
काठमाडौं। सामान्यतया मन्त्रिपरिषद् बैठक सातामा सोमबार र बिहीबार बस्छ। त्यस आधारमा महिनामा ८ देखि १० वटा बैठक बस्नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकप्रति रुची नदेखाएको पाइएको छ।
उनले पछिल्लो तीन महिनामा मन्त्रिपरिषद्का १३ वटा बैठक राखेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार माघदेखि चैतसम्म मन्त्रिपरिषद्का १३ वटा बैठकबाट ३२५ वटा निर्णय गरिएको छ।

मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गर्छ। तर, यो मन्त्रालयले झण्डै आधा निर्णय लुकाउने गरेको पाइएको छ।
मन्त्रिपरिषद्ले माघदेखि चैतसम्म गरेका निर्णयमध्ये मन्त्रालयले आफ्नो वेभसाइटमार्फत १८७ वटा निर्णय मात्र सार्वजनिक गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको विवरणमा माघमा ४६, फागुनमा ७२ र चैतमा ६९ वटा निर्णय भएको देखिन्छ।
तीन महिनामा मन्त्रिपरिषद्का ३ वटा समितिले ८ वटा बैठकबाट ३१ वटा निर्णय गरेका छन्।