
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सबै राजनीतिक शक्ति अटाउने सम्झौता गर्न प्रस्ताव गरेका छन्।
आज बल्खुमा आयोजित प्रदर्शनमा उनले पूर्व राजा ज्ञानेद्र शाहलाई अभिभावक मानेर अहिलेको व्यवस्थाका राम्रा पक्ष समेट्दै नयाँ सहमति गर्नुपर्ने बताएका हुन्।
‘देशलाई नयाँ समझदारीको आवश्यकता छ। सबै राजनीतिक शक्तिहरु अटाउने समझदारी गरौं। राजादेखि गणतन्त्रवादीसम्म अटाउने। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री। प्रदेश नरहेको केन्द्र र स्थानीय तह,’ उनले भने।
उनले चैत १५ गते तीनकुनमा भएको प्रदर्शन सरकारका तर्फबाट हिंसात्मक बनाइएको दाबी समेत गरेका छन्। तर, तीनकुनेमा भएको प्रदर्शनको जिम्मवारी भने राप्रपाले लिएको छैन।
उनले प्रहरीले नै पहिला गोली चलाएको भन्दै सांकेतिक रुपमा प्रदर्शनकारीको बचाउ गरे।
‘चैत १५ गतेका प्रदर्शनकारीबाट एउटा लाठी किन भेटिएन? पेस्तोल किन भेटिएन। प्रदर्शनकारीहरु हिंसात्मक हुन्। सबभन्दा पहिला गोली कसले चलायो?,’ लिङ्देनले प्रश्न गरे।
उनले तीनकुनेमा अराजकता मचाएर भागेका दुर्गा प्रसाईंबारे टिप्पणी गर्न नचाहेको बताए। तर, प्रसाईंलाई पक्राउ गर्नुको साटो आफ्ना पार्टीका नेतालाई पक्राउ गरिएको लिङ्देनले बताए।
‘तपाईंलाई किचौला जस्तो गरि आएको दुर्गा प्रसाईंलाई तपाईंले पक्रन सक्नु हुन्थ्यो। पुलिसको फन्दा भित्र परेको दुर्गा प्रसाईंलाई निकाल्नुभयो। तर मञ्चमा भाषण गरिरहेका नेतालाई अश्रुग्यास बर्साउनुभयो,’ उनको आरोप थियो।
बल्खुमा उनले विरोध सभा गर्न दिन सरकार डराउन थालेको टिप्पणीसमेत गरे। गणतन्त्रिक प्रणालीबाट निर्वाचित भएर उपप्रधानमन्त्री समेत भइसकेका लिङदेनले प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न आफ्नो पार्टी तयार रहेको अभिव्यक्ति पनि दिएका छन्।
‘सभा गर्न दिँदाखेरी ढल्ने गणतन्त्र तिम्रो कस्तो गणतन्त्र हो? गोली हान्न सक्छौं भन्दिन। बालुवाटारलाई घेरेर भात पानी बन्द गरिदिन सक्छौं,’ उनले भने।
उनले आफ्ना पार्टीका नेताको रिहाइ घोषणा नगरे विद्रोहमा जाने बताए।
‘हाम्रो चुनाव जितेको जनताको प्रतिनिधिलाई खोरमा अपमानित ढंगले राख्नुभएको छ। उपाध्यक्षलाई राख्नुभएको छ। त्यसलाई इखको रुपमा लिएका छौं। राजा चाहिन्छ भनेका कारण थुन्ने हो भने हामी लाखौं पक्राउ पर्न तयार छौं। जेल खाली राख्नुस्। तपाईं आफू बस्ने जेल राम्रो बनाएर राख्नुस्,’ उनले भने।