
वाग्मती। लामो समयदेखि बन्द रहेको सरकारी कम्पनी हेटौंडा सिमेन्ट उद्योगले यही चैतको तेस्रो सातादेखि पुनःउत्पादन सुरु गर्ने भएको छ। उद्योगका मेसिनको मर्मत सम्भार सकिएको, उद्योगका लागि तत्काल चाहिने कच्चा पदार्थ सुनिश्चितता र कर्मचारी काम गर्न सहमत भएपछि उत्पादन सुरु गर्ने तयारी भइरहेको उद्योगका निमित्त महाप्रबन्धक इञ्जिनियर नवीनकुमार कर्णले बताए।
‘मेसिन मर्मत सम्भार गर्न केही समय लाग्यो,’ उनले भने, ‘स्थापनाकालमा जडान गरिएको मेसिन हो, यसलाई विस्थापित गरेर नयाँ जडान गर्नपुर्ने देखिन्छ तर आर्थिक समस्याका कारण तत्काल त्यो सम्भव नदेखिएपछि मर्मत गराएका छौं।’ यसबाट तत्काल सिमेन्ट उत्पादन गर्न सकिने उनको भनाइ छ।
उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ केही मौज्दात रहेको र केही आउने सुनिश्चितता भइसकेको उनले बताए। ‘अहिले हामीसँग करिब एक सय टन कोइला छ,’ उनले भने, ‘अरु कोइला भोलिदेखि आउने भएको छ। त्यसैले कच्चा पदार्थको खासै समस्या हुँदैन।’
कोइलाको पुरानो भुक्तानी हुन नसकेकाले कम्पनीसँग कुराकानी गरी उद्योग सञ्चालन गर्न कोइला पठाउन तयार भएको जानकारी उनले दिए। उद्योग सञ्चालनका लागि विद्युत् समस्या पनि समाधान हुने उनले बताए।
‘उद्योग चलाउन नियमित विद्युत् चाहिन्छ, नेपाल विद्युत् प्राधिकरणसँग कुराकानी भएको छ,’ उनले भने, ‘प्राधिकरणले नियमित विद्युत् दिने प्रतिबद्धता जनाएको छ, अब त्यो समस्या नरहला।’ उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मत गर्नुपर्ने भएकाले गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो।
उद्योग बन्द हुँदा कर्मचारीले विगत तीन महिनादेखि तलब भत्ता पाउन सकेका छैनन्। २०३३ सालमा हेटौंडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो। तर, आर्थिक समस्या लगायतका कारण उद्योग बन्द भएको थियो।
एक पछि अर्काे समस्यासँग जुध्दै आएको हेटौंडा सिमेन्ट उद्योगले पछिल्लो पटक २०८१ भदौ महिनाको तेस्रो साताबाट पुनः उत्पादन थालेको थियो। दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन क्षमताको उद्योग आर्थिक समस्याले थलिएको छ। रासस