
मेघौली (चितवन)। चितवन राष्ट्रिय निकुञ्जको पश्चिमतर्फको प्रवेशद्वार मेघौलीको पर्यटन व्यवसायको सातो फर्किएको छ। सौराहा तुलनामा निकै शान्त क्षेत्र भएकाले ठूलो लागतका रिसोर्टहरु खोल्न व्यावसायिक समूहहरु अघि सरेपछि पर्यटक आगमन पनि विस्तारै बढ्दै छ।
मेघौली कुनै समय घुम्नका लागि मनग्य खर्च गर्ने विदेशी पर्यटकको चहलपहल भइरहने ठाउँ थियो। पर्यटकहरु मेघौली हुँदै जंगलभित्रका रिसोर्टहरुमा पुग्थे। जंगलभित्रको टाइगर टप्स रिसोर्ट तत्कालीन समयमा राजपरिवारदेखि विदेशी पर्यटकका लागि आकर्षक केन्द्र थियो।
पर्यटन क्षेत्रका लागि ‘हाइ इन्ड’ भनिने धनी पर्यटकका लागि त्यहाँसम्म पुर्याउनका लागि मेघौलीमा विमानस्थल नै बनाइएको थियो। काठमाडौंबाट हेलिकप्टर तथा ट्विनअटर विमानबाट उनीहरु मेघौली विमानस्थल पुग्थे र त्यहाँबाट जंगल पस्थे।
जानकारहरुका अनुसार त्यो समयमा विमानस्थलमा दैनिक १० वटासम्म उडान हुन्थे। अहिले उक्त विमानस्थलमा कहिलेकाहीँ नेपाली सेनाले प्याराजम्पिङ गर्दै आएको छ। टाइगर टप्समा एक रात बिताउनका लागि त्यो समयमा पर्यटकले ५०० अमेरिकी डलरसम्म तिर्दथे। विसं २०२० मा अमेरिकी नागरिक टुडी ली वाने र हेर्ब केलिनले टाइगर टप्स स्थापना गरेका थिए भने २०२८ सालमा बेलायती नागरिक जिम एवर्डस्ले खरिद गरी सञ्चालन गरेका थिए।
पर्यटकहरु टाइगर टप्समा बस्ने र मेघौलीको जंगली जनावरको सिकार गर्दथे। टाइगर टप्समा बेलायतकी महारानी एलिजाबेथ, बेलायतका तत्कालीन युवराज फिलिप, अमेरिकाका पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलगायतका प्रतिष्ठित व्यक्तिहरु आएका थिए। २०३० सालमा चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि त्यहाँ जाने पर्यटक अझ बढेका थिए।
तर २०६९ सालमा स्पष्ट कानुनको अभावमा निकुञ्जभित्र रहेका रिसोर्ट बन्द भए। अहिले टाइगर टप्स मात्रै होइन, निकुञ्जभित्र सञ्चालनमा रहेका मचान वाइल्ड लाइफ रिसोर्ट, चितवन जंगल लज, आइल्याड जंगल रिसोर्ट, टेम्पल टाइगर रिसोर्ट, गैंडा वाइल्ड लाइफ क्याम्प बन्द भएका छन्।
टाइगर टप्सले अझै पनि रेखदेखका दुई वटा हात्तीसहित कर्मचारी खटाइरहेको स्थानीय बताउँछन्। निकुञ्जभित्रका रिसोर्ट बन्द भएसँगै मेघौलीमा खर्चालु पर्यटकको सङ्ख्या पनि घट्न थाल्यो। त्यहाँ आइरहेका पर्यटक अफ्रिकी मुलुकतर्फ आकर्षित भए।
त्यसपछि मेघौलीको वाइल्डलाइफ पर्यटनमा उल्लेख्य गिरावट आयो। यद्यपि पछिल्ला केही वर्षयता मेघौलीमा पुनःलक्जरी टुरिजमको विकास हुन थालेको संकेत देखिएको छ। निकुञ्जसँगै बग्ने राप्ती नदी किनारमा आरामदायी होटल तथा रिसोर्ट सञ्चालनमा आउनेक्रम बढेको छ।
ती रिसोर्टमार्फत हाइ इन्ड अर्थात् खर्चालु पर्यटक बढेका छन्। यसले मेघौलीको पर्यटनलाई पुनःजीवित गर्ने संकेत दिएको छ। मेघौलीमा पर्यटक बढ्न वाइल्डलाइफमा रुचि राख्ने हाइ इन्ड पर्यटक बढ्न थालेपछि रिसोर्टमा लगानी गर्ने पनि बढेका छन्। पछिल्लो समय मेघौलीमा पर्यटक बढ्न थालेको र लगानी पनि बढ्दै गएकाले आगामी दिनमा मेघौली लक्जरी पर्यटनका लागि प्रमुख गन्तव्य बन्ने विश्वास रहेको बताउँछन् सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपाने।
