
भारतले पाकिस्तानमा आतंकवादी समूह लक्षित आक्रमण सुरु गरेको छ। करिब एक घण्टा अघि भारत सरकारले ‘अपरेसन सिन्दुर’ सुरु गरेको जनाएको हो।
केही साता अघि भारतको पर्यटकीयस्थल पहलगाममा आतंककारी आक्रमण भएको थियो। सो हमलामा २६ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा एक नेपाली समेत थिए। भारतले सोही आक्रमणको बदला पाकिस्तान र पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीरमा आक्रमण गरेको हो।
भारत सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ : यो अपरेसनमा पाकिस्तान र पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीरमा आतंकी दाँचालाई निशाना बनाइएको छ।
भारतमा आतंकी आक्रमण गर्ने योजना बनाइएर कार्यान्वयन गरिएको पाकिस्तानी क्षेत्रलाई निशाना बनाइएको जनाइएको छ।
भारतले पाकिस्तानको कूल ९ वटा क्षेत्रलाई निशाना बनाएको जनाएको छ। पाकिस्तान र पिओकेमा गरिएको आक्रमणमा भारतीय स्थल, जल र एयर फोर्सको टोली परिचालित गरिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रातभार स्ट्राइकबारे निवासबाट जानकारी लिइरहेको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्।
भारतीय सेनाले आफ्नो एक्स अकाउन्टमा आक्रमण सुरु भएको जानकारी दिँदै पहलगाम आक्रमणमा मारिएकाहरुलाई ‘न्याय प्रदान गरिएको’ उल्लेख गरेको छ। भारतीय रक्षा मन्त्री राजनाथ सिंहले एक्समा ‘भारत माता की जय’ लेखेका छन्।
भारतले पहलगाम आक्रमण गर्नेहरुलाई कडा कारबाही गर्ने चेतावनी दिँदै आएको थियो। यस्तै, पछिल्लो समय युद्ध भए कसरी जिजीविषा चलाउनेभन्नेबारे नागरिकहरुलाई तयार गर्न पनि भारत सरकारले सम्बन्धित निकायलाई निर्देशन दिएको थियो।
भारत सरकारले केही क्षेत्रमा एयरस्ट्राइक भए कसरी बाँच्ने भन्ने पनि तालिम दिएको थियो।
पाकिस्तानी मन्त्रीले पनि भारतले कुनै पनि समय आक्रमण गर्न सक्ने बताएका थिए। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको आक्रमणलाई ‘क्रुरतापूर्ण’ भन्दै त्यसको जवाफ दिने बताएका छन्।
पढ्नुस : पाकिस्तानमा भारतको आक्रमणबारे ट्रम्पले भने : लज्जास्पद, ‘अर्को युद्ध विश्वले सहन सक्दैन’
भारत र पाकिस्तानको सैन्य शक्ति कति ?
ग्लोबल फायर पावरको अनुसार सन् २०२५ मा सैन्य शक्तिको र्यांकिङमा भारत विश्वकै चौथो स्थानमा छ। पाकिस्तान सो सूचीको १२ औं स्थानमा छ।
भारतीय सेनासँग २२ लाख सैन्य जनशक्ति रहेको छ। ३ लाख १० हार वायु सैनिक भारतीय सेनामा रहेको छ। यस्तै, नौसेनामा १ लाख ४२ हजार अधिकृत छन्। ट्रान्सपोर्ट लडाकु विमान २७० वटा रहेको छ भने मल्टी बैरल रकेट आर्टिलरी २६४ वटा छ।

भारतीय नौसेनासँग २९३ युद्धपोत रहेको छ। जसमा दुईवटा विमानवाहक पोत रहेको छ भने १३ वटा डिस्ट्रोयर, १४ वटा फ्रिगेट्स, १८ वटा सब्मरिन र १८ वटा कार्वेट्स युद्ध पोत रहेको छ।
लजिस्टिकको कुरा गर्ने हो भने भारतीय सेनासँग ३११ वटा विमानस्थल, ५६ वटा बन्दरगाह छ। ६३ लाख किलोमिटर सडक र ६५ हजार किलोमिटर रेलवे कभरेज भारतीय सेनाले प्रयोग गर्न पाउँछन्।
पाकिस्तानसँग १३ लाख बढी सैनिक छन्। यस्तै, १ लाख २४ हजार नौसैनिक र ७८ हजार वायु सैनिक छन्। पाकिस्तानी सेनासँग६४ वटा ट्रान्सपोर्ट विमान, ३२८ वटा लडाकु विमान, ६०० वटा मल्टिबैरल रकेट आर्टिली छ।
यस्तै, पाकिस्तानी सेनासँग १२१ वटा युद्धपोत छ। लजिस्टिकको हिसावमा पाकिस्तानसँग ११६ वटा विमानस्थल, ३ वटा बन्दरगाह, ६० वटा मर्चेन्ट मैरियन, दुई लाख ६४ हजार किलोमिटर सडक र ११.९ हजार किलोमिटर रेलवे कभरेज छ।
स्वीडेनको थिंक ट्यांक स्टकहोम इन्टरनेश्नल पिस रिसर्च इन्सटिच्युटका अनुसार भारतसँग १७२ वटा परमाणु हतियार छ भने पाकिस्तानसँग १७० वटा परमाणु हतियार छ। यद्यपि, यी देशसँग यो भन्दा बढी परमाणु हतियार हुन सक्ने आकंलन गरिएको छ। यस्तै, पछिल्लो समय दुवै देशले ड्रोनको संख्या पनि बढाउँदै लगेका छन्।
सैन्य उपकरण | भारत | पाकिस्तान |
एयरक्राफ्ट | २२२९ | १३९९ |
फाइटर एयरक्राफ्ट | ५१३ | ३२८ |
अट्याक हेलिकप्टर | ८० | ५७ |
बख्तरबन्द वाहन | १,४८,५९४ | १७,५१६ |
ट्यांक | ४२०१ | २६२७ |
पानीडुब्बि | १८ | ८ |