
काठमाडौं। सवारी निर्माता भारतीय कम्पनी महिन्द्रा एण्ड महिन्द्रा लिमिटेड (एमएन्डएम)ले ठुला गाडीहरु उत्पादनका लागि एसएमएल इसुजु लिमिटेडको ५८.९६ प्रतिशत सेयर किन्ने सम्झौता गरेको घोषणा गरेको छ।
प्रति सेयर ६५० भारुमा खरिदबिक्रीको सम्झौता भएको महिन्द्राले आइतबार विज्ञप्तिमार्फत जानकारी दिएको छ।
सम्झौताअनुसार एम एन्ड एमले एसएमएलमा ५५५ करोड भारु लगानी गर्न लागेको हो। यसका अतिरिक्त एमएन्डएमले सेबी टेकओभर नियमावलीअनुसार खुला प्रस्ताव पनि ल्याउने जनाएको छ।
महिन्द्राले ३.५ टनभन्दा बढी तौल क्षमता भएका व्यावसायिक सवारीसाधन (सीभी) को बजारमा आफ्नो उपस्थिति मजबुत बनाउनका लागि यो टेकओभर गर्न लागेको बताएको छ। हाल एमएन्डएमको यो सेगमेन्टमा ३ प्रतिशत बजार हिस्सा छ।
त्यस्तै, ३.५ टनभन्दा कम तौल भएका हल्का व्यावसायिक सवारी साधन (एलसीभी) बजारमा कम्पनीको हिस्सा ५२ प्रतिशत छ। एमएन्डएमको ट्रक तथा बस डिभिजनले पछिल्ला केही वर्षहरूमा उल्लेखनीय प्रगति गरेको जनाएको छ।
यो टेकओभरपछि कम्पनीको बजार हिस्सेदारी ६ प्रतिशत पुग्नेछ। कम्पनीका अनुसार आर्थिक वर्ष २०३१ सम्म १० देखि १२ प्रतिशत पुर्याउने र २०३६ सम्म २० प्रतिशतभन्दा माथि पुर्याउने योजना छ।
एसएमएल आइसुजु लिमिटेड सन् १९८३ मा स्थापना भएको सूचीकृत कम्पनी हो। ट्रक र बसको सेगमेन्टमा यसको देशव्यापी हिस्सा राम्रो छ भने ब्रान्ड पहिचान पनि उत्कृष्ट छ। एसएमएलको विशेषगरी इन्टरमिडियट एण्ड लाइट कमर्सियल भेहिकल (आईएलसीभी) बस खण्डमा १६ प्रतिशत बजार हिस्सा छ।
एसएमएसले आर्थिक वर्ष २०२४ मा २ हजार १९६ करोड भारुको आम्दानी गरेको छ भने १७९ करोड रुपैयाँको ईबिट्डा रिपोर्ट गरेको छ। कम्पनी लाभदायी ढंगले सञ्चालनमा छ।
एसएमएलसँग लागत, नेटवर्क, ब्रान्ड, निर्माण, जनशक्ति र उत्पादनमा हुने सहकार्यबाट ठूलो मूल्य सिर्जना गर्ने सम्भावना छ। एमएण्डएमको ट्रक र बस व्यवसायले प्रविधि, डिजाइन, नवप्रवर्तन र आफ्नै अटो व्यवसायबाट स्रोतको राम्रो प्रयोग गर्दै बलियो उपस्थिति बनाएको छ।
‘यी दुवै कम्पनीको संयुक्त शक्ति एक शक्तिशाली संयोजन बन्नेछ,’ एमएन्डएमले विज्ञप्तिमा भनेको छ।
खरिद सम्झौताअनुसार नै एमएन्डएमले एसएमएलको प्रवर्तक सुमितोमो कर्पोरेशनद्वारा राखिएको ४३.९६ प्रतिसत सेयर र सार्वजनिक सेयरधनी आइसुजु मोटर्स लिमिटेडको १५ प्रतिशत सेयर पनि किन्नेछ। यी सेयरको कुल मूल्य ५५५ करोड भारु हुनेछ।
यसबाहेक, एमएन्डएमले सेबी टेकओभर नियमअनुसार योग्य सार्वजनिक सेयरधनीहरूसँग २६ प्रतिशत सेयर अधिग्रहण गर्न खुला प्रस्ताव ल्याउने बताएको छ।
महिन्द्रा ग्रुपका ग्रुप सीइओ तथा एमडी डा. अनीश शाहले एसएमएल आइसुजुको अधिग्रहण महिन्द्रा समूहको नयाँ व्यवसायहरूमा ५ गुणा वृद्धिको लक्ष्यप्रति एक महत्त्वपूर्ण पाइला भएको बताए।
उनले भने, ‘यो अधिग्रहण हाम्रो पुँजी विनियोजन रणनीतिसँग मेल खान्छ, जसमा हामी उच्च सम्भावना भएका वृद्धिशील क्षेत्रहरूमा लगानी गर्छौं। यस्ता क्षेत्रमा हाम्रो जितको सम्भावना बलियो छ र संचालन उत्कृष्टता देखिएको छ।’
महिन्द्रा एण्ड महिन्द्राका कार्यकारी निर्देशक तथा अटो र फार्म क्षेत्रका सीइओ राजेश जेझुरीकरले एसएमएलसँग बलियो इतिहास, विश्वासिलो ग्राहक आधार र महिन्द्राका हालका ट्रक तथा बस उत्पादनहरूलाई पूरक हुने उत्पादन पोर्टफोलियो रहेको बताए।
‘यो अधिग्रहण हामीलाई व्यावसायिक सवारी साधन बजारमा पूर्ण दायराको बलियो प्रतिस्पर्धी बनाउने दिशामा एक निर्णायक पाइला हो। यसले बजार दायरालाई विस्तार, प्लेटफर्म एकीकरणबाट संचालन लागत घटाउने, आपूर्तिकर्ता तथा वितरण सञ्जाललाई एकीकृत गर्ने र कारखाना उपयोगलाई बढाउने अवसर प्रदान गर्छ। हामी मिलेर द्रुत विस्तार र लाभदायक वृद्धि गर्न सक्षम हुनेछौं,’ उनले भने।
खुला प्रस्ताव पनि समावेश भएको यस सम्झौता प्रतिस्पर्धा आयोग भारत (सीसीआई) को स्वीकृतिपछि सेबी टेकओभर नियमअनुसार २०२५ भित्र टुंगो लाग्ने अपेक्षा गरिएको छ।
कोटक इन्भेस्टमेन्ट बैंकिङ सम्झौतामा एमएन्डएमको वित्तीय सल्लाहकार तथा खुला प्रस्ताव व्यवस्थापक रहनेछ। यसमा खेतान एण्ड कम्पनी एमएन्डएमको कानुनी सल्लाहकार रहनेछ।