पूर्वअर्थमन्त्री महतले भने- निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गर्न करमा छुट दिनुपर्छ

बिजमाण्डू
२०८२ बैशाख २५ गते १४:४९ | May 8, 2025
पूर्वअर्थमन्त्री महतले भने- निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गर्न करमा छुट दिनुपर्छ
डा. प्रकाशशरण महत


काठमाडौं। पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहित गर्नका लागि कर प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन्।

Tata
GBIME
NLIC

उनले बिहीबार बिजमाण्डूले गरेको प्रि-बजेट कन्फ्रेन्समा सरकारले आर्थिक विकासका लागि निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहित गर्नुको विकल्प नरहेको बताए।

‘पछिल्लो समय हामी अल्मलिएकै हौं। आर्थिक उत्पादनको नेतृत्व सरकारले लिन सक्दैन। नेपालले परीक्षण गर्नुको अर्थ छैन। आर्थिक उत्पादनको नेतृत्व निजी क्षेले लिने हो। उद्यमीले लिने हो। निजी क्षेत्रले नेतृत्व गर्नेमा अब दुविधा रहनु हुँदैन,’ उनले भने, ‘निजी क्षेत्रलाई प्रोत्साहित गर्न ट्याक्समा रिफर्म गर्नुपर्छ।’

महतले सरकारले कसरी कर उठाउने भन्ने सोच्ने भन्दा पनि लगानीकर्तालाई कसरी आकर्षित गर्न सकिन्छ भन्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए। ‘अब काल्पनिक कर कहाँबाट आउँछ भनेर सर्त लगाउन थाल्यौं भने लगानी आउँदैन,’ उनले भने।

उनले कृषि उत्पादन बढाउनका लागि कर छुटका साथै उत्पादन देखाएका आधारमा अनुदान दिने प्रबन्ध गर्नुपर्ने बताए। लगानीकर्तालाई लिजमा जग्गा दिएर उत्पादन बढाउनेतर्फ पनि सरकारको ध्यान जानुपर्ने बताए।

‘कृषि क्षेत्रमा लागत धेरै छ। लागत कम गर्न ट्यारिफमा छुट दिनुपर्छ। अनुदान पनि दिनुपर्छ। हिजोको दिनमा अनुदान दुरुपयोग भयो। भयानक रुपमा दुरुपयोग भयो। त्यसैले उत्पादन देखाएका आधारमा अनुदान दिनुपर्छ। लगानीकर्तालाई लिजमा ठूलो जग्गा दिनुपर्छ। त्यस्तै सहुलियत दिनुपर्छ। त्यसो गरे कृषिमा रुपान्तरण आउँछ,’ उनले भने।

महतले पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रमा सरकारले लगानी गर्न बन्द गर्नुपर्ने बताए। ‘यी क्षेत्रमा सरकार लगानी गर्न उत्सुक हुनु हुँदैन,’ उनले भने, ‘सरकारले पूर्वाधारका क्षेत्रमा लगानी गर्ने हो। पुँजीगत खर्च कनिका छरेजसरी बाँडेर भएन। यसो गर्दा परिणाम आएन।’