आर्थिक लेनदेनमा धोकाधडी बढ्दो, बैंकिङ कसुरमा साढे २१ अर्बको मुद्दा, ९ अर्बको चेक बाउन्स

सविन ढकाल
२०८२ बैशाख १६ गते १९:३९ | Apr 29, 2025
आर्थिक लेनदेनमा धोकाधडी बढ्दो, बैंकिङ कसुरमा साढे २१ अर्बको मुद्दा, ९ अर्बको चेक बाउन्स


काठमाडौं। बौद्धमा बस्दै आएका मोहनबहादुर लामाको कोठामा सुनिता माया तामाङ बेलाबेला दिदीको नाताले पुग्ने गर्थिन्। दिदीभाई जस्तै सम्बन्ध भएकाले एक अर्कालाई विश्वास नगर्ने कुरै भएन।

Tata
GBIME
NLIC

समस्या परेको भन्दै सुनिताले भाइ मोहनसँग ५ लाख रुपैयाँ सापटी मागिन्। मोहनले आँखा चिम्लिएर ५ लाख रुपैयाँ हातमा राखिदिए। सुनिताले तीन महिना पछि मोहनलाई चेक थमाइन्।

तर, बैंकमा जाँदा चेक साटिएन। पैसा लिएयता नै मोहनकहाँ सुनिताको आवतजावत घटिसकेको थियो। चेक नसाटिएपछि मोहनले सम्पर्क गर्न खोजे, सुनिता सम्पर्कमा आइनन्। पटक पटकको प्रयास सफल नभएपछि मोहन चेक बाउन्सको उजुरी लिएर प्रहरीकहाँ पुगे। काभ्रे घर भएकी सुनिता अहिले फरार छन्।

बाउन्स चेकले दिदीभाईको सम्बन्ध बिग्रिएको छ।

+‌++

गोकुल नेपाली र सञ्जय दाहालको कथा पनि उनीहरूको भन्दा फरक छैन। व्यापार व्यवसायको क्रममा सञ्जयकी श्रीमतीसँग गोकुलको चिनजान भएको थियो। त्यही क्रममा सञ्जयले गोकुलसँग रकम सापटी मागे। गएको भदौमा विश्वास साक्षी राखेर गोकुलले सञ्जयलाई ४ लाख रुपैयाँ दिए।

पैसा फिर्ता गर्ने एक महिनाको भाखा राखिएको थियो। एक महिनापछि उनी पैसा माग्न सञ्जयकहाँ पुगे। सञ्जयले ४ लाखको चेक काटेर दिए। तर, बैंकमा पैसा हात परेन। खातामा पर्याप्त रकम नभएकाले चेक साटिएन। त्यसपछि गोकुलले सञ्जयलाई खोजे। सम्पर्कमा नआएपछि बैंकिङ कसुरको उजुरी लिएर उनी पनि प्रहरीकहाँ पुगे।

+‌++

विदेश गएर पैसा कमाउने बुद्ध तामाङको सपना थियो। त्यो सपना पूरा गर्न जुजु एजुकेसन कन्सल्टेन्सीका सञ्चालक सन्दीप न्यौपानेले सहयोग गर्छु भने। उनले बुद्धलाई बोलिभिया पठाउने र त्यहाँ महिनाको डेढ लाख रुपैयाँ आम्दानी हुने सुनाए।

सन्दीपको प्रस्ताव राम्रो लागेपछि बुद्ध तयार भए। यसका लागि १२ लाख रुपैयाँ कन्सल्टेन्सीलाई बुझाए। असार ७ गते उनी दुबई हुँदै बोलिभियाका लागि उडे। दुबईमा केही दिन बसेर मात्र बोलिभिया जाने भनिएको थियो।

४७ दिनसम्म दुबईमा बस्दा पनि प्रक्रिया अगाडि बढेन। बुद्ध नेपाल फर्किए। उनले आफूले दिएको रकममध्येबाट ६ लाख २५ हजार रुपैयाँ सन्दीपसँग मागे।

सन्दीपले त्यही बराबरको चेक दिए। तर, बैंकबाट पैसा निस्किएन। त्यति बेलासम्म सन्दीप सम्पर्कविहीन भइसकेका थिए। त्यसपछि उनी पनि प्रहरीकहाँ पुगे। बैंकिङ कसुर मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ।

चालु वर्ष वैशाख १५ गतेसम्म सन्दीप जस्तै १०० जनाभन्दा बढीविरुद्ध बैंकिङ कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। अधिकांश अभियुक्त फरार छन्। अदालतमा पुगेको मुद्दा अनुसार ५० हजारदेखि ३० लाख रुपैयाँसम्मको चेक काटिएका खाता रित्ता भेटिएका छन्।

९ अर्बको चेक बाउन्स, २५ सयभन्दा बढी पक्राउ

पछिल्ला वर्षमा बैंकिङ कसुरका अपराध बढ्दै गएको छ। जसमा चेक बाउन्सका घटना धेरै रहेको नेपाल प्रहरीले जनाएको छ। चालु आर्थिक वर्ष ९ महिनामा देशभर करिब ९ अर्ब रुपैयाँको चेक बाउन्स भएको छ।

उजुरीका आधारमा अनुसन्धानपछि दायर भएको मुद्दा अनुसार ८ अर्ब ९१ करोड ३७ लाख ५६ हजार ३१० रुपैयाँ बराबरको चेक बाउन्स भएको नेपाल प्रहरीका प्रवक्ता डीआइजी दिनेश आचार्यले जानकारी दिए।

९ हजार ८०६ वटा चेक बाउन्समा मुद्दा दायर भएको हो। उजुरी संख्या योभन्दा धेरै छ। कतिपय घटनामा प्रहरीकहाँ उजुरी परेपछि मिलापत्र भएको छ।

यो अवधिमा प्रहरीले स्वदेशी र विदेशी गरी २ हजार ५५५ जनालाई नियन्त्रणमा लिएको छ।

बैंकिङ कसुरमा ९ हजार ९१३ वटा मुद्दा दायर भएका छन्। ती मुद्दामा २१ अर्ब ४४ करोड १४ लाख १७ हजार २२६ रुपैयाँ माग दाबी छ।

‘आर्थिक अपराध चुनौतीको विषय बनेको छ। प्रहरीकहाँ पर्ने उजुरीमध्ये सबैभन्दा धेरै आर्थिक अपराधसँग सम्बन्धित छन्,’ डीआइजी आचार्यले भने।

गत आर्थिक वर्षमा देशभर १३ हजार ३७३ वटा बैंकिङ कसुरका मुद्दा दायर भएकामा १३ हजार १८६ वटा चेक बाउन्सका थिए।