
काठमाडौं। निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको जलाशय क्षेत्रअन्तर्गत भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण गर्न ठेक्का सम्झौता भएको छ।
आयोजनाको जलाशयका कारण डुबानमा पर्ने वानटाङ खोलामा करिब १३० मिटर लामो पक्की निर्माणका लागि सबैभन्दा कम बोलकबोल गर्ने सपना निर्माण सेवा प्रालिसँग बुधबार ठेक्का सम्झौता भएको हो। सम्झौता अनुसार निर्माण कम्पनीले नै पुलको डिजाइन गर्नेछ।
डिजाइन र निर्माणका लागि कम्पनीसँग भ्याटबाहेक २३ करोड ७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको हो। आयोजनाको प्रवर्धक तनहुँ हाइड्रोपावरका तर्फबाट प्रबन्ध सञ्चालक किरण कुमार श्रेष्ठ र सपना निर्माण सेवाका तर्फबाट प्रबन्ध सञ्चालक हरिप्रसाद ढकालले सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौतामा ३० महिनाभित्र पुल निर्माण गर्ने भनिएको छ।
पुल निर्माणका लागि गत असार १४ गते टेण्डर आह्वान गरिएकामा पाँचवटा निर्माण कम्पनीले प्रस्ताव पेस गरेका थिए।