बुटवल-गोरुसिंगे सडक ठेक्काको ९ महिनासम्म पूर्वतयारीकै अलमल, अर्को खण्ड डिजाइन रिभ्युमा

शुक्र गिरी
२०८१ चैत्र २४ गते ०९:३० | Apr 6, 2025
बुटवल-गोरुसिंगे सडक ठेक्काको ९ महिनासम्म पूर्वतयारीकै अलमल, अर्को खण्ड डिजाइन रिभ्युमा


काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटमा पूर्वतयारीविनाका योजना प्रस्ताव नगर्न विभागीय मन्त्रीहरुलाई आग्रह गर्दै आएका छन्। तर, उनकै क्षेत्रमा ९ महिनाअघि ठेक्का लगाइएको सडक आयोजनामा पूर्वतयारीको काम अझै सकिएको छैन।

Tata
GBIME
NLIC

बुटवल-गोरुसिंगे-चन्द्रौटा सडक विस्तार आयोजनाअन्तर्गत बुटवल-गोरुसिंगे खण्डको ठेक्का सम्झौता गत असार ११ गते गरिएको थियो। करिब ५० किलोमिटर सडकलाई दुई टुक्रा बनाएर ठेक्का सम्झौता गरिएकामा अहिलेसम्म रुख कटान, पोल हटाउने लगायत पूर्वतयारीको काम सकिएको छैन।

जबकि गत माघ ११ गते प्रधानमन्त्री केपीशर्मा ओलीले भर्चुअलरुपमा सडक विस्तारको शिलान्यास गरेका थिए। अर्थमन्त्री पौडेल सहरी विकासमन्त्री प्रकाशमान सिंह र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई साथै लिएर शिलान्यास स्थलमा पुगेका थिए।

ठेक्का सम्झौता गरेको कम्पनीलाई कार्यादेश दिएको साढे पाँच महिना बितिसक्दा पनि पूर्वतयारीको काम नसकिएको हो।निर्माण कम्पनीले कात्तिक ४ मा कार्यादेश पाएको थियो। सम्झौताअनुसार कार्यादेश पाएको तीन वर्षभित्र काम सक्नै पर्छ।

९ महिनामा के के काम भए?

ठेक्का सम्झौतापछिको ९ महिनामा बुटवल-गोरुसिंगे खण्डमा रूख कटान, माटो, ढुंगा, गिट्टी र बालुवा परीक्षणका लागि ल्याब निर्माण, ठूला मेसिन र सामग्री व्यवस्थापन तथा सडकको नापजाँच गर्ने काम सकिएको छ।

आयोजनाको बुटवल-गोरुसिंगे खण्डकी प्रमुख इन्जिनियर कुशलता न्यौपानेले पूर्वतयारीको काम सम्पन्न हुने चरणमा रहेको बताइन्। ‘यो आयोजनामा पूर्वतयारीको काम रुख कटान र पोल सार्ने हो। ७ हजार १०० भन्दा धेरै रुख काट्नु पर्ने र २५ सयभन्दा धेरै पोल सार्नुपर्नेमा रुख काट्ने काम ९९ प्रतिशत सम्पन्न भएको छ,’ उनले भनिन्।

बुटवलदेखि कपिलवस्तुको कोठी नदीसम्म १५ सय पोल सार्नका लागि १८ करोड रुपैयाँमा ठेक्का लगाइएको छ। यो ठेक्का विद्युत प्राधिकरणले लगाएको हो। कोठी नदीदेखि गोरुसिंगेसम्म ६८० वटा पोल सार्नुपर्ने छ। यसका लागि भने ठेक्का मूल्यांकनको काम भइरहेको छ।

न्यौपानेले पोल सार्न कुनै समस्या नरहेको बताइन। ‘सडकमा माटो फिल गरेपछि मात्रै पोल सार्न मिल्ने भएकाले विस्तारको काम सँगसँगै पोल सार्ने काम अगाडि बढ्छ। अब काम अगाडि बढाउन समस्या छैन। पोल सार्ने बाहेक पूर्वतयारीको सबैजसो काम सकिएको छ,’ उनले भनिन्।

पूर्वतयारीमा ढिलासुस्तीका कारण आयोजनामा हालसम्म ३ प्रतिशतभन्दा भौतिक प्रगति हुन सकेको छैन। १० वटा पुलको काम अगाडि बढाइएकामा ५ वटा पुलका लागि फाउन्डेसन राख्ने काम लगभग सकिएको छ।

