माछापोखरीमा महानगर प्रहरीले तरकारी बेच्न किसानलाई रोक्यो, सडक छेक्दा यातायात प्रभावित

बिजमाण्डू
२०८२ बैशाख १९ गते ०७:१० | May 2, 2025
माछापोखरीमा महानगर प्रहरीले तरकारी बेच्न किसानलाई रोक्यो, सडक छेक्दा यातायात प्रभावित
रिङरोडबाट माछापोखरी जाने सडक। तस्विर : राजन कुइँकेलको फेसबुक पेजबाट


काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक छेकेर व्यापारी रोक्दा सार्वजनिक यातायात प्रभावित भएको छ। बालाजु माछापोखरी क्षेत्रमा महानगर प्रहरीले बिहानैदेखि सडक नै छेकेको हो।

Tata
GBIME
NLIC

माछापोखरी बाइपास सडकखण्डमा बिहान ४ बजेदेखि नै ककनी लगायतका क्षेत्रबाट तरकारी बेच्न किसान आउने गर्छन्। बिहान करिब ७/७:३० बजेसम्म उनीहरुले सडक छेउमा तरकारी बेच्छन्। उनीहरुले यसरी तरकारी बेच्न थालेको धेरै वर्ष भइसकेको छ।

यसरी सडक छेउमा तरकारी बेच्दा बिहानैदेखि माछापोखरी क्षेत्र अस्तव्यस्त हुने गरेको थियो। आज महानगर प्रहरीले सडक नै रोकेर कृषकलाई तरकारी बेच्न रोकेको हो। त्यसका लागि सार्वजनिक यातायात नै रोकिँदा स्थानीय प्रभावित भएका छन्।

कृषकहरुले लगाउने बजारलाई व्यवस्थापन गर्नुपर्ने माग महानगरपालिकासँग यहाँका स्थानीयले गर्दै आएका थिए। सडकमा तरकारी बिक्री वितरण भइरहँदा यहाँको यातायातमात्रै प्रभावित भएको थिएन स्थानीयले समेत सास्ती ब्यहोरेका थिए। तर, समन्वय र व्यवस्थापन गर्नुपर्नेमा नगर प्रहरी प्रयोग गरेर तरकारी बेच्न नदिने र सार्वजनिक यातायात नै चल्न अवरोध गरे पछि महानगरको आलोचना भएको छ।