घरजग्गा कारोबार बढेको देखिएपनि गहिरो क्राइसिस, कहाँ फेल खायो सरकारी तथ्यांक र यथार्थ?

उन्नत सापकोटा
२०८१ चैत्र ११ गते १२:०० | Mar 24, 2025
घरजग्गा कारोबार बढेको देखिएपनि गहिरो क्राइसिस, कहाँ फेल खायो सरकारी तथ्यांक र यथार्थ?


काठमाडौं। चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा दुई वर्षअघि (आव २०७९/८०)को सोही अवधिको तुलनामा घरजग्गा कारोबार १८ प्रतिशतले बढेको छ। घरजग्गा कारोबारबाट उठ्ने राजस्व २१ प्रतिशतले बढेको छ।

Tata
GBIME
NLIC

तर कारोबारको सरकारी तथ्यांक र बजारको यथार्थ फिटिक्कै मिल्दैन। सरकारी तथ्यांकले घरजग्गा बजारमा सुधारको संकेत गरेपनि फिल्डमा रौनक पटक्कै छैन। घरजग्गा व्यवसायी चिन्ताले तड्पिरहेका छन्।

फिल्डमा रौनकता नदेखिंदा त्यसको सोझो असर अर्थतन्त्रमा परिरहेको छ। घरजग्गामा मोटो पुँजी अड्किंदा अर्थतन्त्र चलायमान बन्न सकेको छैन।

घरजग्गा कारोबारमा देखिएको संकुचनकै कारण एकपछि अर्को सहकारी संस्थादेखि ठूला बैंक तथा वित्तीय संस्थामा असर परिरहेको छ। घरजग्गामा यसअघि खन्याइएको बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणदेखि चालु पुँजी कर्जासम्म कारोबारमा शिथिलताले फस्न पुगेको छ।

छिमेकी राष्ट्र चीनमा समेत घरजग्गा कारोबार ‘हाई ट्रान्जेक्सन डिप क्राइसिस’को शिकार भइरहेको छ। चीनको सांघाई, बेइजिङसहितका ठूला सहरमा घरजग्गाको मूल्यमा भइरहेको अचाक्ली वृद्धि, कर्जा डिफल्टदेखि नयाँ पुस्तामा देखिएको सांस्कृतिक परिवर्तनलाई त्यहाँको घरजग्गामा गहिरो मन्दी ल्याउने कारणका रुपमा औंल्याइएको छ।

ती सहरहरूमा घरको मूल्य व्यक्तिको औसत वार्षिक आम्दानीभन्दा ४३ गुणा बढी पुगिसकेको छ। जसले हाउजिङ क्षेत्रमा ‘बबल’ देखिएको छ। यो जुनसुकै समयमा फुटेर अर्थतन्त्रमा थप असर पर्नसक्छ।

घरजग्गा व्यवसायी भेषराज लोहनी चीनको जस्तै अवस्था नेपालको हकमा नभएपनि यहाँका सहरहरूका घरजग्गाको मूल्य पनि चर्कै रहेको बताउँछन्।

काठमाडौं उपत्यका, चितवन, विराटनगर, भैरहवा लगायत ठूला सहरका घरजग्गाको मूल्य अत्यधिक हुँदा माग निकै खस्किएको लोहनीको बुझाइ छ। आम्दानीको अनुपातमा घरजग्गाको मूल्य अत्यधिक हुँदा किन्ने जनसंख्या एकदमै न्यून छ। जसका कारण घरजग्गा कारोबारको केन्द्र काठमाडौंलगायत ठूला सहरको व्यापार गहिरो मन्दीमा फसेको उनको भनाइ छ।

‘झापा, सुनसरी र रुपन्देहीमा अहिले पनि कारोबार बढिरहेकै छ। महँगो मूल्य भएका ठाउँहरूमा कारोबार कम भएको छ। यथार्थमा भन्नुपर्दा घरजग्गाको खरिदबिक्रीमा सुधार नै छैन। घरजग्गामा लगानी गर्ने उत्साह नै हराएको देखिन्छ,’ लोहनीले भने।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक हेर्ने हो भने काठमाडौं उपत्यकाभित्रका मालपोत कार्यालयहरूबाट महिनामा एक हजार लिखत पारित हुन छोडेकै धेरै भइसकेको छ। कारोबारका हिसाबले एकदमै ठूलो र घरजग्गा बजारमा प्रत्यक्ष प्रभाव पार्न सक्ने काठमाडौंभित्रका मालपोतमध्ये कतिपयले महिनामा ३०० कारोबार गराउन पाइरहेका छैनन्।

घरजग्गामा सबैभन्दा ‘प्रिमियम’ मालपोत कार्यालय डिल्लीबजारलाई महिनामा २०० नयाँ कारोबार गराउनै धौधौ छ। फागुनमा डिल्लीबजारले १६० नयाँ कारोबार गराउँदा टोखाले १५१ र मनमैजुले २५२ मात्रै लिखत पारित गराएका छन्।

