
काठमाडौं । राज्य व्यवस्था समितिमा सांसदहरुले गत शुक्रबार तीनकुनेमा भएको प्रदर्शनमा सरकार चुकेको जिकिर गरेका छन्। आज गृहमन्त्री रमेश लेखक सामु सांसदहरुले सरकारले पर्याप्त तयारी नगरेको आरोप लगाएका हुन्।
सांसद सर्वेन्द्रनाथ शुक्लले विमानस्थल नजिकै प्रदर्शन गर्न दिनै नहुने भन्दै प्रश्न गरेका थिइ।
उनले भने, ‘यस्तो ठाउँ दिनै नहुने। भविष्यमा नदिइयोस्।’
उनले राजावादी समूहको नाममा आक्रमणकारीहरु जसरी प्रस्तुत भएका थिए त्यसलाई काउन्टर दिन नसकिएको बताए। ‘हामी जेन्तलमेन पुलिसमा गयौं,’ उनले भने।
यस्तै, सांसद चित्रबहादुर केसीले फागुन २५ गते नै ज्ञानेन्द्र शाह पोखराबाट फर्किँदा प्रदर्शनको रिहर्सल भएको बताए। उनले सरकारले सो प्रदर्शनलाई सामान्य रुपमा लिएकोले नियन्त्रणमा चुकेको बताए।
यस्तै, सांसद् प्रकाश अधिकारीले पनि सरकारले प्रदर्शनलाई गम्भीरतापूर्वक नलिएको आरोप लगाए।
‘कति सम्मको संयमता अपनाउन? प्रसाईंलाई किन छोडियो? यो संयमताको हद हो,’ उनले भने।
सांसद दुर्गा राईले भने समाजवादी मोर्चाले प्रदर्शन गरेकै दिनमा दुर्गा प्रसाईं समूहलाई पनि कार्यक्रम गर्न दिनु भूल भएको बताएका थिए। उनले प्रसाईं समूको प्रदर्शनमा सरकारको तयारी नपुगेको भन्दै छानबिन आयोग गठनको माग समेत गरे।
‘अहंकारले मुलुक चल्दैन। छानबिन आयोग गठन हुनु पर्छ। यो आवश्यक छ। सुरक्षाकर्मीको प्रतिवेदनले मात्र हुन्न,’ उनले भने।
यस्तै, सांसद सरिता प्रसाईंले पनि सरकारबाट कमजोरी भएको बताइन्। ‘सरकार सिरियस हुनुस्। अहिले मात्र होइन २००७ सालदेखि स्थिरता भएका बेलामा राष्ट्रिय र अन्तर्राष्ट्रिय चलखेल भएको देखिन्छ,’ उनले भनिन्।
चारतिरबाट सरकार घेराउमा रहेको भन्दै उनले जनताको निराशालाई आशामा बदल्नेतिर ध्यान दिनुपर्ने बताइन्।
सांसद हितराज पाण्डेले पनि प्रदर्शनका क्रममा सरकार र सुरक्षा निकाय चुकेको बताए।
‘सरकार र सुरक्षा निकाय के हेरेर बस्यो? पूर्व तयारी किन हुन सकेन? तीनकुने नै किन दिइएको हो?,’ उनको प्रश्न थियो।
पाण्डेले अराजक प्रदर्शनको मुख्य योजनाकार को हो? भन्दै फेरि प्रश्न गरे ‘राजावादी भनेर त भएन नि। दुर्गा प्रसाईलाई किन प्रकाउ गर्न सकिएन?’
राप्रपा सांसद बुद्धिमान तामाङले सरकारले भिड नियन्त्रण गर्न सावधानी नअपनाएको बताए। उनले राप्रपा नेताहरुलाई थुनामा राखिएको भन्दै उनीहरुलाई रिहा गर्नुपर्ने माग गरे।
एमाले सांसद रघुजी पन्तले भने छानबिन आयोग गठन हुन नहुने बताए।
‘हिसांत्मक आन्दोलनको छानबिनमा आयोग गठन गर्नु पर्दैन। यसमा प्रहरी पनि आयोग गठन गरे दिमोरलाइज हुन्छ। राजनीतिक खालको घटना होइन भने कुनै पनि हालतमा न्यायिक आयोग गर्नु हुँदैन। श्री ५ को सरकार भनेर विज्ञप्ति जारी गर्नेलाई कारबाही गर्नु पर्छ,’ उनले भने।
रायमाझी आयोगको प्रतिवेदन कार्यान्वयन नगरेकाले पूर्व राजा ज्ञानेन्द्र शाहले यस्तो घटना घटाएको उनको दाबी थियो।
‘अहिले सम्म किन ज्ञानेन्द्र को बयान नलिएको? पूर्व राजाको उक्साहटमा भएको सफ्ट कू हो,’ उनले भने।
सांसद अम्बिका बस्नेतले दुर्गा प्रसाईंलाई किन पक्राउ नगरिएको भन्दै प्रश्न गरिन्।
‘ उनको गाडी किन पन्चर गरिएन? किन पक्राउ गरिएन? त्यस्तो मान्छेलाई हामी खोज्दै छौं भन्नु सरकारको कमजोरी भयो,’ उनले भनिन्।
यस्तै, सांसद हृदयराम थानीले गुप्तचारबारे प्रश्न गरे। ‘देशको इन्टेलिजेन्स कहाँ गयो? त्यो सबैलाई एउटै ठाउँमा राखेर हामीले सूचना लिन नसकेको हो? के कारणले छोडियो दुर्गालाई? सबै कुरालाई मध्य नजर नगरेर अघि बढने भने झन अप्ठेरो पर्छ,’ उनले भने।
उनले पनि छानबिन आयोग गठन हुनुपर्ने माग राखे।