
काठमाडौं। शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रचारबाजीको साटो जनताले महसुस गर्ने गरी विकासका काम गर्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली देखि सरकारका अधिकांश मन्त्रीले कामभन्दा धेरै प्रचारबाजी गर्दै आएका बेला सिंहले काम भइरहेको कुरा जनतालाई महसुस गर्नुपर्ने बताएका हुन्।
उनले बिहीबार अधिकार सम्पन्न बागमती एकीकृत सभ्यताको ३१औँ वार्षिकोत्सव समारोहमा जनताले महसुस नगरेको अवस्थामा प्रचारबाजीको अर्थ नहुने बताए।
‘जेजति योजना हामीले अहिले सम्पन्न गरेको छौं, त्यसबारे आमजनतालाई जानकारी गराउनुपर्छ। तर, काम भएको कुरा जनताले महसुस गर्नुपर्छ। हाम्रो काम सस्तो प्रचारबाजी गर्ने होइन,’ उनले भने।
सिंहले समितको कामप्रति असन्तुष्टि जनाए। धेरै सम्पदा रहेको बाग्मती नदी किनारमा ‘हेरिटेज वाक’को चर्चा भएपनि काम प्रभावकारी हुन नसकेको भन्दै उनले असन्तुष्टि जनाएका हुन्।
उनले बाग्मती नदी सफा गर्न समितिलाई निर्देशन दिए। ‘हामीले गर्ने भनेको नदीहरुलाई स्वच्छ बनाउने र दुर्गन्ध हटाउने हो। त्यसका लागि योजना बनाएर अगाडि बढ्ने बाहेक हामीसँग अरु उपाय छैन,’ उनले भने।