
काठमाडौं। नेकपा एकीकृत समाजवादीले सरकारसमक्ष ९ पृष्ठ लामो मागपत्र पेस गरेको छ। एकीकृत समाजवादीका नेताहरुले बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई मागपत्र बुझाएका हुन्।
मागपत्र बुझाउन पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादीका एक दर्जन नेता बालुवाटार पुगेका थिए।
एकीकृत समाजवादीले शासकीय स्वरूप, संघीयता, निर्वाचन प्रणाली, मौलिक हकको कार्यान्वयनलगायत सबै क्षेत्रमा संविधान कार्यान्वयनका दश वर्षको पुनरावलोकन गरेर संविधान संशोधनको माग गरेको छ।
सांसदहरु मन्त्री हुन नपाउने गरी संविधान संशोधन गर्नुपर्ने एकीकृत समाजवादीको माग छ। ‘संसद्मा बहुमत हुने दलको नेता प्रधानमन्त्री हुने तर विधायकहरु मन्त्री हुन नपाउने गरी संवैधानिक व्यवस्था गरौं,’ मागपत्रमा भनिएको छ।

अहिलेसम्म सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न संवैधानिक तथा कानूनी प्रबन्धका साथ शक्तिशाली आयोग गठन गरिनुपर्ने, सबै आर्थिक कारोबारर डिजिटल माध्यमबाट गर्ने व्यवस्था लागू गर्नुपर्ने, आर्थिक तथा वित्तिय नीतिहरुलाई पुनरावलोकन गरी उद्योग मैत्री बनाउनुपर्ने, रोजगारी र सुशासनबारे राष्ट्रिय सम्मेलन गरिनुपर्ने लगायत माग एकीकृत समाजवादीले गरेको छ।