सेयर बजार ट्रेन्ड जुन विन्दुमा कारोबार खुल्यो त्यहीँ बन्द, किन भइरहेको छ ‘एकुमुलेसन’?

सुनिल कुँवर
२०८२ बैशाख २४ गते ०९:२३ | May 7, 2025
सेयर बजार ट्रेन्ड जुन विन्दुमा कारोबार खुल्यो त्यहीँ बन्द, किन भइरहेको छ ‘एकुमुलेसन’?


काठमाडौं। मंगलबार २६०९.७१ अंकमा खुलेको सेयर बजार १६ अंकको उतारचढावका बीच १.१४ अंकले बढेर २६११.४३ विन्दुमा बन्द भयो। पाँच दिन लगातार घटेको नेप्से छैटौं दिनमा झिनो अंकले बढेको हो। नेप्से सूचकमा खासै उतारचढाव नदेखिए पनि ८ अर्ब ७४ करोड रुपैयाँको सेयर किनबेच भयो।

Tata
GBIME
NLIC

जुन विन्दुमा कारोबार खुल्यो अन्तिममा त्यही वरिपरि बजार बन्द भएको मंगलबार पहिलोपटक होइन। बजारमा यस्तो ट्रेन्ड एक महिनादेखि जारी छ।

नेप्से साउन मसान्तमा ३००० विन्दुमा पुगेकामा त्यसपछि ओरालो लागेर असोज १३ गते २४६४ अंकमा आएको थियो। त्यसपछि फेरि उकालो लागेर फागुन १८ गते २८९० अंकमा पुगेको नेप्से परिसूचक अहिले निरन्तर ओरालो लागिरहेको छ।

नेप्से सूचक ओरालो लागेर अहिले तीन महिनाअघिको विन्दुमा छ। यसअघि माघ ८ गते नेप्से २६१३ विन्दुमा आइपुगेको थियो।

बजारका जानकारहरु लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा रहेका कारण सूचकमा एकै ट्रेन्ड रहेको बताउँछन्। स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाटले बढ्ने कारण नपाएकाले बजार सामान्य अवस्थामा रहेको बताए।

‘बजार अहिले सामान्य अवस्थामा छ। बढ्ने कारण पाएन भने घट्न पनि नसकेकाले त्यही विन्दुमा आएर बन्द भइरहेको देखिन्छ,’ उनले भने, ‘बजारले आगामी आर्थिक वर्षको बजेट र गभर्नरको नियुक्तिलाई कुरेको हो कि जस्तो देखिन्छ।’

राजनीतिक अनिश्चितताका कारणले समेत सेयर बजारको बियरिस ट्रेन्डलाई बल पुर्‍याएको थियो। चैतपछि राजावादीको प्रदर्शन र सत्तारुढ दलभित्रैबाट सरकार विरोधी अभिव्यक्ति बढेपछि लगानीकर्तामा अनिश्चितता ल्याएको जानकारहरु बताउँछन्।

असार तेस्रो साता संसद्का दुई ठूला दल कांग्रेस र एमालेले सत्ता समीकरण गरेपछि बजारमा उलटफेर देखिएको थियो।

२०३० विन्दुमा रहेको नेप्से सूचक डेढ महिनामै ४६ प्रतिशतले वृद्धि हुनुका साथै कारोबार रकममा कीर्तिमान कायम भएको थियो।

सेयर बजारका लागि अनुकूल मानिने सूचक अहिले निकै सहज अवस्थामा छन्। बैंकको ब्याजदर तीन वर्षयताकै तल्लो विन्दुमा छ। बैंकहरुले कर्पोरेट लगानीकर्तालाई बोलाएरै ऋण दिइरहेका छन्। कर्जाको ब्याजदर एकल अंकमा हुँदा समेत व्यवसाय विस्तार नहुँदा बैंकहरु दबाबमा छन्।

लगानी वृद्धि नहुँदा बैंकहरुसँग पर्याप्त तरलता छ। संस्थागत लगानीकर्ताले नै लगानीको वैकल्पिक उपकरण खोजिरहेका छन्।

म्युचुअल फण्डले गत महिना बजारमा लगानी बढाएका थिए। तैपनि बजारको ट्रेन्ड फेरिएको छैन। मर्चेन्ट बैंकरहरु बजारमा प्रभाव पार्ने केही नहुँदा एकुमुलेसन ट्रेन्डमा चलिरहेको बताउँछन्।

‘ब्याजदर घटे पनि जुन हिसाबले तरलता बजारमा आउनुपर्ने हो त्यो आएको देखिएन। लगानीकर्ताको आकर्षण नभएको यसले देखाउँछ। अहिले लगानीकर्ताले नै अरुचि देखाएका छन,’ एक मर्चेन्ट बैंकरले भने, ‘बजार एकुमुलेसन ट्रेन्डमा चलिरहेको छ। साइडवेजमै देखिन्छ। बजारमा प्रभाव पार्ने कुरा केही छैन। गभर्नर नियुक्तिको विषय यत्तिकै सेलायो। केही कम्पनी बाहेक ठूला लगानीकर्ताले ट्रेड गरेको देखिएन।’

महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि नेपाल राष्ट्र बैंकमा गभर्नरको पद चैत २४ देखि रिक्त छ। सरकारले नयाँ गभर्नर नियुक्त गर्न सकेको छैन। गभर्नरले लिने नीतिले सेयर बजारमा प्रभाव पर्छ। गभर्नर कुन दल निकट नियुक्त हुन्छन् भन्ने यकिन नभएकाले पनि लगानीकर्तामा कन्फिडेन्स नदेखिएको जानकारहरु बताउँछन्।

‘अहिले बजारमा लगानी गरेपछि भोलि आउने गभर्नरले कस्तो नीति लिन्छ भन्ने प्रेडिक्टेबल नभइसकेपछि कन्फिडेन्स बढाएन। त्यसैको प्रभावस्वरुप बजारले छलाङ हान्न नसकेको हो,’ एक विश्लेषकले भने।

यसअघिका गभर्नर महाप्रसाद अधिकारीले लिएको नीतिका कारण बजार १८०० विन्दुसम्म आएको थियो। त्यही कारण लगानीकर्ता अधिकारीलाई सकारात्मक रुपमा लिन मान्दैनन्।