हङकङमा च्याम्पियन बन्न नेपालसामू १७५ रनको लक्ष्य, कुवेतका रविजाको अर्धशतक

बिजमाण्डू
२०८१ चैत्र ३१ गते १३:०६ | Apr 13, 2025
हङकङमा च्याम्पियन बन्न नेपालसामू १७५ रनको लक्ष्य, कुवेतका रविजाको अर्धशतक
नेपाली टोली फिल्डिङमा। तस्बिर: क्यान


कठमाडौं। नेपाली क्रिकेट टोलीले च्याम्पियन बन्न १७५ रनको लक्ष्य पाएको छ। हङकङमा जारी चारदेशीय सिरिजको फाइनल खेलमा कुवेतले नेपालसामू १७५ रनको लक्ष्य पेस गरेको हो।

Tata
GBIME

हङकङको मङककस्थित मिसन रोड ग्राउण्डमा जारी फाइनल खेलमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर कुवेतलाई पहिलो ब्याटिङको निम्ता दिएका थिए।

कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनायो। यसक्रममा रविजा सन्दरुवनले सर्वाधिक ६३ रन बनाउँदा क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३ तथा मित भवसारले १६ रन बनाए।

बलिङतर्फ नेपालका सोमपाल कामी र नन्दन यादवले समान २ विकेट लिँदा करण केसी र कुशल भुर्तेलले १ विकेट लिए।

सिरिजमा नेपाल र कुवेत शीर्ष दुईमा रहँदै फाइनल पुगेका हुन्।

लिग चरणमा नेपालले कतारलाई ८ विकेट र कुवेतलाई ६ विकेटले हराएको थियो। हङकङ विरुद्धको खेल भने वर्षाका कारण रद्ध भएको थियो।

अर्कोतर्फ नेपालसँग पराजय ब्यहोरेको कुवेतले हङकङलाई ४ विकेट र कतारलाई ६ विकेटले हराएको थियो।

आजै सम्पन्न प्लेअफको खेलमा कतारले हङकङलाई हराउँदै तेस्रो भएको थियो। आयोजक हङकङ चौथो बन्यो। नेपाल जवाफी ब्याटिङमा उत्रिएको छ।