन्दा तपाईँको काम छिटो होला भनेर पठाउनु भयो,’ निरोजले सुनाए।
अहिले प्रहरीका यी दुई कार्यालयमा यस किसिमको उजुरीको सङ्ख्या बढ्दै गएको छ। त्यस्तै सेयरमा लगानी गर्ने मानिससँग रकम पनि धेरै हुने भएकाले ठगिने रकमको सङ्ख्या पनि बढी देखिन्छ। सामान्यतया मानिसले डीभाइसहरूमा कनेक्ट आइपीएस, डिजिटल वालेट, बैंक खाता समेत खोलेर छोड्ने हुँदा ह्याकरले सजिलै त्यो डीभाइसबाट रकम झिक्ने गरेको देखिएको छ।
‘अहिले यस्तो उजुरी बढेको छ। विभिन्न फिसिङ लिंकहरु पठाएर रकम झिक्ने गरेको देखिएको छ,’ साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले भने।
यो समूहको ठगीमा विभिन्न सेयर ब्रोकर कम्पनीमा काम गर्ने केही कर्मचारीहरू समेत पीडित भएका छन्। प्रहरीले अपरिचित व्यक्तिले पठाएको लिंक नखोल्न आग्रह गरेको छ।

कक्षामा पढ्नेलाई बैंक खाता दिंदा क्षति
स्क्यामरदेखि ह्यायकरले समेत अरुको बैंक खाता प्रयोग गरेर नेपालबाट पैसा लग्ने गरेका छन्। यसो हुँदा ठगी गर्ने मुख्य व्यक्ति पक्राउ गर्न प्रहरीलाई ग्राहो पर्ने देखिएको छ। काठमाडौंमा एउटा यस्तै घटना भयो जसले गर्दै नगरेको अपराधको क्षति बेहोर्नु पर्यो। उमेर १८ वर्ष नभएसम्म बैंकिङ कारोबार गर्न पाइँदैन। अभिभावको रोवहरमा भने खाता खोल्न चाहिँ पाइन्छ। तर काठमाडौंका एक किशोरले बुवाको खाता प्रयोग गरेर कारोबार गरे।
स्यामरले उनलाई लोभ देखायो। केही पैसा बैंक खातामा हाल्ने र अर्को खातामा पठाए वापत कमिसन आउने लोभ दियो। ती किशोरले बुवाको बैंक खाता दिए। त्यो खातामा पटक पटक गरेर १० लाख रुपैयाँ आयो। त्यसपछि त्यो रकम अरुकै खातामा हाल्दिए। केही कमिसन पाए।
तर पछि प्रहरीको अनुसन्धानमा तानिए। सामाजिक सञ्जाल प्रयोग गरेर ठगी भएको उजुरीमा अनुसन्धान गर्दा रकम ती किशोरको खातामा गएको देखिएको थियो। ठगी गर्ने भने उनी थिएनन्।
अन्ततः प्रहरीको अनुसन्धान र कानुन त ती किशोरका बुबाले रकम तिरे। तर वास्तविक ठगी गर्ने मानिस विदेशबाट परिचालित थियो।
‘यस्ता घटना धेरै छन्। स्यामरहरुले नेपाली कै बैंक खाता र नेपालीलाई नै ठगी गरेर रकम लगिरहेका हुन्छन्,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले भने।