१५ वटा कल्भर्टमा काम भइरहेको छ। ड्रेनका लागि स्ल्याब र प्रिकास्ट बनाउने काम पनि धमाधम भइरहेको छ। प्रिकास्ट करिब ४ किलोमिटर सडकलाई पुग्ने गरी तयार भएको न्यौपानेले बताइन।

सडकमा माटो हाल्ने र कटिङ गर्ने काम पनि भइरहेको छ। सडक विस्तारका लागि कपिलवस्तुतर्फ २८ र रुपन्देहीतर्फ ८९ वटा घरटहरा हटाउनुपर्नेमा २० प्रतिशत अझै हटाइएको छैन।

न्यौपानेले साइट पूरै क्लियर नभए पनि निर्माण व्यवसायीलाई अन्य आयोजनामा जस्तो काम गर्न बाधा नरहेको दाबी गरिन्। अहिले दुई खण्डमा ३०० जना हाराहारी कामदार परिचालन गरिएको छ। आयोजनामा यो वर्षका लागि ३ अर्ब रुपैयाँ बजेट छ।

बुटवल-गोरुसिंगेसम्मको ५० किलोमिटर सडक २५/२५ किलोमिटर गरेर ठेक्का लगाइएको हो। पहिलो खण्डको ठेक्का ७ अर्ब ८९ करोड ४३ लाख र दोस्रो खण्डको ठेक्का ५ अर्ब ६६ करोड २२ लाख रुपैयाँमा चिनियाँ कम्पनी शान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र आशिष निर्माण सेवा जेभीले पाएका हुन्।

गोरुसिंगे-चन्द्रौटाको डिजाइन रिभ्यु हुँदै

आयोजनाअन्तर्गत गोरुसिंगे-चन्द्रौटा १९ किलोमिटर सडक पनि विस्तार गर्नुपर्छ। तर, यो खण्डको डिजाइनले अहिलेसम्म अन्तिम रुप पाएकै छैन।

सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाकी सिनियर डिभिजिनल इन्जिनियर राधिका प्रजापति श्रेष्ठले डिजाइन रिभ्यु भइरहेको जानकारी दिइन। ‘हामीले डिजाइनको काम अन्तिम चरणमा पुर्‍याएका छौं। अहिले विभागले रिभ्यु गरिरहेको छ,’ उनले भनिन्, ‘विभागको तर्फबाट रिभ्यु सकिएपछि नोअब्जेक्सनका लागि विश्व बैंकमा पठाउँछौं। उताबाट कुनै सुझाव आए त्यसलाई सम्बोधन गर्ने गरी डिजाइन स्वीकृत हुन्छ।’

बुटवल-गोरुसिंगे-चन्द्रौटा सडक आयोजना विश्व बैंकको ऋण सहयोगमा विस्तार गर्न लागिएको हो।

सिनियर डिभिजिनल इन्जिनियर श्रेष्ठले डिजाइन एक महिनाभित्र स्वीकृत हुने बताइन। ‘हामी यो आर्थिक वर्षमा नै गोरुसिंगे-चन्द्रौटा खण्ड ठेक्का लगाउने तयारी गरेका छौं,’ उनले भनिन्, ‘त्यसैले एक महिनाभित्र डिजाइन स्वीकृत हुनेछ।’

केही स्थानहरुमा एकतर्फीरुपमा मात्रै सडक विस्तार गर्ने गरी डिजाइन बनाइएको छ। सामान्यतया सडकको बीचबाट दायाँबायाँ २५/२५ मिटर जग्गा छुट्याएर विस्तार गर्ने गरिएकामा यो खण्डका कतिपय ठाउँमा एकपटि नै ५० मिटर जग्गा लिएर विस्तार गर्ने गरी डिजाइन बनेको श्रेष्ठले जानकारी दिइन्।

सडक बस्ती क्षेत्रमा ६ लेन र वन तथा ग्रामीण क्षेत्रमा ४ लेनको हुनेछ। यो खण्डमा दुई वटा ठूला र ६ वटा साना पुल बनाउनुपर्ने छ। यो खण्डमा २ ठाउँमा पैदल यात्रीका लागि र एक ठाउँमा सवारीसाधनका लागि अण्डरपास बनाउने भनिएको छ।

बुटवल-गोरुसिंगे-चन्द्रौटा सडकमा गाडी गुडाउन मिल्ने ६ वटा र पैदल यात्रुका लागि १२ वटा अण्डर पास तथा ११ वटा आकाशे पुल बनाउने भनिएको छ। यस्तै वन्यजन्तु वारपार गर्ने ठाउँमा १९ वटा अण्डर पास बनाइने छ।