पोखराबाट अपहरित अमेरिकी पर्यटकको हेटौंडामा उद्धार, ३ लाख युरो फिरौती माग्ने पक्राउ

बिजमाण्डू
२०८१ चैत्र १३ गते २१:३९ | Mar 26, 2025
पोखराबाट अपहरित अमेरिकी पर्यटकको हेटौंडामा उद्धार, ३ लाख युरो फिरौती माग्ने पक्राउ


काठमाडौं। मुस्ताङ घुम्नका लागि नेपाल आएर पोखराको लेकसाइडस्थित एक होटलमा बसेका बेला अपहरित ७० वर्षीया एक अमेरिकी राहदानीवाहक पर्यटकलाई प्रहरीले हेटौंडा-१९ नेवारपानीबाट सकुशल छुटाएको छ।

Tata
GBIME
NLIC

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखराबाट उनी गत सोमबार अपहरित भएको सूचना काठमाडौंस्थित अमेरिकी राजदूतावासले मंगलबार दिएको थियो। अपहरणकर्ताले ती पर्यटकलाई बन्धक बनाइ ३ लाख यूरो फिरौती माग गरेका थिए।

उक्त सूचनाका आधारमा तत्काल सुरु गरिएको अनुसन्धान पश्चात् केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा उनलाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

घटनामा संलग्नता आरोपमा नुवाकोट बेलकोटगढी- ४ की ३७ वर्षीया एक महिला पक्राउ परेकी छन्। अपहरण तथा शरीर बन्धक कसुरमा उनीमाथि मुद्दा चलाउन कास्की जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।