धुम्म काठमाडौंको हावा नै विषाक्त : प्रदूषणले बढायो स्वास्थ्यमा जोखिम, तत्काल के गर्ने?

बिजमाण्डू
२०८१ चैत्र २३ गते १६:४७ | Apr 5, 2025
धुम्म काठमाडौंको हावा नै विषाक्त : प्रदूषणले बढायो स्वास्थ्यमा जोखिम, तत्काल के गर्ने?


काठमाडौं। नेपालको राजधानी सहर काठमाडौंको हावाको गुणस्तर विश्वकै सबैभन्दा प्रदूषित बनेको छ। एक सातायता काठमाडौं उपत्यकासँगै मुलुकका विभिन्न भागमा वायु प्रदूषणको अवस्था मानव स्वास्थ्यका लागि गम्भीर बन्दै गएको छ।

Tata
GBIME
NLIC

अहिले काठमाडौंको हावामा कार्बन मोनोक्साइड, ब्ल्याक कार्बन, ओजोन तथा मसिना हानिकारक कणहरु (पीएम २.५)को मात्रा अत्याधिक रहेको तथ्यांकहरुमा देखिएको छ।

वातावरणकर्मी ५ जनाले विज्ञप्ति सरकारलाई ७ बुँदे सुझाव दिएका छन्। जारी विज्ञप्तिमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को अध्ययअनुसार विगत ९० दिनमा ७५ दिन काठमाडौंको वायु गुणस्तर हानिकारक रहेको उल्लेख छ। इसिमोडले चैत २१ मा जारी गरेको तथ्यांकअनुसार काठमाडौंको हावाको गुणस्तर (एयर क्वालिटी इन्डेक्स, एक्युआई) खतराको तह पार गरेको छ।

विज्ञप्तिमा भनिएको छ- ‘कचौरा आकारको काठमाडौं उपत्यका विश्वमै वायु प्रदूषणको जोखिममा रहेका प्रमुख सहरहरु मध्येमा पर्दछ। अहिले खासगरी डढेलोलाई प्रदूषणको एक प्रमुख कारण मानिएको छ भने अन्धाधुन्ध धुलो उडाउँदै कुद्ने पुराना जीर्ण सवारीसाधनहरु र निर्माण क्षेत्र र कलकारखानाहरुबाट निस्कने धुवाँधुलो प्रदूषण बढाउन कारक देखिन्छ। त्यसैगरी कमजोर सडक सफाइ, सडक निर्माणमा धुलो नियन्त्रण लगायत वातावरण व्यवस्थापनका कार्यहरुलाई बेवास्ता गर्नाले यो अवस्था सिर्जना भएको हो।’

काठमाडौंको हावा विश्वकै प्रदुषित

विश्वभरका सहरहरूको वायु गुणस्तर मापन गर्ने आइक्यूएयर वेबसाइटका अनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक २२५ पुगेको छ, जुन अत्यन्तै अस्वस्थकर श्रेणीमा पर्छ। यो स्तरमा वायुमा रहेका सूक्ष्म धूलोका कणहरू श्वासप्रश्वासका लागि हानिकारक मानिन्छन्।

नेपालपछि भियतनामको हानोइ (१७८) दोस्रोमा र कुवेतको कुवेत सिटी (१७७) तेस्रोमा छन्। त्यस्तै, चीनको शाङ्घाई (१६२)को वायु पनि अस्वस्थकरको श्रेणीमा परेको छ।

यसैगरी, बंगलादेशको ढाका (१२८), चीनको चोङकिङ (१२२), चीनको वुहान (११२) र इराकको बगदाद (१०२)को हावा संवेदनशील व्यक्तिका लागि अस्वस्थकरको श्रेणीमा छ।

विश्व स्वास्थ्य संघले  निर्धारण गरेको मापदण्डभन्दा काठमाडौंको प्रदूषण कयौं गुना बढी छ। खासगरी एक्युआइ १०० भन्दा माथि पुग्दा त्यहाँको हावा अस्वस्थ मानिन्छ। एक्युआइ २०० माथि पुग्नुलाई धरै नै अस्वस्थकर मानिन्छ भने ३०० भन्दा माथिको अवस्थालाई खतरनाक मानिन्छ। यो अवस्था वातावरणीय आपतकाल पनि हो।

काठमाडौंमात्रै नभइ देशभरका सहरको अवस्था उस्तै छ। राजधानी लगायत देशभर निर्माण कार्य तीव्र छ। सडक विस्तार, भवन निर्माण र अन्य पूर्वाधार विकाससँगै निर्माण सामग्रीबाट निस्कने धूलो र धुवाँ वायुमण्डलमा मिसिएर वायु प्रदूषण थप बढाएको छ।

धेरै मानिसहरू अहिले खोकी, एलर्जी, नाक बन्द हुने लगायत स्वासप्रश्वाससम्बन्धी समस्या तथा आँखामा जलन र आँखा रातो हुने जस्ता समस्याबाट पीडित छन्। वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीहरूमा यसको असर अझ बढी छ।

काठमाडौंको वायु प्रदूषण बढ्नुका प्रमुख कारणहरूमध्ये सवारी साधनको अत्यधिक प्रयोग, डिजेल र पेट्रोलबाट चल्ने पुराना गाडीहरू, अव्यवस्थित फोहोर व्यवस्थापन, कृषि अवशेष जलाउने परम्परा र वनमा भइरहेको आगलागी मुख्य रहेको विज्ञहरू बताउँछन्। निर्माण कार्यबाट निस्कने धूलो तथा खुलेआम फोहोर जलाइने प्रवृत्तिले समेत वायुमा रहेका हानिकारक कणहरूको मात्रा बढाएको उनीहरूको तर्क छ।