सिद्धार्थ ग्रुपअन्तर्गतको सिद्धार्थ हस्पिटालिटीले हालै मेघौलीमा सिद्धार्थ वाइल्ड लाइफ रिट्रिट सञ्चालनमा ल्याएको छ। यसअघि साराङ वाइल्डलाइफ सेञ्चुरी रिसोर्टका नाममा सञ्चालनमा रहेको रिसोर्टलाई सिद्धार्थले सिद्धार्थ वाइल्ड लाइफ रिट्रिटका रुपमा सञ्चालनमा ल्याएको हो।
‘चितवनको मेघौली वाइल्डलाइफ टुरिजमका लागि निकै राम्रो गन्तव्य हो भन्ने लाग्छ, पछिल्लो समय यो सोहीअनुसार विकास पनि भइरहेको छ। विभिन्न प्रजातिको चराचुरुङ्गीको चिरबिरदेखि प्रकृतिमा रमाउन चाहनेका लागि यो सबैभन्दा उत्तम विकल्प बनेको छ,’ उनले भने।
राप्ती र नारायणी नदीले घेरिएको मेघौली सुन्दर टापु। यहाँ थारु र कुमाल समुदायको बाहुल्य छ। आगन्तुकहरुले राप्ती नदीमा डुङ्गामा सयर गर्दै गोलाघाट पुगेर सूर्यास्तको मजा लिन सक्छन् भने नदी किनारमा हात्तीसँग नुहाउने पनि सुविधा छ। बिहानै हात्ती तथा जिपमा जंगल सफारी गरी जंगली हात्ती, गैंडा, बाघ, मयुर, बँदेल, विभिन्न प्रजातिका मृगका साथै करिब ५०० भन्दा बढी प्रजातिका चरा पनि देख्न सकिन्छ।
यो क्षेत्र वन्यजन्तुका हिसाबले खुला चिडियाखाना जस्तो छ। चितवनको भरतपुर विमानस्थलबाट करिब ३० किलोमिटर दक्षिण–पश्चिममा पर्ने मेघौलीसम्म पुग्नका लागि कालोपत्र सडकको सुविधा छ। निकुञ्जको किनार हुँदै कलकल बग्ने राप्ती नदी छ। नदीमा डुङ्गा सयर गर्दै विभिन्न प्रजातिका चरा र जंगली जनावर हेर्ने सुविधाले जो–कोहीलाई रोमाञ्चक बनाउँछ।
राप्ती र नारायणी नदीको संगम रहेको गोलाघाट सूर्यास्तका दृश्य हेर्नका लागि प्रख्यात छ। जहाँ हरेक साँझ आन्तरिक र बाह्य पर्यटकहरु पाल टाँगेर सूर्यास्तको दृश्य हेर्दै रात्रिभोजको रमाइलो गरिरहेको देख्न सकिन्छ। मेघौली चराचुरुङ्गीको चिरबिर आवाजले मात्रै होइन एकसिङे गैंडा, नदी किनारमा घाम ताप्ने गोहीले जो कोही पर्यटकलाई आकर्षित गर्छन्।
त्यतिमात्रै होइन, प्रकृतिमा चासो राख्नेहरु, अध्ययनकर्ताहरुलाई पनि यसले आकर्षित गरिरहेको छ। त्यसैले त प्रकृतिको सुन्दरता र शान्त वातावरणमा रमाउन चाहने पर्यटकहरु पछिल्लो समय मेघौली पुग्ने गरेका छन्। मेघौलीको पर्यटन प्रवर्धन हुन थालेसँगै यहाँको थारु तथा कुमालको संस्कृतिक संरक्षणका साथै रैथाने खाना प्रवर्धन भइरहेको मेघौली पर्यटन विकास समितिका अध्यक्ष राजु भुसालको भनाइ छ।
‘पछिल्ला केही वर्षयता मेघौलीमा खर्चालु पर्यटक बढ्न थालेका छन्। यसले यहाँको रैथाने खाना र संस्कृति प्रवर्धनमा सहयोग पुगेको छ। बढ्दो पर्यटक र लगानीले मेघौलीको पर्यटनलाई पुनर्जीवन दिन्छ भन्ने लागेको छ,’ उनले भने। उनका अनुसार मेघौलीमा थारु र कुमाल समुदायले घरबास (होमस्टे) सञ्चालनमा ल्याएका छन्। यसले उनीहरुको आम्दानी बढाएको छ भने मेघौलीको पर्यटन क्षेत्रको विकासमा सहयोग गरेको छ।
