
काठमाडौं। वाणिज्य बैंकहरुले निक्षेप संकलनमा रणनीति बदलेका छन्। कर्जाको औसत ब्याजदर साढे ८ प्रतिशतबाट तल झरेका बेला ऋणीहरु स्थिर ब्याजदरका स्किमतिर लागेपछि बैंकहरुले पनि रणनीति फेरेका हुन्।
बैंकहरु अब दीर्घकालीन खालको निक्षेप उठाउनतिर लागेका छन्। निक्षेपको ब्याजदर ४/५ प्रतिशतमा झरेको फाइदा उठाउन बैंकहरुले लामो अवधिका लागि पुँजी जुटाउन दीर्घकालीन निक्षेपलाई प्राथमिकतामा राखेका हुन्।
गत चैतमा एभरेष्ट बैंकले ५ वर्ष अवधिको मुद्दतीको ब्याजदर ६ प्रतिशत दिएकामा वैशाखमा १० वर्ष अवधिको निक्षेपको स्किम ल्याएको छ। बैंकले १० वर्ष अवधिको निक्षेपमा ६.६१ प्रतिशत ब्याजदर दिनेछ।
अन्य बैंकहरुले समेत मुद्दती निक्षेपको अवधि बढाएर ब्याजदर केही बढाएका छन्। ३ वर्ष अवधिको मुद्दती लिइरहेका बैंकले ५ वर्ष र ५ वर्ष अवधिको मुद्दती स्किम चलाइरहेका बैंकले ८ वर्षभन्दा बढी अवधिका लागि मुद्दती निक्षेप लिन थालेका छन्।
एनआइसी एसिया बैंकले दुई वर्ष बढी अवधिको मुद्दतीको स्किम बढाएको छ। चैतमा एनआइसी एसियाले २ देखि ५ वर्ष र ५ वर्ष माथिको मुद्दती लिइरहेकामा अहिले २ देखि ३ वर्ष, ३ देखि ५ वर्ष र ५ वर्ष माथिको निक्षेप लिइरहेको छ।
बैंकले चैतको तुलनामा मुद्दती निक्षेपमा ब्याजदर पनि बढाएको छ। चैतमा ५.५० प्रतिशत ब्याज दिएको बैंकले अहिले २ देखि ३ वर्ष अवधिको मुद्दतीमा ६.०१ प्रतिशत ब्याज दिइरहेको छ। यस्तै ३ देखि ५ वर्ष अवधिको मुद्दती निक्षेपमा ६.०५ प्रतिशत र ५ वर्षभन्दा बढी अवधिको मुद्दतीमा ६.६० प्रतिशत ब्याज दिइरहेको छ।
ग्लोबल आइएमई बैंकले ३ वर्ष माथिको मुद्दती निक्षेपको स्किम ल्याएको छ।
ब्याजदर घटेको बेलामा लामो अवधिका लागि निक्षेप संकलन गर्दा परियोजनामा आधारित भएर लगानी गर्न सहज हुने बैंकरहरु बताउँछन्। साथै, निक्षेपको लागत कम हुँदा स्वत: कर्जा पनि नमहँगिने र लगानीकर्तालाई व्यवसाय विस्तार गर्न प्रोत्साहन पुग्ने उनीहरुको भनाइ छ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदेश खालिङ ब्याजदर घटेको अहिलेको समय दीर्घकालीन लगानी योजना बनाउन उपयुक्त समय भएको बताउँछन्।
‘तरलताको साइकल हुन्छ। अहिले कर्जा अलि अलि विस्तार भइरहेको छ। अल्पकालीन निक्षेप थपिने क्रम पनि जारी नै छ,’ उनले भने, ‘परियोजना कर्जा प्रवाह गर्न लामो अवधिको निक्षेप चाहिन्छ। त्यसकारण दीर्घकालीन लगानी योजना बनाउन लामो अवधिको पुँजी जुटाउने रणनीति अनुसार नयाँ स्किम ल्याएका हौं।’
होटल, हाइड्रोपावर लगायत क्षेत्रमा लामो अवधिका लागि ऋण लगानी गर्नुपर्ने हुन्छ। ‘अहिले ग्राहकले पनि स्थिर ब्याजदर खोजिरहेका छन। फ्लोटिङमा लिएर स्थिर ब्याजदरको कर्जा दिन सकिंदैन,’ खालिङले भने, ‘त्यसका लागि दीर्घकालीन फण्ड नै आवश्यक पर्छ।’
त्यहीकारण बैंकले ब्याजदर केही बढाएर १० वर्ष अवधिको निक्षेपको स्किम ल्याएको हो।
जानकारहरु ब्याजदर घटेको बेलामा बैंकहरु लामो अवधिको निक्षेप उठाउनतर्क केन्द्रित हुनुलाई स्वाभाविक भन्छन्।
पूर्वबैंकर रत्नराज बज्रचार्य ब्याजदर घटेका बेला लामो अवधिको मुद्दती उठाउनु बैंक र ऋणी दुवैको हितमा रहेको बताउँछन्।
‘सस्तो दरमा बैंकहरुले लामो अवधिको निक्षेप उठाउनु राम्रो हो,’ उनले भने, ‘अहिले ६/७ प्रतिशत ब्याजदरमा ५/१० वर्षका लागि फण्ड उठाउन खोज्नु सकारात्मक नै हो। यसमा बैंकहरु सफल भए ऋणको ब्याजदर पनि माथि जाने अवस्था आउँदैन।’
नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक पिताम्बर भण्डारीले पनि बैंकहरुले अहिले सस्तो ब्जाजदरमा लामो अवधिका लागि निक्षेप संकलन गर्न सक्दा त्यसले लागत कम भइ ऋणीहरुलाई पनि फाइदा हुने बताए।
‘करिब २ वर्षअघि ब्याजदर ११/१२ प्रतिशत पुगेको थियो। त्यो बेलामा उनीहरुले लिएको ३/५ वर्षका लागि लिएको मुद्दती निक्षेप परिपक्व भएको छैन्,’ उनले भने, ‘परिपक्क हुन बाँकी मुद्दती हाइ कष्टमा छ। अहिले लो कष्टमा लामो अवधिका लागि फण्ड उठाउन सके कष्ट अफ फण्ड कम भएर कर्जा सस्तो दरमा दिन सकिन्छ। यो भनेको ऋणीहरुका लागि झन् राम्रो कुरा हो।’