
काठमाडौं। भारतले आइतबारदेखि ६५४ मेगावाट बिजुली सोलार आवर (बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म)मात्रै दिने भएको छ।
भारतबाट १२ घण्टा मात्रै बिजुली आउने भएपछि नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा रातभर लोडसेडिङ गर्ने निश्चितजस्तै देखिएको छ।
‘स्वदेशको उत्पादन ड्राइ सिजनका कारण निरन्तर घट्दो छ। अहिलेसम्म पिकआवरवाहेकमा भारतबाट बिजुली आइरहेकोले औद्योगिक क्षेत्रमा केही घण्टा मात्रै लोडसेडिङ गरेर व्यवस्थापन गर्दै आएका थियौं,’ प्राधिकरणका एक कर्मचारीले बिजमाण्डूसँग भने, ‘अब सोलार आवरमा मात्रै आउने भएपछि १२ घण्टा औद्योगिक क्षेत्रमा लोडसेडिङ हुने अवस्था आउँछ।’
भारतले पिक आवर (बेलुका ६ बजेदेखि १० बजेसम्म) बिजुली नदिएकाले प्राधिकरणले पिकआवरमा औद्योगिक क्षेत्रमा ४ घण्टा लोडसेडिङ गर्दै आएको छ।
प्राधिकरणका ती कर्मचारीका अनुसार औद्योगिक क्षेत्र मात्रै होइन, पछिल्लो समय भारतसँग भएको सहमतिमा सरकारले नै प्रश्न गरेपछि गार्हस्थ क्षेत्रमा पनि समस्या पर्ने अवस्था देखिएको छ।
एक महिनाअघि नेपाल-भारत द्विपक्षीय विद्युत विनिमय समितिको बैठकमा प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बिजुलीको भाउ १.५ प्रतिशत बढाउन सहमति गरेका थिए।
ऊर्जामन्त्री दीपक खड्काको मौखिक सहमतिमा भारतबाट किन्दा र नेपालबाट बेच्दा साढे १ प्रतिशत बढाउने सम्झौतामा घिसिङले हस्ताक्षर गरेका थिए। त्यही हस्ताक्षरका विषयमा सरकारले कुलमानसँग स्पष्टीकरण सोधेका छन्।
भारतसँगको सहमति प्राधिकरणको संचालक समितिबाट अनुमोदन गरी स्वीकृतिका लागि विद्युत नियमन आयोगमा पठाउनुपर्नेमा उल्टै स्पष्टीकरण सोधेपछि यो बिजुली समेत आउने अवस्था कम देखिएको छ।
प्राधिकरणका अनुसार पिकआवरमा बिहार र उत्तराखण्डबाट १३२ केभी प्रसारणलाइन हुँदै अपराह्न ४ बजेदेखि राति ९ बजेसम्म सय मेगावाट बिजुली ल्याउन सकिने अवस्था थियो। तर, सम्झौतालाई सरकारले नै विवादमा तानेपछि यो बिजुली आउने सम्भावना पनि कम भएर गएको छ। यो बिजुली पनि नआउँदा भने घरायसी क्षेत्रमा समेत लोडसेडिङको जोखिम हुनेछ।
यस्तै, प्राधिकरण र भारतको एनटीपीसी विद्युत व्यापार निगम लिमिटेड (एनभीभीएन) बीच हिउँदमा २३० मेगावाट विद्युत खरिदबारे सहमति भएको थियो।
तर, भारतको केन्द्रीय विद्युत प्राधिकरणले सहमतिलाई स्वीकृत गरेको छैन। जसकारण नेपाल आउने तय भएको थप बिजुली पनि अनिश्चित छ। यसले नेपालमा विद्युत संकट थप बढाउनेछ।