‘प्राकृतिक सुन्दरता, वन्यजन्तु तथा चराचुरुङ्गी हेर्न, जैविक विविधताका क्षेत्रमा मेघौलीमा ठूलो सम्भावना छ। पर्यटनमार्फत यहाँको संस्कृति, परम्परा र रहनसहनको संरक्षणमा ठूलो सहयोग पुगेको छ,’ उनले भने।
भुसालका अनुसार टाइगर टप्सलगायतका रिसोर्ट सञ्चालनमा हुँदासम्म मेघौली पर्यटनको गन्तव्यमात्रै थिएन, यहाँ अन्तर्राष्ट्रिय हात्तीपोलो खेल पनि आयोजना हुन्थ्यो। तर, टाइगर टप्सलगायतका रिसोर्ट बन्द भएसँगै उक्त खेल पनि बन्द भएको छ।
रिसोर्टहरु बन्द भएपछि स्थानीयको उत्पादन बिक्री भएन भने सयौँको सङ्ख्यामा स्थानीयले रोजगारी पनि गुमाए। निकुञ्ज भित्रका रिसोर्ट बन्द भएपछि मेघौलीमा २०७३ सालमा चौधरी ग्रुपको मेघौली सेराइ ए ताज सफारी लक्जरी रिसोर्ट सञ्चालनमा ल्याएको छ भने २०७० सालमा बाराही ग्रुपको बाराही जंगल लज सञ्चालनमा छ।
मेघौलीमा पर्यटकीय गतिविधि बढ्न थालेपछि युरोपियन होटलहरुको समूह इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आइएचजी)ले एक अर्ब रुपैयाँभन्दा बढी लगानीमा लस्ट होराइजन सफारी रिसोर्ट एण्ड स्पा प्रालि सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ। हाल उक्त रिसोर्ट मेघौलीको राप्ती नदी किनारमा निर्माणाधीन छ।
ठूलो लगानीमा रिसोर्टहरु सञ्चालनमा आउन थालेपछि गुणस्तरीय पर्यटकका लागि मेघौली पहिले रोजाइको गन्तव्य बन्ने अपेक्षा गरिएको छ। यी रिसोर्टहरुले अधिकतम ७०० अमेरिकी डलरसम्म एक दिनको प्याकेज बिक्री गरिरहेका छन्। मेघौली सौराहाको तुलनामा निकै शान्त छ। सौराहमा जस्तो भीड पनि छैन।
यहाँ पर्यटकहरु शान्त वातावरणमा प्रकृतिसँग रमाउन पाउँछन्। मेघौली पर्यटन विकास समितिले यहाँ बेतारी खोला परियोजनाका नाममा बोटिङ सञ्चालन गर्ने योजना बनाएको छ। समितिले आर्थिक वर्ष २०८२/८३ मा यसको विस्तृत अध्ययन प्रतिवेदन तयार पारी निर्माण सुरु गर्ने योजना बनाएको जनाएको छ।
हाल मेघौलीमा साना र ठूला गरी करिब २० वटा होटल तथा रेष्टुरेन्ट सञ्चालनमा छन् भने केही घरबास (होमस्टे) पनि छन्। मेघौलीलाई लक्षित गरी विगत दुई दशकदेखि पर्यटक पथप्रदर्शकका रुपमा कार्यरत मनिष लिम्बू यो क्षेत्र वन्यजन्तु तथा जैविक विविधताका लागि उत्कृष्ट भएको बताउँछन्।
‘अहिले अधिकांश पर्यटकहरु वन्यजन्तु हेर्न, चरा हेर्न तथा अध्ययन गर्न, जंगल वाक तथा सूर्यास्तका लागि मेघौली आउन थालेका छन्,’ उनले भने, ‘मौसम सफा भएको समयमा यहाँबाट माछापुच्छ्रे लगायतका हिमालसमेत देख्न सकिन्छ।’
बिहानदेखि सुनिने विभिन्न प्रजातिका चराचुरुङ्गीको चिरबिरदेखि जिप र हात्ती सफारी गरी चितवन राष्ट्रिय निकुञ्ज एक्सप्लोरका लागि मेघौली रोजाइको गन्तव्य बन्न थालेको छ। रिसोर्टहरुले पनि बोटिङ, जंगल वाकका साथै सफारीजस्ता सुविधालाई लक्जरी प्याकेजमा समावेश गर्दै आएका छन्।
जंगल सफारीका लागि रिसोर्टहरुले हात्ती पालेका छन्। हात्ती सफारीका साथै हात्तीसँग दिन बिताउनका लागि पनि पर्यटकहरु मेघौली पुग्न थालेका छन्। रासस