
सुनको बजारमूल्यमा आएको ऐतिहासिक बढोत्तरीले संसारभरका लगानीकर्ताको ध्यान खिचेको छ। नेपाली बजारमा गत बिहीबार कारोबार मूल्य बढेर प्रति तोला १ लाख ८० हजार ३ सय रुपैयाँको रेकर्ड नै बन्यो। भनिन्छ स्टक मार्केटका लगानीकर्ता जब जब लगानी सुरक्षित गर्न सेयरबाहेकको अर्को क्षेत्र खोज्छन् लगानी सुनतर्फ आकर्षित हुन्छन्, बजारमूल्य मूल्य बढ्छ। जे होस् सुन यस्तो धातु हो जसलाई खरिद गरेकाहरुले मूल्यमा आएका उतारचढाव चनाखो भएर हेर्छन्।
प्राचीनकालदेखि नै सुनलाई गरगहनाको लागि प्रयोग हुने सौन्दर्य प्रसाधनको रूपमा मात्र नलिइ मौद्रिक वस्तुका रूपमा पनि प्रयोग हुँदै आएको छ। सुन गहनाका लागि मात्रै होइन, दरिलो सम्पत्ति हो। जसलाई चाहेका बखत धितो राख्न वा बेच्न कुनै साइत कुर्नु पर्दैन। घरमा राख्दा चोरी हुने र हराउने डर हुनेका लागि बैंकहरुले लकर व्यवस्था गरेका छन्। त्यसैले सुन नगद जत्तिकै झट्ट चाहिएका बेला खनखाँचो टार्न दरिलो सम्पत्ति हो।
नेपालको सन्दर्भमा इतिहास हेर्दा लिच्छविकालमा राजा मानदेवले पहिलोपटक स्वर्ण मुद्रा प्रचलनमा ल्याएको मानिन्छ। त्यसपछिका मल्ल राजाहरुले पनि यसलाई निरन्तरता दिए। विशेषगरि प्रताप मल्लको राज्यकालमा स्वर्ण मुद्रा प्रचुर रूपमा उपयोग हुन्थ्यो। पृथ्वीनारायण शाहदेखि रणबहादुर शाहसम्मका शाहवंशीय राजाहरूले पनि स्वर्ण मुद्रा उपयोगमा ल्याएका थिए। त्यसपछि भने विशेष पर्वमा सुनका असर्फीको प्रयोग हुँदै आएको छ।
बजार मूल्य वा महंगाइअनुसार मूल्य समायोजन भइरहने हुनाले सुनलाई स्थिर मौद्रिक वस्तुका रूपमा लिइन्छ। समयकालसँगै कागजी मुद्रा प्रचलनमा आए पनि यसको समर्थन मूल्यको रूपमा र आपतकालीन कोषको रूपमा केन्द्रीय बैंकहरूले सुन सञ्चित गर्ने गरेका छन्।
सन् १९७५ पछि यो प्रचलन अनिवार्य नभए पनि अहिले पनि अमेरिकाको फेडरल रिजर्भ बैंकसहित विकसित र उदीयमान अर्थतन्त्र हुने धेरै मुलुकका केन्द्रीय बैंकहरूले सुनको सञ्चितिलाई महत्त्वका साथ लागू गरेका छन्।
विश्वमा सुनको सञ्चितिको सबैभन्दा बढी (करिब ५० प्रतिशत) हिस्सा गरगहनाको रूपमा कारोबार र प्रयोगमा छ। साथै बढीमा २० प्रतिशत विभिन्न देशका केन्द्रीय बैंकहरुसँग छ भने बाँकी ३० प्रतिशत औद्योगिक तथा चिकित्सा क्षेत्रमा प्रयोग भएको छ।

किन बढिरहन्छ मूल्य?
