अर्थतन्त्रमै प्रभाव पार्ने लाइफलाइन सडक धमाधम तयार हुँदै, यस्तो छ कामको अवस्था

शुक्र गिरी
२०८१ चैत्र १७ गते २१:१४ | Mar 30, 2025
अर्थतन्त्रमै प्रभाव पार्ने लाइफलाइन सडक धमाधम तयार हुँदै, यस्तो छ कामको अवस्था


काठमाडौं। आम नागरिकको जीवन र अर्थतन्त्रमै प्रभाव पार्ने ठूला सडक आयोजनाको कामले पछिल्लो समय रफ्तार लिएको छ।

Tata
GBIME
NLIC

निर्माण कम्पनीको लापरबाही, पोल सार्ने काममा ढिलाइ, वनले समयमै रुख काट्न स्वीकृति नदिनुलगायतले कछुवाको गतिमा काम भएका आयोजनाले पछिल्लो समय लय समातेका हुन्।

नागढुंगा-मुग्लिन, मुग्लिन-पोखरा र नारायणगढ-बुटवल सडकमा अहिले यात्रुले अनुभव गर्ने गरी काम भएको छ। धुलो र हिंलोले आजित यात्रुले अहिले धेरै ठाउँमा सहजरुपमा यात्रा गर्न पाइरहेका छन्।

देशको लाइफलाइनका रुपमा रहेका यी तीन सडकका धेरै स्थानमा कालोपत्रेको काम सकिएको छ। केही स्थानमा कालोपत्रेका लागि आवश्यक आधार तयार भइरहेको छ।

खासगरी वर्षायाममा यात्रुले विगतका वर्षमा जस्तो सास्ती झेल्न नपरोस् भनेर धेरैजसो काम असारसम्म गरिसक्ने गरी तीव्रता दिइएको सम्बन्धित सडक आयोजनाहरुले बताएका छन्।

मुग्लिन-पोखरा तयार हुँदै

मुग्लिन-पोखरा सडकको पूर्वी खण्ड अहिले डेढ घण्टामा पार गर्न सकिने अवस्था बनेको छ।

भत्काएर काम सुस्त हुँदा कम्तिमा साढे तीन घण्टासम्म लाग्ने गरेकामा अधिकांश ठाउँमा कालोपेत्रे भएकाले यात्रुलाई ओहोरदोहोर गर्न अहिले सहज भएको हो। डुम्रेदेखि आँबुखैरेनीसम्म कतै पनि डिस्टर्ब छैन।

४१.४५ किलोमिटर लामो यो खण्डमा दुवैतर्फ गरी चार लेन सडक ७४ किलोमिटर कालोपत्रे भएको छ। बाँकी सडक असारसम्म कालोपत्रे गर्ने गरी काम भइरहेको आयोजनाका इन्जिनियर विष्णु पाण्डेले बताए।

‘पूर्वी खण्डमा असार मसान्तसम्म सबै सक्छौं। अहिले त्यही अनुसार काम भइरहेको छ,’ उनले भने, ‘हामीलाई काम गर्न कुनै प्रकारको अवरोध छैन। निर्माण कम्पनीले कामलाई तीव्रता दिएको छ। कालोपत्रे गर्न सवारी आवागमन रोक्नुपर्ने अवस्था नभए त असारसम्म कुर्नैपर्ने थिएन।’

उनका अनुसार दुईतर्फीरुपमा गरेर दमौली बजार, डुम्रे, बिमलनगर लगायत क्षेत्रमा ९ किलोमिटर कालोपत्रे गर्न बाँकी रहेकामा अब बेस हाल्ने तयारी छ। यो खण्डमा प्राय: पुल निर्माण भइसकेका छन्। महादेवटार पुलको निर्माण भने अर्को वर्ष मात्रै सकिनेछ। 

यही सडकको पश्चिम खण्डमा ३३ किलोमिटर कालोपत्रे भएको छ। सडक एकतर्फीरुपमा दुई लेन कालोपत्रे गरिएको हो। आयोजनाका पश्चिम खण्ड प्रमुख कृष्णबहादुर कुँवरले कालोपत्रे गर्ने काम धमाधम भइरहेको बताए।

