
काठमाडौं। नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष विष्णुकुमार अग्रवालले सरकारले राजस्व संकलनका नाममा धेरै शीर्षकमा कर लगाएको भन्दै बजेटमार्फत घटाउन आग्रह गरेका छन्।
उनले बिहीबार बिजमाण्डूले गरेको प्रि-बजेट कन्फ्रेन्समा धेरै शीर्षकमा कर लगाउँदा लगानीकर्ता निरुत्साहित भएको बताए। उनले अहिलेकै कर प्रणालीमा विदेशी लगानी नभित्रिने बताए।
‘सन् २०२० को एक सर्वेक्षणले नेपालमा करका दर दक्षिण एसियाको सबैभन्दा महँगो भएको बताएको थियो। यस्तो अवस्थामा विदेशी लगानी भित्र्याउन समस्या हुन्छ। धेरै कर तिर्नुपर्ने मुलुकमा कसले लगानी गर्न रुचाउँछ? अब भ्याटमा बहुदर आवश्यक छ। अहिले २५-३० प्रकारका कर लगाइरहेका छौं। कतिपय कर संघ, प्रदेश र स्थानीय तहले पनि लगाइरहेका छन्,’ उनले भने, ‘आयकरको दर पनि निकै उच्च छ। यसलाई घटाउन आवश्यक छ। करका स्ल्याब कम गर्दा अन्तत: त्यसको फाइदा मुलुकलाई नै हुने हो।’
उद्योगी अग्रवालले बजेटमा राजस्वको प्रक्षेपण र वास्तविकताको खाडल बढ्न थालेको भन्दै कर संकलन गर्नका लागि अनावश्यक भार थोपार्दा व्यवसायीको मनोबल घटेको बताए।
‘भन्सारबाट हुने चोरी निकासी पनि उद्योगी व्यवसायीका लागि ठूलो समस्या हो। अब भन्सारका दरलाई सरलीकृत गर्न आवश्यक छ। आगामी बजेटमा यसलाई सम्बोधन गर्न सके यसले चोरी निकासी कम गराउन मद्दत गर्छ,’ उनले भने।