
काठमाडौं। फागुनमा घरजग्गा कारोबार थप खस्किएको छ। अघिल्लो महिना माघको तुलनामा फागुनमा घरजग्गा किनबेच र त्यसबाट उठ्ने राजस्वमा गिरावट देखिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले पटकपटक अर्थतन्त्रमा सुधार देखिंदै गएको दाबी गरिरहँदा घरजग्गा बजारले त्यसलाई निरन्तर चुनौती दिइरहेको छ।
दुई महिनाअघि कर, ब्याज, साँवासहित आफ्नो दायित्व फर्छ्यौटका लागि व्यवसायीहरुले मूल्य घटाएरै भए पनि आफ्ना सम्पत्ति बिक्रीमा चढाउदा पुसमा घरजग्गा कारोबारमा अस्वाभाविक उछाल देखिएको थियो। तर, त्यसपछि भने घरजग्गा बजार निरन्तर ओरालो गतिमा लागेको छ।
सरकारी तथ्यांकमा लिखत पारित बढी देखिएपछि सहरी क्षेत्रमा घरजग्गा बिक्नै नसकेकाले व्यवसायीहरु थप मर्कामा परिरहेको नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु घिमिरेले जानकारी दिए।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार फागुनमा देशभरका मालपोत कार्यालयहरुबाट ४६ हजार ६१ लिखत पारित भएको छ। जुन माघको तुलनामा ८ वटाले मात्रै कम हो। अघिल्लो वर्ष २०८०/८१ को फागुनमा देशभरका मालपोत कार्यालयहरुबाट ४९ हजार २८७ लिखत पारित भएको थियो। गत वर्षको माघमा लिखत पारित संख्या ४९ हजार २९० थियो।

त्यसैगरी, घरजग्गा किनबेचबाट सरकारले उठाउने राजस्वमा पनि झिनो ह्रास देखिएको छ। माघमा भन्दा फागुनमा १३ करोड रुपैयाँले राजस्व संकलन घटेको छ। फागुनमा देशभरका मालपोत कार्यालयहरुले ४ अर्ब १२ करोड रुपैयाँ राजस्व संकलन गरेको छन्। अघिल्लो महिना माघमा ४ अर्ब २५ करोड रुपैयाँ उठेको थियो। विभागको तथ्यांकअनुसार गत वर्षको फागुनमा ३ अर्ब ९५ करोड र माघमा ३ अर्ब ७२ करोड रुपैयाँ देशभरका मालपोतहरुले संकलन गरेका थिए।
फागुनमा पनि सुनसरीको इनरुवा मालपोतले नै सर्वाधिक घरजग्गा किनबेच गराएको छ। त्यहाँबाट फागुनमा १९४७ लिखत पारित भएको छ। यस्तै, भद्रपुरबाट १७१२, बेलबारीबाट १५७५, जनकपुरबाट १५४९, राजविराजबाट ११८७ लिखत पारित भएको छ।
काठमाडौं उपत्यकाको हकमा सबैभन्दा बढी किनबेच गराउने मालपोतमा भक्तपुर नै अघि देखिन्छ। भक्तपुर मालपोतले फागुनमा ९०८ लिखत पारित गरेको छ। त्यसपछि लगनखेल मालपोतले ८४०, कलंकीले ६२१, साँखुले ४६८, चाबहिलले ४६७, मनमैजुले २५२, डिल्लीबजारले १६०, टोखाले १५१ लिखत पारित गराएका छन्।
यस्तै, फागुनमा सबैभन्दा बढी राजस्व संकलन गर्नेमा लगनखेल अघि छ। लगनखेलले ३८ करोड रुपैयाँ राजस्व उठाएको छ। त्यसपछि भक्तपुरले २५ करोड ८७ लाख, डिल्लीबजारले २५ करोड ८१ लाख, कलंकीले २२ करोड ६० लाख र चाबहिलले २१ करोड ६८ लाख रुपैयाँ राजस्व संकलन गरेको विभागको तथ्यांकले देखाउँछ।
त्यसैगरी, रुपन्देही मालपोतले १५ करोड ७५ लाख, कास्कीले १४ करोड ५७ लाख, सिमराले १३ करोड १६ लाख, इनरुवाले १३ करोड, चितवनले १२ करोड रुपैयाँ राजस्व उठाएका छन्। विराटनगरले ११ करोड ३५ करोड उठाउँदा साँखुले १० करोड रुपैयाँ उठाएको छ।