सुनको सबभन्दा पुरानो आधिकारिक मूल्य सन् १७१७ मा ब्रिटेनको बैंक अफ इङल्यान्डले तोकेको प्रति औंस ४.२५ पाउन्ड मानिन्छ। जुन भाउ अहिले २३०० पाउन्ड अर्थात् ३००० डलर माथि उक्लेको छ। यद्यपि प्राचीन समयदेखि मिश्र, रोमन साम्राज्य, चीन र भारतमा पनि सुनको आ-आफ्नो विनिमय दर प्रचलनमा थिए।
नेपालको सन्दर्भमा पनि ५० वर्ष पहिले सुनको भाउ प्रतितोला ८४० रुपैयाँमात्र कायम रहेको देखिन्छ। सुनको मनमोहक चम्किलो रङको आकर्षणले सभ्यताको आदिमकालदेखि आभूषणका रूपमा यसको प्रयोग हुँदै आएको छ। यो क्रम आज पर्यन्त पनि उत्तिकै बढ्दो रूपमा छ।
यसैले विश्वमा सुनको सञ्चितिको सबैभन्दा बढी (करिब ५० प्रतिशत) हिस्सा गरगहनाको रूपमा प्रयोग भएको छ। साथै बढीमा २० प्रतिशत विभिन्न देशका केन्द्रीय बैंकहरुसँग छ भने बाँकी ३० प्रतिशत हिस्सा औद्योगिक तथा चिकित्सा क्षेत्रमा प्रयोग भएको छ।
वर्ल्ड गोल्ड काउन्सिलका अनुसार अहिलेसम्म विश्वमा २ लाख ५ हजार मेट्रिक टन सुन उत्खनन भइसकेको छ। र, पृथ्वीको भित्री सतहमा अब ५० हजार टन मात्र उत्खनन बाँकी रहेको अनुमान छ। जसअनुसार २०/३० वर्षपछि किफायती प्रविधिमा उत्खनन गर्न मिल्ने सुन सकिनेछ।
यसैले भविष्यमा सुनको माग जति बढे पनि आपूर्ति भने कम हुने स्पष्ट छ। जसले सुनको मूल्य निरन्तर बढ्ने सहज अनुमान गर्न सकिन्छ। सुनको अन्तर्राष्ट्रिय मूल्य र नेपाली मूल्यमा यसको प्रभाव: नेपालमा कायम हुने सुनको मूल्यमा यसको अन्तर्राष्ट्रिय मूल्यको सबैभन्दा बढी प्रभाव रहेको हुन्छ। पछिल्लो ५० वर्षको सुनको अन्तर्राष्ट्रिय मूल्यलाई अध्ययन गर्दा निकै उतारचढाव आएको देखिन्छ।
भन्सार वृद्धि लगायत अमेरिकाको कडा आर्थिक नीतिहरूले विश्वको व्यापारिक जगतमा पुनः हलचल र अस्थिरता उत्पन्न भएसँगै सुनको मूल्य बढेर अहिलेसम्मकै ऐतिहासिक बन्दै अप्रिल ३ सम्म प्रति औंस ३१२५.३६ डलर पुगेको छ।

माथिको तथ्यांक अनुसार सन् १९८० मा सुनको मूल्यमा ऐतिहासिक वृद्धि भई ८५० डलर कायम भएको देखिन्छ। विशेषगरि त्यतिखेर रुसले अफगानिस्तानमा गरेको हमला र सत्ता फेरबदल, इरानमा भएको क्रान्तिले तेल आपूर्तिमा ल्याएको संकट, विश्व अर्थतन्त्रमा आएको आर्थिक मन्दी तथा अमेरिकाको उच्च मुद्रास्फीतिको कारण सुनको मूल्य चुलिएको थियो।
यसपछि भने विश्व अर्थतन्त्रमा आएको सुधारसँगै सुनको मूल्य क्रमशः ओरालो लाग्दै सन् १९९९ मा सुनको मूल्य प्रति औंस २५२ डलरमा झर्यो। बैंक अफ इङल्यान्ड लगायत विश्वका केन्द्रीय बैंकहरूले आफ्नो स्टक घटाउन सुन बिक्री गर्दा आपूर्ति अत्यधिक भई भाउ ओरालो लागेको थियो।
यसरी ओरालो लागेको मूल्य सन् २००० सम्ममा भने क्रमशः अझ वृद्धि हुँदै प्रतिऔंस १८९५ डलरसम्म पुग्यो। विश्वव्यापी आर्थिक संकट एवं धेरै बैंकहरू दिवालिया भएको कारण सुरक्षित लगानीको लागि सुनको आकर्षण बढ्यो।