‘तनहुँ खण्डमा एकतर्फीरुपमा दुई लेन सडक कालोपत्रे गर्ने काम करिब-करिब सकिएको छ। अब डेढ किलोमिटर मात्रै बाँकी छ,’ उनले भने, ‘सेती नदी पुलसम्म एकतर्फी कालोपत्रे लगभग सकिएको छ। एकतर्फी कालोपत्रे गर्ने काम अब तालचोक क्षेत्रमा बाँकी छ। त्यस क्षेत्रको ४ किलोमिटरमा एकतर्फी कालोपत्रे वैशाखसम्म सकिन्छ।’

एकतर्फीरुपमा कालोपत्रे गर्ने काम अन्तिम अवस्थामा पुगेकाले पोखरादेखि जामुनेसम्मको सडक डेढ घण्टामा पार हुने कुँवरले बताए।

उनका अनुसार सबबेस तयार पार्ने र नाली हाल्ने काम भइरहेको छ। पश्चिम खण्डमा साना चारवटा पुल बनाउनुपर्नेमा अब एउटा मात्र बाँकी छ। सेती नदीमा पुल निर्माणका लागि फाउन्डेसन बनाउने काम जेठ अगाडि सक्ने तयारी छ। पुल तयार गर्न भने अझै एक वर्ष लाग्छ।

बुटवल-नारायणगढ सडकमा एकतर्फी कालोपत्रे असारसम्म

नारायणगढ-बुटवल सडकको स्तरोन्नतिको काम पनि अहिले धमाधम भइरहेको छ। दाउन्ने क्षेत्रको १४ किलोमिटर बाहेक बाँकी ९९ किलोमिटर सडक असारसम्म एकतर्फीरुपमा कालोपत्रे गरिसक्ने आयोजनाले लक्ष्य छ।

पूर्वीखण्डमा पर्ने गैंडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर सडकमध्ये ४८ किलोमिटर एकतर्फीरुपमा कालोपत्रे भएको आयोजनाको यो खण्डकी प्रमुख अनुक्षा घिमिरेले जानकारी दिइन्।

सडक धमाधम कालोपत्रे भइरहेकाले यात्रा सहज बन्दै गएको छ। भत्काएर काम नगर्दा नारायणगढदेखि बुटवलसम्म यात्रा गर्न ६ घण्टासम्म लाग्ने गरेकामा अहिले साढे तीन घण्टामा छोट्टिएको घिमिरेले बताइन्।

‘हामीले आगामी वर्षासम्म दाउन्ने क्षेत्रमाबाहेक पूरै सडक एकतर्फीरुपमा दुई लेन कालोपत्रे गरिसक्ने गरी काम गरिरहेका छौं,’ उनले भनिन्, ‘अहिले त्यही अनुसार बेस तयार पार्ने लगायत काम तीब्रता साथ अगाडि बढेको छ। निर्माण कम्पनीलाई काम गर्न कुनै समस्या छैन।’

दाउन्नेमा पूर्वी खण्डको ४ किलोमिटर र पश्चिम खण्डको १० किलोमिटर सडक भने अहिले कालोपत्रे हुन सक्ने अवस्थामा छैन। ‘यो खण्ड पहाडको खोंचमा छ। सडक साँघुरो छ। जहाँ काम गर्न एकदम कठिन छ,’ घिमिरेले भनिन्, ‘बजार क्षेत्रमा केही हदसम्म काम गर्न सकिने अवस्था छ। त्यहा काम गर्छौं। अप्ठेरो भएको स्थानमा ढिला हुन्छ।’

पश्चिम खण्डतर्फ दाउन्नेदेखि बुटवलसम्मको ४८ किलोमिटरमध्ये ३३ किलोमिटर सडक एकतर्फीरुपमा कालोपत्रे गरिएको छ।