वातावरणविद् भूषण तुलाधर, अभ्नी भेञ्चर्स निर्देशक सिलसिला आचार्य, प्रकृति रिसोर्सेजका कार्यकारी निर्देशक राजु पण्डित क्षेत्री, स्वच्छ ऊर्जा नेपालका महासचिव राजन पराजुली र नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष चन्द्रशेखर कार्कीद्वारा जारी विज्ञप्तिमा सरकारलाई गम्भीर हुन आग्रह गरिएको छ।

यस्ता छन् सुझाव

१. प्रदूषणको मात्रा अत्यन्तै प्रतिकूल भइसकेकोले खासगरी सूचकांक ३०० एक्युआइको आसपास वा त्यो भन्दा बढी भएको अवस्थामा वातावरणीय आपतकाल घोषणा गर्दै आवश्यक कदमहरु अविलम्ब चालियोस्।

२. वन क्षेत्रहरुमा लागेका सयौं डढेलो नियन्त्रणका लागि ती स्थानहरुमा स्थानीय समुदाय, सुरक्षा निकायहरुसँग समन्वय र सहकार्य गरी आवश्यक स्रोत साधनको व्यवस्था गरियोस्।

३. उपत्यकामा अन्धाधुन्ध धुँवा फाल्दै कुद्ने सवारीलाई तत्काल रोक लगाउने, धुलो लिएर उपत्यकामा भित्रने सवारीहरुलाई रोक लगाउने, समुदाय र टोल स्तरमा व्यापक मात्रामा सडक सफाइ गर्ने कार्यहरु अविलम्ब गरियोस्।

४. कलिला बालबालिकाहरुको स्वास्थ्य जोखिमलाई मध्यनजर गरी वायु प्रदूषण स्तरमा सुधार नहुञ्जेल सम्मका लागि उपत्यकाका विद्यालयहरु बन्द गरियोस्।

५. वायु प्रदूषणको एक कारक मानिएका सवारीसाधनहरुको संख्यालाई नियन्त्रण गरी तत्कालको प्रदूषण अवस्था नियन्त्रण गर्न जोर विजोर प्रणाली लागु गरियोस्।

६. राजधानी र वरपरका क्षेत्रहरुमा फोहरमैला तथा कृषिजन्य अवशेषहरु जलाउने कार्यमा तत्काल रोक लगाइयोस्।

७. स्वास्थ्य जोखिमबाट जोगिनका लागि सर्वसाधारणलाई मास्क लगाउन अनिवार्य गरियोस्।

के गर्दैछ सरकार?

वातावरणवादी र स्वास्थ्यकर्मीले उपत्यकाको वायुको गुणस्तर जोखिमपूर्ण भएको भन्दै सरकारलाई सतर्कताको उपाय अपनाउन सुझाव दिइरहँदा मुख्य सरोकारवाला निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गरिसकेको छैन। सरकारले सम्बद्ध सरोकारवाला निकायबीच समन्वय गर्न नै बाँकी रहेको देखिएको छ।

यसै सम्बन्धमा सरकारले गत बिहीबार सरोकारवाला निकायसँग छलफल गरेको थियो। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा भएको उक्त छलफलमा सरोकारवाला निकाय र विज्ञहरूको सहभागिता थियो।

छलफलपछि वायु गुणस्तर सूचकांक अत्यन्त जोखिमपूर्ण स्तरमा पुगेमा आपतकालीन उपायहरू लागू गरिने निर्णय गरिएको छ। जसमा विद्यालय र उद्योगहरू अस्थायी रूपमा बन्द गर्ने, सवारी साधन संचालनमा जोरबिजोर नियम लागू गर्ने लगायत समावेश छन्।

तत्काल के के गर्ने?

  • वायु प्रदूषणको उच्चतम जोखिमबाट सजग हुन जनचेतना मोबाइल फोनको रिङटोनमा सचेतनामूलक सन्देश वन तथा वातावरण मन्त्रालयले तयार गरी प्रसारणको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई लेखि पठाउने, डढेलो नियन्त्रणका लागि सरोकारवाला निकायका संयन्त्रहरुलाई प्रभावकारी रुपमा परिचालन गर्ने।  
  • फोहोर तथा कृषि अवशेषजन्य पदार्थहरु नडढाउन सबैलाई अनुरोध गर्ने र त्यसको अनुगमन संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले गर्ने, सवारीसाधनमा प्रयोगहुने इन्धनको गुणस्तरको अनुगमन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत नेपाल गुणस्तर तथा नापतौल विभाग र नेपाल आयल निगमलाई निर्देशन दिने।
  • सवारी साधन छड्के अनुगमन तथा उद्योग/आयोजनाको अनुगमनलाई वातावरण विभागले थप तीव्रता दिने।
  • प्रदूषणको मात्रा बढेको समयमा/अवस्थामा घर बाहिर सकभर ननिस्किने, जिवाश्म इन्धनबाट संचालित सवारी साधनको प्रयोग कम गर्न, घर बाहिर निस्कनु परेमा मास्कको प्रयोग गर्न सर्वसाधारणमा आह्वान गर्ने।
  • हरियो स्टिकर नभएको सवारी साधनलाई बाटोमा संचालन गर्नमा रोक लगाउने कार्य उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्ने ।
  • राष्ट्रिय स्तरमा वायु प्रदूषण नियन्त्रणका लागि तर्जुमा हुन लागेको राष्ट्रिय कार्ययोजनामा दीर्घकालीन, मध्यकालीन र अल्पकालीन योजनाहरु समेत समावेश गर्ने।