
काठमाडौं। नेपाली यू-१९ क्रिकेट टोलीले अफगानिस्तानलाई ८५ रनले हराएको छ। तीन खेलको सिरिजअन्तर्गत बुधबारको अन्तिम खेलमा नेपालले अफगानिस्तानमाथि ८५ रनको सान्त्वना जित निकालेको हो। यद्यपि सिरिज भने अफगानिस्तानले २-१ ले जितेको छ।
मुलपानी क्रिकेट मैदानमा जारी सिरिजको तेस्रो खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४४.५ ओभरमा अलआउट हुँदै १ सय ९१ रन बनाएको थियो।
पहिलो विकेटका लागि ८३ रनको साझेदारी गर्दै ओपनर साहिल पटेल र निरजकुमार चौधरीले राम्रो सुरुवात दिलाए। पटेलले ४६ रन बनाउँदा यादवले ४२ रन बनाए। त्यस्तै रोशन विश्वकर्माले २८, कप्तान नरेन भट्टले २२ रन बनाए।
बलिङतर्फ हफीज जार्डनले सर्वाधिक ४ विकेट लिँदा अब्दुल अजिज र जैतुल्लाह शाहिननेल समान २ विकेट लिए। त्यस्तै, रुहुल्लाह अरब र मेहबुब खानले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तान २०.१ ओभरमा ४६-१ को अवस्थामा पानी परेपछि डीएलएस मेथडबाट नेपाल ८५ रनले विजयी भएको हो। अफगानिस्तानका फैजल सिनोजादाले १६ तथा अजिउल्लाह मिया खिलले अविजित १५ रन बनाए।
बलिङमा नेपालका अपराजित पौडेलले २ विकेट लिँदा दयानन्द मण्डल, विपिन शर्मा, सन्तोष यादव र अशोक धामीले समान १ विकेट लिए।
नेपाल र अफगानिस्तान दुवै यू-१९ विश्वकप छनोटको तयारीमा छन्। पाँच टोली सहभागी यो प्रतियोगिता आइतबारदेखि मुलपानीमा हुँदैछ।