पश्चिम खण्डका प्रमुख शशांक मिश्रले दाउन्नेमा पर्ने १० किलोमिटर बाहेक बाँकी ५ किलोमिटरमा एकतर्फी कालोपत्रेको काम असारसम्म सकिने बताए। उनका अनुसार यो खण्डमा अहिले मासिक ३ प्रतिशतका दरले प्रगति भइरहेको छ। यो खण्डमा अहिलेसम्म ६२ प्रतिशत काम भएको छ।

नागढुंगा-मुग्लिन कालोपत्रे

नागढुंगा-मुग्लिन सडक विस्तारको काम तीन खण्डमा भइरहेको छ। आयोजनाको पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाका अनुसार नागढुंगा-नौबिसे खण्डमा ८ किलोमिटर सडक कालोपत्रे गर्ने काम भइरहेको छ।

यो खण्डको सडक सर्भिस लेनबाहेक दुई लेन, तीन लेन र चार लेनको हुनेछ। खानीखोला र नौबिसे बजारमा ४ लेनको हुनेछ। खत्रीपौवाबाट नौबिसेसम्म अबको एक हप्ताभित्र कालोपत्रे सडकमा यात्रा गर्न पाइने गरी काम भइरहेको ओझाले बताए।

उनका अनुसार अर्को ४ किलोमिटर सडकमा असार मसान्तसम्म कालोपत्रेको काम सक्ने तयारी छ। यो खण्डमा अहिलेसम्म ६९ प्रतिशत भौतिक प्रगति भएको छ।

नौबिसेदेखि मलेखुसम्मको दोस्रो खण्डमा पर्ने ४३ किलोमिटरमध्ये अहिलेसम्म ७ किलोमिटर सडक दुईतर्फीरुपमा कालोपत्रे भइसकेको छ।

यो खण्डमा महादेवश्वरदेखि घाटबेसीसम्म असारसम्म १६ किलोमिटर सडक कालोपत्रे गर्ने योजना छ। खैयरघाटी भन्ने स्थान साँघुरो र पोखरे भन्ने ठाउँमा भिर रहेकाले यो वर्ष काम सुरु हुने छैन।

यो खण्डमा दुईवटा पुल निर्माण गर्नुपर्नेमा खत्रीपौवामा गडर हाल्ने काम भइरहेको छ भने अर्को पुलको काम असारसम्म सक्ने योजना छ। पुल ढलान गर्ने काम सकिएको छ। यो खण्डमा लगभग १५० वटा पोल सार्न बाँकी छ। यसका लागि ठेक्का लागिसकेको छ।

आयोजनाका पश्चिम खण्डको काम भने केही सुस्त छ। पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार तेस्रो खण्डमा अहिलेसम्म २१ प्रतिशत प्रगति भएको छ। ‘अहिलेसम्म ४ किलोमिटर सडक दुबैतर्फ कालोपत्रे भएको छ। रमाइलो डाँडा र कुरिनटार क्षेत्रमा पर्ने सडक कालोपत्र भैसकेको छ,’ उनले भने, ‘यो असारसम्म १६ किलोमिटर सडक कालोपत्र गर्ने तयारी छ। ठाँउ हेरेर कतै तीन लेन, कतै ४ लेन र कतै ६ लेन सडक कालोपत्रे हुन्छ।’

निर्माण कम्पनीले असारसम्म ४८ प्रतिशत भौतिक प्रगति गर्ने लक्ष्य राखेको उनले बताए। ‘हाम्रोमा ६ वटा पुल बनाउनुपर्नेमा ४ वटा असारसम्म निर्माण भइसक्छन्। यस्तै कल्भर्ट हाल्ने काम पनि भइरहेको छ,’ उनले भने।

मलेखुदेखि कुरिनटारसम्मको सडकमा पहरा काट्ने काम भइरहेको छ। सँगै नाला बनाउने काम पनि चलिरहेको छ।

आयोजनामा रुख कटान, पोल सार्ने काम र मुआब्जाको विवाद छैन। ‘समस्या समयमा नसुल्झिंदा आयोजनामा सोचे जति प्रगति हुन सकेको थिएन। तर यो वर्षदेखि काममा राम्रो प्रगति छ। निर्माण कम्पनीले राम्रोसँग काम गरेमा अब कुनै समस्या छैन,’ उनले भने।