काठमाडौंको बुढानीलकण्ठमा ३ अर्बको अनलाइन जुवा र क्रिप्टो कारोबार, ११ जना भारतीय पक्राउ

बिजमाण्डू
२०८१ चैत्र १३ गते १९:२४ | Mar 26, 2025
काठमाडौंको बुढानीलकण्ठमा ३ अर्बको अनलाइन जुवा र क्रिप्टो कारोबार, ११ जना भारतीय पक्राउ


काठमाडौं। करिब ३ अर्बको अनलाइन जुवा र अभौतिक मुद्रा (क्रिप्टो) कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंको बुढानीलकण्ठबाट ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

Tata
GBIME
NLIC

२ अर्ब ९६ लाख रुपैयाँभन्दा बढी रकमको अनलाइन जुवा खेल्ने/खेलाउने तथा क्रिप्टो कारोबार गरेको आरोपमा प्रहरीले मंगलबार साँझ बुढानीलकण्ठ नगरपालिका-३ देउला टोलस्थित एक घरबाट ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।

उनीहरु घर भाडामा लिएर अनलाइन जुवा खेल्ने खेलाउने र क्रिप्टो कारोबारमा संलग्न भएको प्रहरीको भनाइ छ। प्रहरीले उनीहरुलाई अनलाइन जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको बताएको छ।

प्रारम्भिक अनुसन्धान गर्दा निजहरुले २ अर्ब रुपैयाँभन्दा बढी रकमको कारोबार हुनेगरी अनलाइन जुवा खेल्ने/खेलाउने कार्य गरेको र ९६ लाख ३३ हजार भन्दा बढी रकम बराबरको क्रिप्टो कारोबार गरेको देखिन आएको बताएको छ। प्रहरीले थप अनुसन्धानका लागि उनीहरुलाई हहिरासतमा राख्न काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद पाएको छ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीका ३४ थान मोबाइल, ५ थान ल्यापटप, हिसाबकिताबको अभिलेख राखिएको ४ थान नोट बुक, भारतीय बैंक खाताको १४ थान चेकबुक, भारतीय बैंकको २७ थान एटीएम कार्ड र ४० थान सिमकार्ड बरामद गरेको छ।

पक्राउ पर्ने सबै राजस्थानका हुन्। प्रहरीका अनुसार उनीहरु १९ देखि २८ वर्ष उमेरका हुन्।