
काठमाडौं। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले नक्सालस्थित नेपाल बाल मन्दिरको जग्गा लिज प्रकरणको फाइल प्रहरीमा फिर्ता पठाएको छ। कार्यालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)लाई चार बुँदे निर्देशनसहित पुनः अनुसन्धान गर्न फाइल फिर्ता पठाएको हो।
‘फेरि अनुसन्धान गर्नु भन्दै फाइल फिर्ता आएको छ,’ सीआइबीका एक उच्च अधिकृतले भने।
जिल्ला सरकारी वकिल कार्यालयले जग्गाको लिज अवधि, लिजको सम्पतिमा ऋण लिन पाउने नपाउने, सम्पति कर लगायत विषयमा पुनः अनुसन्धान गर्न भनेको छ।
बाल मन्दिरको जग्गा लिजमा दिइएको विषयलाई लिएर सीइआबीले गत वैशाखमा २० जनाविरुद् पक्राउ पुर्जी जारी गरेर अनुसन्धान थालेको थियो।
बाल बन्दिर संगठनका तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठ, उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ लगायत केही पक्राउ परेकामा बयान सकिएको दुई दिनपछि जिल्ला सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा रिहा गरेको थियो।
बाल मन्दिरको नाममा रहेको जग्गा सस्तो भाडामा व्यावसायिक प्रयोजनमा लिजमा दिइएको छ।