विश्वका धेरै देशहरूले आर्थिक संकटबाट बच्न ठूलो मात्रामा पैसा छाप्न थालेकाले यसले निम्त्याएको मुद्रास्फीति अनि इटाली, ग्रिस लगायतका युरोपियन देशहरूमा देखिएको ऋण संकटले पनि सुनको मूल्य वृद्धि भएको थियो। अझ भारत, चीन, रूस लगायतका केन्द्रीय बैंकहरूले डलरको सट्टा सुन सञ्चित गर्न थालेपछि माग अझ चुलिएको थियो।
यही क्रममा २०२० मा कोरोना सुरु भएपछि भएको लकडाउनको लहरले उद्योग, व्यापार र सेवा क्षेत्र प्रभावित भई विश्वव्यापी आर्थिक संकट फेरि सुरु भयो। विश्वव्यापी रूपमा स्टक मार्केट ओरालो लाग्यो र सुरक्षित लगानीको लागि सुनको माग बढ्यो। विशेषगरी कमोडिटीज र गोल्ड एक्सचेञ्ज ट्रेडेड फण्डमा लगानी वृद्धि भएसँगै सुनको मूल्य प्रति औंस २०७५ सम्म बढेको थियो।
कोरोनाकालपछि भने विश्व अर्थतन्त्रमा आएको सुधारसँगै सुनको भाउ ओरालो लागेको थियो। तर, युक्रेन-रुस युद्ध, इजरायल र अरब देशहरू बीचको युद्ध र यसका कारण विश्व अर्थतन्त्रमा देखापरेको संकट, अमेरिका र चीन बीचको व्यापार युद्ध, अमेरिकी तथा युरोपियन बैंकहरूले गरेको ब्याजदरको कटौती आदि कारणले सुनको मूल्य क्रमिक रूपमा वृद्धि हुन थाल्यो।
यही क्रममा अमेरिकामा डोनाल्ड ट्रम्प पुनः राष्ट्रपतिमा निर्वाचित भएपछि उनले सुरु गरेको भन्सार वृद्धि लगायत कडा आर्थिक नीतिहरूले विश्वको व्यापारिक जगतमा पुनः हलचल र अस्थिरता उत्पन्न गराएपछि सुनको मूल्य बढेर अहिलेसम्मकै ऐतिहासिक बन्दै यो आलेख तयार गर्दा (२०२५ अप्रिल ३)सम्म प्रति औंस ३१२५.३६ डलरसम्म पुगेको छ।
के नेपालमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारको समानान्तर हुन्छ?
नेपालमा दैनिक कायम हुने सुनको दर यसको अन्तर्राष्ट्रिय मूल्यमै आधारित हुने भए पनि हाम्रो भन्सार दर, मुद्राको विनिमय दर र अन्य नीति नियमले पनि फरक पारेको हुन्छ। अब एकछिन विगत ३० वर्षमा नेपाली मुद्राको अमेरिकी डलरसँगको वार्षिक औसत (हाराहारी)विनिमय दरलाई अध्ययन गरौँ।
नेपाली मुद्रा अवमूल्यन हुनु र अमेरिकी डलर अत्यधिक महँगो हुनुले पनि नेपाली बजारमा सुनको मूल्य उल्लेखनीय वृद्धि हुने गरेको छ। किनभने सुन डलरमा खरिद बिक्री हुन्छ।

माथिको तथ्यांकअनुसार अमेरिकी डलरको अनुपातमा नेपाली रूपियाँ विगत ३० वर्षमा ३३२ प्रतिशतले, बिगत २० वर्षमा ८२.२ प्रतिशतले र बिगत १० वर्षमा ४१.३ प्रतिशतले अवमूल्यन भएको देखिन्छ।
पछिल्ला ३० वर्षमा नेपाली रुपैयाँ अवमूल्यन हुनुमा नेपालको बढ्दो व्यापार घाटा, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिवर्तनशील मौद्रिक नीति एवं आर्थिक नीति, अन्तर्राष्ट्रिय बजार शक्तिहरू र अन्तर्राष्ट्रिय आर्थिक अवस्थाहरूको प्रभाव परेको छ।
यसरी नेपाली मुद्रा अवमूल्यन हुनु र अमेरिकी डलर अत्यधिक महँगो हुनुले पनि नेपाली बजारमा सुनको मूल्य उल्लेखनीय वृद्धि हुने गरेको छ। किनभने सुन डलरमा खरिद बिक्री हुन्छ। नेपालमा डलर तिरेर आयात गरिन्छ। अब विगत २० वर्षको सुनको अन्तर्राष्ट्रिय औसत मूल्य र नेपाली औसत मूल्यलाई एकछिन अवलोकन गरौं।
