
विराटनगर । उद्योग मन्त्री दामोदर भण्डारीको आडभरोसामा फागुन २५ गतेदेखि कार्टेलिङ गरेर मूल्यवृद्धि गरिरहेका स्टिल उद्योगले मंगलबारदेखि बिक्री बन्द गरेका छन्।
फलामे छडको बिक्री मूल्य किलोमा ४ देखि ५ रुपैयाँ बढाउने उद्देश्यका साथ उद्योगीले आआफ्ना बिक्री प्रबन्धकलाई बिक्री बन्दको निर्देशन दिएका हुन्।
फागुन २० यता फलामे छडको मूल्य किलोमा १२ रुपैयाँले वृद्धि भइसकेको छ। सोमबारसम्म पूर्वका स्टिल उद्योगमा फलामे छडको कारखानामूल्य भ्याटबाहेक किलोको ९० देखि ९२ रुपैयाँसम्म छ।
उद्योगीले अब किलोको ९४ देखि ९६ सम्म हुने गरि कम्तीमा किलोको ४ रुपैयाँले मूल्यवृद्धि गर्ने योजनाका साथ बिक्री बन्द गरेका हुन्।
सोमबारसम्म किलोको भ्याटबाहेक ९० मा बिक्री गरेको सुनसरीको पशुपति आइरनले हार्डवेयर पसललाई सोमबारको दरभाउमा अब फलामे छड दिन नसकिने बताएको छ।
उक्त उद्योगले अबको बिक्री किलोको ९४ का दरमा हुने तर आइतबार मात्र बिक्री खुल्ने हुँदा आज पैसा जम्मा गरेर आइतबार छड उठाउन सकिने जानकारी गराएको छ।
स्टिल उद्योगले फागुन २० यता कार्टेलिङका उद्देश्यले मंगलबार तेस्रो बिक्री बन्द गरेका हुन्। यसअघि सबैभन्दा पहिले फागुन २० गते पहिलोपटक बिक्री बन्द गरिएको थियो। फागुन २५ गते देशभरिका सबै उद्योगले एकैपटक बिक्री खोलेका थिए र किलोको ४ रुपैयाँका दरले मूल्यवृद्धि गरेका थिए।
यसपछि सबै स्टिल उद्योगले फागुन २६ गते साँझदेखि दोस्रो पटक बिक्री बन्द गरे र एकै पटक चैत ३ गते फेरि किलोको ४ रुपैयाँ मूल्यवृद्धि गरेर बिक्री खोले।
यसैबिच चैत ३ साँझदेखि औद्योगिक क्षेत्रमा रात्रिकालीन १२ घन्टे लोडसेडिङ सुरु भयो। स्टिल उद्योगीले चैत ४ गते लोडसेडिङको कारण देखाउँदै तेस्रो पटक किलोमा २ देखि ३ रुपैयाँले मूल्यवृद्धि गरे।
फागुन २६ मा बन्द भएर चैत ३ मा खोलेको बिक्रीलाई उद्योगीले १० दिनपछि चैत १२ मा बन्द गरेका हुन्।
कार्टेलिङ गरेर हरेक हप्ता मूल्यवृद्धि गरिरहेका स्टिल उद्योगीले मुख्य कच्चा पदार्थ स्क्रयापको मूल्य भने मिलेमतो गरेर घटाएका छन्। किलोको ५८ मा स्क्रयाप खरिद गरिरहेका उद्योगीले उद्योगमन्त्री भण्डारीसँग भएको चैत ५ को बैठकपछि ३ रुपैयाँ घटाएर ५५ कायम गरेका छन्।

यसैबिच अर्को मुख्य कच्चा पदार्थ स्पन्ज आइरनको मूल्य पनि आठ महिनायता सबैभन्दा सस्तो भएको छ। भन्सार विभागले उपलब्ध गराएको तथ्यांकअनुसार गत फागुन महिनामा किलोको ४३ रुपैयाँ ९६ पैसामा स्पन्ज आइरनको आयात गरिएको थियो।
चालु आर्थिक वर्षका यसअघिका महिनामा यति सस्तो मूल्यमा स्पन्ज आइरनको आयात गरिएको थिएन।
यसरी कच्चा पदार्थको मूल्य सस्तो हुँदै जाने तर तयारी वस्तु महँगो हुँदै जाने उल्टो प्रक्रिया मुलुकका स्टिल उद्योगमा मात्र देखिएको छ। कार्टेलिङका कारणले नै यस्तो सम्भव भएको हो।
सिमेन्ट तथा स्टिल उद्योगीले कार्टेलिङ गरेर मनपरी रूपमा मूल्यवृद्धि गरेका विषयमा सर्वत्र विरोध भएपछि मन्त्री भण्डारीले चैत ५ मा संसदीय समितिको बैठक बोलाएका थिए।
बैठकमा निर्माण व्यवसायी, हार्डवेयर व्यवसायी, उपभोक्तावादी संघसंस्था लगायत सबैले कार्टेलिङमा मूल्यवृद्धि गरिएको भन्दै आक्रोश र विरोध व्यक्त गरेका थिए।
तर, मन्त्री भण्डारीले आफू उद्योगमन्त्री भएको हुँदा उद्योग र उद्योगीलाई नै साथ दिने उत्तर फर्काउँदै सबैलाई निराश बनाएका थिए। यसपछि कार्टेलिङका लागि स्टिल र सिमेन्ट उद्योगीको मनोबल अझ बढिरहेको छ।