अर्का घरजग्गा व्यवसायी ओमबहादुर घर्तीले पनि घरजग्गाको कारोबार बढेको देखेका छैनन्। हरहिसाब सेटलमेन्ट गराउने क्रम बढेकाले सरकारी तथ्यांकमा घरजग्गा कारोबारको संख्या बढी देखिए पनि फिल्डको अवस्था एकदमै संकटग्रस्त रहेको उनले बताए।

‘सहकारीमा डुबेको पुँजी उल्टै बचतकर्तासँग थप पैसा लिएर सहकारीकै जग्गा भिडाउने काम भइरहेको छ। कतिपय ग्राहकहरूले आफ्ना व्यापार व्यवसाय नचल्दा लिएको ऋण चुक्ता गर्नसमेत घरजग्गा कम मोलमा बेचिरहेका छन्। काठमाडौं, चितवनसहितका भेगमा यो प्रवृत्ति बढ्दै गएको छ। यो भनेको रियल कारोबार होइन, परिस्थितिजन्य कारण तथ्यांकमा कारोबार बढेको देखिन्छ। तर फिल्डमा एकदमै गाह्रो छ अवस्था,’ घर्तीले भने।

घरजग्गा एजेन्टहरूको संस्था नेपाल रियल इस्टेट अर्गनाइजेसनका महासचिव विनोद सुवेदी पनि रियल कारोबार हुनै नसकेको बताउँछन्। नयाँ कारोबारको साटो सहकारीका सेटलमेन्टदेखि लिलाम भएका प्रोपर्टी व्यवस्थापन धेरै भइरहेको उनले बताए।

‘सहकारीका बचतकर्ताले आफ्नो हिसाब मिलाउन सहकारीले अफर गरेका सम्पत्ति किनिरहेका छन्। बैंक तथा वित्तीय संस्थाले लिलाममा चढाएको आफ्नो प्रोपर्टी आफ्ना साथीभाइ वा अन्यको सहयोगमा किस्ता तिरेर लिलामी हुनबाट जोगाइरहेका छन्। कित्ताकाट खुलेपछि कारोबार बढेको जस्तो देखिएपनि घरजग्गाको यथार्थ कारोबारको संख्या एकदमै न्यून छ,’ सुवेदीले भने।

पछिल्लो समय अमेरिका, अष्ट्रेलियासहितका देश पुगेका नेपाली युवा विदेशमै सेटल हुन चाहिरहेका छन्। देशमा केही भएन भन्ने नकारात्मक मानसिकताका कारण विदेशमै सम्पत्ति जोड्न क्रम बढेकाले घरजग्गा बजारमा नयाँ माग सिर्जना हुन नसकेको लोहनीको बुझाइ छ।

‘देशमा केही भएन भन्नेहरू भविष्यप्रति पनि आशावादी देखिंदैनन्। राजनीतिकदेखि प्रशासनिक नेतृत्व नैराश्यता चिर्न गम्भीर देखिएन। जसका कारण विदेशमै सम्पत्ति जोड्ने क्रम बढ्दो छ,’ लोहनीले भने, ‘यसपालिको दसैंमा याद गर्नु भयो होला पहिला पहिला बालबच्चा विदेशबाट आउँथे। अब त आमा बुवालाई विदेश बोलाउने चलन एकदमै बढेको छ। बैंकहरूमा तरलता अधिक हुँदा र होम लोनका स्किम एकदमै सस्तो हुँदा पनि घरजग्गा बजार स्ट्रेसमा हुनुको कारण यो पनि हो।’

घरजग्गा खरिद गर्ने मुख्य स्रोतको रुपमा रेमिटेन्सलाई लिने गरिन्छ। वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै जाँदा रेमिटेन्सको वृद्धिदर भने घटेको छ। यो वर्ष ७ महिनामा रेमिटेन्स वृद्धिदर ७.३ प्रतिशत छ। पोहोर सात महिनामा यस्तो वृद्धिदर १८.८ प्रतिशत थियो।

जबकि पोहोरभन्दा यसपालि वैदेशिक रोजगारीमा जानेको संख्या ६३ हजार बढी छ। पोहोर ७ महिनामा ४ लाख २ हजार ४७७ युवा वैदेशिक रोजगारीमा गएकामा यसपालि त्यो संख्या ४ लाख ६५ हजार ५०८ छ। वैदेशिक रोजगारीमा जानेको संख्या १६ प्रतिशतले बढेको अवस्थामा रेमिटेन्सको वृद्धिदर ओरालो लाग्नुले युवाहरूले उतै लगानी गर्न थालेको भन्नेहरूलाई बल पुग्छ।