
काठमाडौं। भारतले रातीको समयमा बिजुली नदिने भएपछि नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ व्यवस्थापनका लागि दौडादौड गरिरहेका छन्।
उनी शुक्रबार स्यूचाटारको भार प्रेषण केन्द्रमा राती अबेरसम्म बसेर बिजुलीको लोड हेरेका थिए। कुलमान भारतले सूर्यास्तपछि बिजुली नदिएमा कसरी औद्योगिक क्षेत्रमा लोडसेडिङ कम गर्न र घरायसीलाई कुनै प्रभाव पर्न नदिन दिनरात खटिरहेका छन्।
उनी शनिबार सिन्धुपाल्चोकमा रहेको मध्य भोटेकोशी जलविद्युत आयोजनाको स्थलगत अध्ययनका लागि पुगेका थिए। १ सय २ मेगावाटको यो आयोजनाको सुरुङमा पानी हालेर परीक्षण गर्न खोज्दा चुहिएको थियो।
अहिले सुरुङ मर्मत र सुधारको काम भइरहेको छ। कुलमानले एक महिनाभित्र आयोजना निर्माण गरेर केन्द्रीय प्रसारण लाइनमा जोड्न निर्देशन दिए। ‘अहिले यो आयोजनाबाट ४० मेगावाट मात्रै बिजुली आउँछ। तर, यही ४० मेगावाट पनि कति महत्वपूर्ण छ भनेर बुझ्नु भएकै होला,’ उनले आयोजना प्रमुखलाई निर्देशन दिँदै भनेका थिए, ‘हामीले जुनसुकै हालतमा बिजुलीको व्यवस्थापन गर्नुपर्नेछ। यो हामी सबैको जिम्मेवारी हो भन्ने तपाईंहरुले बुझ्नु भएको होला।’

विहान ८ बजे काठमाडौंबाट निस्किएका कुलमान त्यही बिजुली जोड्ने प्रसारणलाइन निर्माणस्थल पनि पुगे। खिम्ती-बाह्रविसेदेखि एक किलोमिटर प्रसारणलाइन निर्माणको काम बाँकी छ। प्रसारणलाइन स्थलमा उनी साँझ पुगेका थिए।
कुलमानले त्यहाँ पनि एक महिनाभित्र प्रसारणलाइनको काम सकेर ४० मेगावाट केन्द्रीय ग्रीडमा जोड्ने वातावरण मिलाउन निर्देशन दिए। यो निर्देशन दिएपछि कुलमान आइतबार विहान ९ बजेको संचालक समिति बैठक भ्याउनका लागि रातीराती काठमाडौं आएका थिए।
उनी राती एक बजे काठमाडौं आइपुगे। तर, अचानक ऊर्जामन्त्री दीपक खड्काको सचिवालयबाट संचालक समिति बैठक स्थगित गर्न निर्देशन आयो। प्राधिकरणको संचालक समिति अध्यक्ष ऊर्जामन्त्री खड्कानै छन्। उनकै निर्देशनमा आइतबारका लागि संचालक समितिको बैठक डाकिएको थियो।
तर, अचानक किन बैठक स्थगित गरियो ? स्रोतका अनुसार संचालक समिति बैठकमा सदस्य सचिवका हिसाबले कुलमानले एजेण्डा पठाउनुपर्छ। उनले एक महिनाअघि नेपाल-भारत द्विपक्षीय विद्युत विनिमय समितिको निर्णयलाई पहिलो एजेण्डामा राखेका थिए। स्रोतका अनुसार यो निर्णय देखेपछि संचालक समिति बैठक रद्द गरिएको हो।
भारतको बिहार र उत्तराखण्डबाट सय मेगावाट बिजुली ल्याउँदा साढे १ प्रतिशत भाउ बढाउने निर्णय सो समितिबाट भएको थियो। त्यही निर्णयका बारेमा ऊर्जामन्त्री खड्काले कुलमानलाई स्पष्टीकरण सोधेका छन्। ऊर्जामन्त्री खड्काको सहमतिमा कुलमानले निर्णय गरेका थिए।
त्यो निर्णयका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जामन्त्री खड्कालाई प्रश्न गरेपछि हतारहतार कुलमानसँग स्पष्टीकरण सोधिएको थियो। स्रोतका अनुसार रातीको समयमा भारतबाट सय मेगावाट बिजुली ल्याउन सकिएमा औद्योगिक क्षेत्रमा लोडसेडिङ कम हुने भएकाले कुलमानले संचालक समितिको बैठकमा एजेण्डामा राखेका थिए। भारतमा भएको त्यो निर्णय प्राधिकरणको संचालक समिति बैठकबाट अनुमोदन भएर नियमन आयोग पठाउनुपर्छ।

‘कुलमानलाई लोडसेडिङ कम होस् भन्ने हुटहुटी छ। त्यही भएर उनी कहाँबाट बिजुली ल्याएर म्यानेज गर्न सकिन्छ भनेर भिडिरहेका छन्,’ ऊर्जा मन्त्रालयका एक कर्मचारीले भने, ‘तर देशमा लोडसेडिङ गरेर कसरी उनलाई असफल बनाउने भनेर राज्य संयन्त्र लागेको देखिन्छ।’
स्रोतका अनुसार कुलमानले सोलार आवर वाहेक पनि बिजुली उपलब्ध गराउन भारतका ऊर्जा सचिव पंकज अग्रवालसँग पनि टेलिफोनमा कुराकानी गरिसकेका छन्। स्रोतका अनुसार अग्रवालले केही सकारात्मक निर्णय आउनसक्ने जवाफ दिएका छन्। त्यस्तै उनले भारतको केन्द्रीय विद्युत प्राधिकरणका अध्यक्ष घनश्याम प्रसादसँग पनि कुराकानी गरेर सोलार आवर वाहेक पनि बिजुली दिने वातावरण मिलाइदिन आग्रह गरेका छन्।