
पञ्जाव किंग्सले लखनउ सुपर जायन्टलाई हराएको छ। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा पञ्जावले लखनउमाथि ८ विकेटको दर्विलो जित निकालेको हो।
लखनउस्थित अटल बिहारी बाजपेयी स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनायो। लखनउका लागि निकोलस पुरनले सर्वाधिक ४४ रन बनाउँदा आयुष बडोनीले ४१, ऐडन मार्क्रमले २८ तथा अब्दुल समदले २७ रन बनाए।
बलिङतर्फ पञ्जावका अश्रदीप सिंहले सर्वाधिक ३ विकेट लिँदा लकी फर्ग्युसन, ग्लेन म्याक्सवेल, मार्को जेनसन र युजवेन्द्र चहलले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको पञ्जावले १६.२ ओभरमा २ विकेट गुमाएर सहजै लक्ष्य भेट्टायो।
पञ्जावका लागि प्रभशिमरन सिंहले सर्वाधिक ६९ रन बनाउँदा ४४ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै, श्रेयस ऐय्यर ५२ र नेहल वधेरा ४३ रनमा अविजित रहे।
बलिङतर्फ लखनउका दिग्वेस राठीले २ विकेट लिए। आईपीएलमा लगातार दोस्रो खेल जितेको पञ्जाव ४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने ३ खेल खेल्दा दोस्रो हार ब्यहोरेको लखनउ २ अंकसहित छैटौं स्थानमा छ। लखनउले यसअघि सनराइजर्स हैदराबादलाई हराउँदा दिल्ली क्यापिल्टससँग पराजित भएको थियो। अर्कोतर्फ पञ्जावले पहिलो खेलमा गुजरातलाई हराएको थियो।