पोखरामा फेवा महोत्सवको तयारी सुरु, होटलमा पाहुनालाई २० प्रतिशत छुट दिने घोषणा

बिजमाण्डू
२०८१ चैत्र ४ गते १७:३२ | Mar 17, 2025
पोखरामा फेवा महोत्सवको तयारी सुरु, होटलमा पाहुनालाई २० प्रतिशत छुट दिने घोषणा


पोखरा। नयाँ वर्षको अवसरमा पोखराको पर्यटकीय क्षेत्र लेकसाइडका होटलहरुले पाहुनालाई विशेष छुट दिने भएका छन्। होटल संघ पोखराले यही चैत ३० गतेदेखि वैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको २० औं फेवा नव वर्ष महोत्सव २०८२ को तयारीका क्रममा छुटको घोषणा गरेको हो।

Tata
GBIME
NLIC

संघले सोमबार पत्रकार सम्मेलन गर्दै विभिन्न समिति र उपसमितिहरु गठन गरी महोत्सवको तयारी अगाडि बढाइएको जनाएको छ। संयोजक एवं संघका अध्यक्ष लक्ष्मण सुवेदीले महोत्सवमा अवसरमा संघ अन्तर्गतका सदस्य होटलमा रात बिताउने पाहुनालाई प्रचलित दररेटमा २० प्रतिशत छुट प्रदान गरिने घोषणा गरे।

यसैगरी संघले महोत्सवकै प्रचारका लागि हालै पूर्वी नेपालमा ‘जाउँ है पोखरा’ अभियान सम्पन्न गरेको र पश्चिममा पनि यस्तो अभियान छिटै संचालन गरिने जानकारी उनले गराए। जाउँ है पोखरा अभियान र फेवा नव वर्ष महोत्सव जस्ता कार्यक्रमकै कारण पोखरा आउने आन्तरिक पर्यटक हाल ४० प्रतिशत पुगेको तथ्यांक पनि उनले दिए। दुई दशक अघि यस्तो संख्या ३ प्रतिशत मात्र रहेको उनले स्मरण गराए।

उनका अनुसार पोखराका होटलमा अहिले पाहुनाको समग्र अकुपेन्सी दर ४० प्रतिशत हाराहारी छ। भारतीय पर्यटकको संख्या पनि उल्लेख्य छ। पोखराका १ हजार २ सय होटलमा ४० हजार विस्तारा रहेको र यहाँको होटल क्षेत्रमा मात्र ५ खर्ब रुपैयाँ हाराहारी लगानी रहेको संघको आकलन छ।

ड्यामसाइडदेखि खहरेसम्म सडकमा महोत्सव हुनेछ। संस्कृति संरक्षण र परम्परागत नेपाली खानाको प्रवर्धन गर्ने उद्देश्यसहित ‘पर्यटन, संस्कृति र खाना’ भन्ने नारासहित यो महोत्सव हुन लागेको संघका महासचिव राजेन्द्र ढकालले बताए। रैथाने र परम्परागत खानाको प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, मनोरञ्जन र खेलकूदका कार्यक्रम, पर्यटक दौड, पप कन्सर्ट, कृषि र हस्तकलाका सामग्रीको प्रर्दशनी र लोकदोहोरीका कार्यक्रम महोत्सवका प्रमुख आकर्षण रहने छन्।

पोखरा भ्रमण वर्ष २०२५ चल्दै गर्दा हुन लागेको महोत्सवले फेवातालको संरक्षण गर्दै आन्तरिक एवं बाह्य पर्यटन प्रवर्धनको पनि उद्देश्य राखेको संघले जनाएको छ। सांस्कृतिक झाँकीसहित अम्मटमा महोत्सवको उद्घाटन कार्यक्रम हुनेछ। महोत्सवलाई पोखरा महानगरपालिका, होटल संघ नेपाल, गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्डले सघाउने भएका छन्।

पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले फेवा महोत्सवले पोखराको पर्यटन प्रवर्धनमा टेवा पुग्ने भनाइ राखे।