
काठमाडौं । सरकारले इलेक्ट्रिक चुरोट (भेप) आयातमा रोक लगाएपछि तस्कर मार्फत नेपालमा भित्रिने गरेको छ। बेलाबखतमा प्रहरी र राजस्वको टोलीले भेप बरामद गर्ने गरेको छ।
सुनमा गरे जस्तै विमानस्थल प्रयोग गरेर नेपालमा भेप आएको घटना बाहिरिएका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुबईबाट आएको ४१० थान भेप बरामद गरेपछि तस्करीको शैली बाहिरिएको हो।
शनिबार फ्लाई दुबईको उडानबाट आएका दुई यात्रुको साथमा र बाहिर भेप लिन बसेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
दुबईबाट अरुले नै केही रकमको लोभ देखाएर वैदेशिक रोजगारीमा गएका यात्रुलाई भेप बोकाएर पठाएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि पार्किङ क्षेत्रमा प्रहरीले ल्याउने र लिने चार जनालाई नियन्त्रणमा लिएको थियो।
पक्राउ पर्नेहरूमा योगेन्द्र दाहाल, सलिना बर्देवा, सौगात क्षेत्री, सुरेन्द्र घिसिङ रहेका छन्। योगेन्द्र र सलिना भने दुबईबाट फर्किएका थिए।
‘उनीहरुलाई केही रकमको लोभमा भेप बोकाएर पठाएको देखिन्छ। हामीले सूचना पाएपछि नियन्त्रणमा लिएका हौं,’ काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी काजी कुमार आचार्यले भने।
प्रहरीले बरामद गरेको भेपको अनुमानित मूल्य प्रति गोटा २ हजार रुपैयाँ बराबरको रहेको छ।
राजस्व अनुसन्धान विभागले गत पुसमा ललितपुरको इमाडोलमा स्टोर गरि राखेको ८० हजार भन्दा बढी भेप बरामद गरेको थियो। त्यस्तै, बुटवल र मुस्ताङमा पनि ठुलो संख्यामा भेप बरामद भएको छ।