
काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आइपीओमा लगानीकर्ताले आवेदन दिन पाउने न्यूनतम १० कित्ताको सीमा हेरफेर गर्ने भएको छ।
धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधनका लागि बनेको अध्ययन समितिको सुझावका आधारमा सेबोनले १० कित्ते नीति हेरफेर गर्ने भएको हो। समितिले १० कित्ते नीति पुनरावलोकन गर्नुपर्ने निष्कर्ष निकालेको छ।
कम्पनीले कुल निष्कासन गर्ने आइपीओको १० प्रतिशत मात्रै १० कित्ताका दरले बिक्री गर्न पाउने र बाँकी रहेको सेयरमा न्यूनतम् ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था लागू गर्नेबारे छलफल भइरहेको सेबोन स्रोतले बतायो।
‘सेबोनले १० कित्ते नीतिमा पुनरावलोकन गर्नुपर्ने देखेको छ। बजारको जोखिम बिर्सिएर आइपीओमा ओइरो लाग्न थालेपछि सेबोनले यसलाई हेरफेर गर्नुपर्ने निष्कर्ष निकालेको हो,’ स्रोतले भन्यो, ‘त्यसैले अहिले १० कित्ते नीतिको व्यवस्थामा हेरफेरका लागि विभिन्न विकल्पमाथि छलफल भइरहेको छ। कम्पनीले निष्कासन गर्ने कुल आइपीओको १० प्रतिशतमा मात्रै १०/१० कित्ताका दरले आवेदन दिन पाउने र बाँकीमा ५० कित्ताभन्दा कमका लागि आवेदन दिन नपाउने प्रावधान राख्नुपर्नेकुरा भइरहेको छ।’
कम्पनीले जारी पुँजीको न्यूनतम १० देखि अधिकतम ४९ प्रतिशतसम्म आइपीओ निष्कासन गर्न सक्ने व्यवस्था धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ ले गरेको छ। सेबोनले नियमावली संशोधनका लागि समिति गठन गरेर तीन महिनादेखि अध्ययन गरिरहेको छ।
सेयर बजारको संरचना खासगरी कोभिडपछि व्यापक फेरबदल भएको छ। न्यूनतम १० कित्ताका लागि आवेदन दिन पाउने व्यवस्थाका कारण लगानीकर्ताको संख्या उल्लेख्यरुपमा बढेको छ। जसले गर्दा कम्पनीको आइपीओमा २० गुणाभन्दा धेरै आवेदन पर्ने गरेको छ।
डिम्याट खाता संख्या अहिले ६६ लाख ७४ हजार पुगेको छ। ‘मेरो सेयर’ रजिस्टर्ड संख्या ५७ लाख ३५ हजार छ। तीमध्ये ३९ लाख १७ हजार ‘मेरो सेयर’ प्रयोगकर्ता हुन्।
कम्पनीको आइपीओमा १९/२० लाखको हाराहारीमा आवेदन पर्ने गरेको छ। केही समयअघि आइपीओ निष्कासन गरेको ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा २० लाख ५६ हजार, क्रेस्ट माइक्रोलाइफको आइपीओमा १९ लाख ५५ हजार र नेपाल माइक्रोलाइफ इन्स्योरेन्सको आइपीओमा १९ लाख २ हजारले आवेदन भरेका थिए।
अत्यधिक आवेदनका कारण अधिकांशको हात खाली हुने गरेको छ। ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ चैत १२ गते बाँडफाँड गरिएकामा १७ लाख ६९८ को हात खाली भएको थियो।
१०० रुपैयाँ अंकित मूल्यमा किनेको सेयरको मूल्य दोस्रो बजारको पहिलो कारोबारमै तीन गुणासम्म पुग्ने भएका कारण उच्च संख्यामा आवेदन पर्ने गरेको हो।
अहिले दोस्रो बजारमा सक्रिय सेयर लगानीकर्ताको संख्या २३ लाख पुगेको नेप्सेको तथ्यांक छ। दुई वर्षअघि यस्तो संख्या १५ लाख ३५ हजार थियो। दोस्रो बजारमा सक्रिय सबैजसो लगानीकर्ता आइपीओ भरेरै आएका हुन्।
बिजनेस विनाका कम्पनीको आइपीओमा समेत १० कित्ते नीतिले लगानीकर्तालाई आकर्षित गरेको सेबोनको बुझाइ छ। बजारको दायरा विस्तार गर्न तत्कालीन अध्यक्ष रेवतबहादुर कार्कीले २०७५ मा १० कित्ते नीति ल्याएका थिए।
‘प्राथमिक बजारमा लगानीकर्ताको उल्लेख्य सहभागिता बढ्नुको मुख्य कारण सेबोनले लिएको नीति नै हो। तर, अब १० कित्ते नीति सान्दर्भिक छैन,’ सेबोनका एक उच्च अधिकृतले भने, ‘बजारमा विभिन्न प्रकारका जोखिम बढ्दै गएका छन्। जोखिमयुक्त बजारमा सधैं नीतिगत सहजताले मात्रै हुँदैन भन्ने हाम्रो बुझाइ छ।’
अहिले बुक बिल्डिङ विधिमार्फत आइपीओ निष्कासन गर्ने कम्पनीका लागि मात्रै ५० कित्ताको सीमा छ। बुक बिल्डिङको आइपीओमा लगानीकर्ताले ५० कित्ताभन्दा कम सेयर खरिदका लागि आवेदन दिन पाउँदैनन्। प्रिमियम र अंकित मूल्यमा सेयर बिक्री गर्ने कम्पनीहरुको आइपीओमा भने १० कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था छ।
१० कित्ते नीति हटाउँदा आइपीओ बेचेर सेयर बजारबाट बाहिरिने संख्या केही कम हुने सेबोनका अधिकारीहरुको बुझाइ छ। ‘अहिले आइपीओ सूचीकृत भएर कारोबारमा आएको केही दिनमै बेचेर सेयर बजारबाट बाहिरिने प्रवृत्ति छ। ठूलो रकम बाहिरिंदा सेयर बजार स्ट्रेसमा पर्ने गरेको देखिन्छ। ५० कित्ताका लागि आवेदन दिने व्यवस्थाले आवेदक कम हुने र उनीहरु तत्कालै बजारबाट बाहिरिंदैनन् भन्ने हाम्रो बुझाइ छ,’ सेबोनका ती अधिकृतले भने।