१० वर्षको मूल्यको आधारमा भन्ने हो भने सुनको अन्तर्राष्ट्रिय मूल्यवृद्धिभन्दा नेपाली बजारको मूल्यवृद्धि दुई गुणाले बढेको पाइन्छ। यसो हुनुमा नेपाली मुद्राको निरन्तरको अवमूल्यन र नेपालमा पछिल्लो दशकमा लगाइएको ८ देखि २० प्रतिशतसम्मको महँगो भन्सार शुल्क जिम्मेवार छ।

माथिको तथ्यांकअनुसार सुनको अन्तर्राष्ट्रिय मूल्य २० वर्षमा प्रति औंस ४०९.२ डलरबाट २३८२.६७ डलर पुगेको देखिन्छ। जुन ४८२ प्रतिशतको वृद्धि हो। अर्कोतिर नेपाली बजार मूल्य २० वर्षमा प्रति तोला ११,४३० बाट १,५५,२५० रुपैयाँ पुगेको देखिन्छ, जुन १२५८ प्रतिशतको वृद्धि हो।
जसअनुसार २० वर्षमा सुनको अन्तर्राष्ट्रिय मूल्यवृद्धिभन्दा नेपाली बजारको मूल्यवृद्धि साढे दुई गुणाले बढी भएको देखिन्छ। विगत १० वर्षको मूल्यको आधारमा भन्ने हो भने सुनको अन्तर्राष्ट्रिय मूल्यवृद्धिभन्दा नेपाली बजारको मूल्यवृद्धि दुई गुणाले बढेको पाइन्छ। यसो हुनुमा नेपाली मुद्राको निरन्तरको अवमूल्यन र नेपालमा पछिल्लो दशकमा लगाइएको ८ देखि २० प्रतिशतसम्मको महँगो भन्सार शुल्क जिम्मेवार छ।
साथै नेपाल राष्ट्र बैंकको ‘सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि २०६८ अनुसार आयात र बिक्री गर्दा बैंक र व्यवसायीले राख्न पाउने नाफा मार्जिनले १ प्रतिशतको हाराहारीमा मूल्यवृद्धिलाई सघाएको देखिन्छ।
आगामी १० वर्षमा मूल्यवृद्धि जारी रहेमा ३ लाख रुपैयाँ प्रति तोला, सामान्य अवस्थामा २ लाख ५० हजार वा घट्ने क्रम जारी रहेमा १ लाख ५० हजार रुपैयाँ प्रतितोलासम्म पुग्न सक्ने अनुमान गर्न सकिन्छ।

आगामी १० वर्षमा मूल्य कति पुग्ला?
विज्ञहरूका अनुसार आगामी १० वर्षमा यदि सुनको मूल्यवृद्धि निरन्तर रहेमा प्रति औंस मूल्य ५००० डलरसम्म पुग्न सक्नेछ। यदि सामान्य अवस्था कायम रहेमा हालको मूल्य स्थिर रही आगामी १० वर्षमा ३५०० डलरसम्म पुग्न सक्नेछ। अथवा विश्वको अर्थतन्त्र सुधारउन्मुख भएमा वा सन् १९९९ मा जस्तो केन्द्रीय बैंकहरूले आफ्नो स्टक घटाउन सुन बिक्री गर्ने योजना बनाएमा यसको मूल्य २००० डलर सम्ममा घट्न सक्नेछ।
नेपालको परिप्रेक्ष्यमा अन्तर्राष्ट्रिय मूल्य, भन्सार दर र विनिमय दरले प्रभाव पार्ने हुँदा आगामी १० वर्षमा मूल्यवृद्धि जारी रहेमा सुन ३ लाख रुपैयाँ प्रति तोला, सामान्य अवस्थामा २ लाख ५० हजार वा घट्ने क्रम जारी रहेमा १ लाख ५० हजार रुपैयाँ प्रतितोलासम्म पुग्न सक्ने अनुमान गर्न सकिन्छ।
नेपालमा सुनको भाउ केवल अन्तर्राष्ट्रिय मूल्यमा मात्र आधारित नभई विदेशी मुद्रा विशेषगरि डलरसँगको सटही दर र परिवर्तन भइरहने भन्सार दर एवं यससँग सम्बन्धित नीतिनियममा पनि आधारित हुन्छ। यसैले सुनको अन्तर्राष्ट्रिय मूल्य कदाचित कम भए पनि नेपाली मुद्राको बढ्दो अवमूल्यनको कारण नेपालमा भने यसले खासै ठूलो असर गर्दैन। जसले गर्दा लामो समयका लागि गरिने सुनको लगानी धेरै हदसम्म जोखिममुक्त छ।
(सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष शाक्य सुनचाँदी दरभाउ निर्धारण समितिका सभापति पनि हुन्)