
काठमाडौं। नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (बीजेपी)का विदेश विभाग प्रमुख विजय चौथाईवालेले नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तसँग भेटेवार्ता गरेका छन्।
दुई नेताबीच शुक्रबार भेटवार्ता भएको हो। भेटमा चौथाईवालेले नेपालमा केही समयअघि सुरु भएको राजावादी आन्दोलनमा भारतको कुनै सहयोग, समर्थन र सद्भाव नरहेको बताएको जानकारी पुनले दिए।
‘भारत राजतन्त्रको पक्षमा छैन र त्यसका लागि भएका आन्दोलनमा सहयोग, समर्थन र सद्भाव छैन,’ चौथाईवालेको भनाइ उद्धृत गर्दै पुनले भने।
यस्तै, भारतको जम्मू-कश्मीर क्षेत्रस्थित पलगाममा गत ९ वैशाखमा भएको हमलाप्रति नेपाल सरकार, नेपालका राजनीतिक दल तथा नागरिक तवरबाट निन्दा भएकोप्रति चौथाईवालेले खुसी व्यक्त गरेको पुनले बताए। उक्त आक्रमणमा नेपाली नागरिक सुदीप न्यौपानेसहित २७ जनाको मृत्यु भएको थियो।
‘आतंकवादविरुद्ध नेपालले जनाएको ऐक्यबद्धताप्रति सराहना गर्न चाहन्छु,’ चौथाइवालेले पुनसँग भनेका थिए।
चौथाईवालेसँग माओवादी केन्द्र र भाजपाबीचको सम्बन्धबारे पनि कुराकानी भएको जानकारी पुनले दिए। आफूहरूले २ दलबीच विगतदेखिकै भाइचारा सम्बन्ध आगामी दिनमा थप सुदृढ भएर जाने विश्वास आपसमा व्यक्त गरेको उनको भनाइ थियो।
तीन दिने नेपाल भ्रमणको सिलसिलामा बुधबार काठमाडौं आएका चौथाईवालेले प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्रीहरू कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस महामन्त्री गगनकुमार थापा, नेता डा. शेखर कोइराला, उदयशमशेर राणा र गृहमन्त्री समेत रहेका अर्का नेता रमेश लेखकसँग भेटेका थिए। भ्रमण सकाएर उनी आजै दिल्ली फर्कंदैछन्।