
काठमाडौं। सरकारको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले गभर्नर नियुक्तिमा ढिलाइ गरिएको विषयमा संसद्मा प्रश्न उठाएको छ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले तत्काल गभर्नर नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराए।
‘अहिले बजेट अधिवेशन हो। मौद्रिक नीति र वित्तीय नीतिको मूल्यांकन गर्ने बेलामा गभर्नर नियुक्ति नभएर अर्थतन्त्रमा परेको असर राम्ररी व्याख्या गर्न नसक्ने अवस्था सृजना भयो। तुरुन्त सरकारले गभर्नर सिफारिस समिति गठन गरेर गभर्नर नियुक्त गरोस्,’ उनले भने।

नेपाल राष्ट्र बैंकमा गभर्नरको पद चैत २४ देखि रिक्त छ। गभर्नरको नाम सिफारिस गर्न एक महिनाभन्दा पहिले गठन गरिएको सिफारिस समितिको बैठक अहिलेसम्म एकपटक पनि बसेको छैन। समितिका एक सदस्यले एक साताअघि राजीनामा दिइसकेका छन्।