
काठमाडौं। अमेरिकाका लागि भिसा अन्तर्वार्ताको मिति लिइसकेका एक विद्यार्थीका अभिभावक केही दिनअघि पुतलीसडकस्थित राइटपाथ कन्सल्टेन्सी पुग्छन्।
उनले कन्सल्टेन्सीका कर्मचारीलाई छोरालाई अमेरिका नपठाउने निर्णय सुनाउँछन्। साथै अमेरिकाको विकल्पमा अरु मुलुकमा अध्ययनका अवसरबारे सोधीखोजी गर्छन्।
छोरीलाई अध्ययनका लागि अमेरिका पठाउने तयारी गरेका अर्का अभिभावकले नयाँ वानेश्वरस्थित ग्रेस इन्टरनेसनल नामक कन्सल्टेन्सी पुगेर प्रोसेस ‘होल्ड’मा राख्न लगाए।
यी दुई प्रतिनिधि उदाहरण हुन्। पछिल्लो समय अभिभावक र विद्यार्थीले कन्सल्टेन्सी पुगेर अमेरिका जाने आफ्नो प्रोसेस ‘होल्ड’मा राख्न लगाउने क्रम बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिका कारण विद्यार्थी र अभिभावक हच्किन पुगेका हुन्।
ट्रम्पले गैरकानुनीरुपमा बसिरहेका आप्रवासीहरुलाई धमाधम फिर्ता गराउन थालेका छन्। त्यसमा नेपालीहरु पनि परेका छन्। अमेरिकाले फागुन २१ गते जहाज चार्टर्ड गरी ८ नेपालीलाई काठमाडौं ल्याएको थियो।
ट्रम्पले माघ ८ गते राष्ट्रपतिको जिम्मेवारी सम्हालेलगत्तै विभिन्न देशबाट हुने आयातमा कर बढाउनेदेखि आप्रवासीहरु कठोर हुने संकेत गरेका छन्। जसले गर्दा अध्ययनका लागि अमेरिका गएर उतै भविष्य बनाउन चाहने विद्यार्थीमा झस्का पसेको छ।
कन्सल्टेन्सी सञ्चालकहरु पनि ट्रम्पको नयाँ नीतिले विद्यार्थी र अभिभावक एकाएक तरंगित हुन पुगेको बताउँछन्।
‘अमेरिका पढ्न जाने इन्क्वेरी ५० प्रतिशतले घटेको छ,’ राइटपाथ करिअर काउन्सलिङका सञ्चालक फिलिप डिसीले भने, ‘यसअघि प्रोसेस अगाडि बढाउन लगाएकाहरुमध्ये कतिपयले केही समय कुरौं भन्न थालेका छन्। कतिपयले समय खेर फाल्नुभन्दा अर्को मुलुक जानु ठिक हुने भन्दै नयाँ प्रोसेस गराउन लगाइरहेका छन्।’
ग्रेस इन्टरनेसनलकी बानेश्वर ब्रान्च म्यानेजर रमला भण्डारीले पनि अमेरिकामा अब विद्यार्थीलाई सहज हुँदैन भनेर कतिपय अभिभावकले प्रक्रिया ‘होल्ड’ गर्न लगाएको जानकारी दिइन्।
‘आफ्ना छोराछोरीलाई अमेरिका पठाउन चाहने कतिपय अभिभावकहरु पछिल्लो समय अलि तनावमा देखिन्छन्। उहाँहरु केही समय होल्ड गरौं न भन्नुहुन्छ,’ भण्डारीले भनिन्, ‘अब के हुन्छ भनेर पनि सोध्नुहुन्छ।’

ट्रम्प आउनुअघि विद्यार्थीको पहिलो रोजाइमा अमेरिका थियो। कागजातको धेरै झन्झट नहुने र पढ्दै काम गर्न पाइने भन्दै विद्यार्थीहरु अमेरिकाप्रति आकर्षित भइरहेका थिए।
कन्सल्टेन्सी सञ्चालकहरु भने अध्ययनका लागि जान चाहनेहरु त्रसित हुनुपर्ने कारण नरहेको बताउँछन्।
‘ट्रम्प प्रशासनको कडाईले विद्यार्थी र अभिभावक अलि डराएको देखिन्छ। तर, विद्यार्थी सम्बन्धी नीतिमा कुनै परिवर्तन नभएकाले त्रसित हुनुपर्ने कारण छैन,’ डिसीले भने, ‘गैरकानुनीरुपमा बसेकालाई फिर्ता गर्नु स्वाभाविक हो। यसले विद्यार्थीलाई असर गर्दैन। बरु गैरकानुनीरुपमा बसेकालाई फिर्ता पठाउँदा विद्यार्थीलाई काम पाउन सहज हुन्छ।’
अर्को कन्सल्टेन्सी अल्फा बिटाका सञ्चालक द्विराज शर्मा पनि अध्ययनको उद्देश्यले जाने विद्यार्थीका लागि नीतिमा कुनै फेरबदल नभएकाले अन्योलमा रहन आवश्यक नभएको बताउँछन्।
‘विद्यार्थी र अभिभावक केही डराएको देखिन्छ। फाइनान्सियल्ली स्ट्रङ हुनेले चिन्ता लिनुपर्ने कारण छैन। मेन्टल्ली प्रिपेयर भए हुन्छ। न्युज रुमरको पछाडि लाग्न हुन्न,’ उनले भने, ‘अमेरिका पुग्ने वित्तिकै कलेज फेरेर पैसा कमाउनतिर लाग्ने सोच हुनेलाई गाह्रो हुने हो। पढ्नै जान चाहनेलाई समस्या हुँदैन।’
उनका अनुसार अमेरिकाले भिसामा कडाइ गरेको छैन, राम्रो मार्कसिट भएका विद्यार्थीको भिसा लागिरहेको छ। अमेरिकाले गैरकानुनी रुपमा बसेकाहरुलाई फर्काउन थालेपछि खासगरी तोकिएको समयभन्दा बढी काम गर्दै आएका विद्यार्थी पनि हच्किन पुगेका छन्।
अमेरिकामा अध्ययनका लागि जाने विद्यार्थीले सातामा २० घण्टा काम गर्न पाउँछन्। त्यसभन्दा बढी काम गर्नु गैरकानुनी मानिन्छ। तर, धेरैजसो नेपाली विद्यार्थीले काम पाएको अवस्थामा पैसाका लागि तोकिएको अवधिभन्दा बढी गर्ने गरेका छन्। उनीहरुले अहिले अमेरिकाले नेपाल फिर्ता गराइदिने भयमा धमाधम काम छोड्न थालेका छन्। यसले पनि जाने प्रक्रिया अगाडि बढाएका कतिपय विद्यार्थीले अहिले ‘वेट एण्ड सी’को नीति लिएका हुन्।

कमलपोखरीस्थित एईसीसी कन्सल्टेन्सीको काउन्सलर रक्षा शर्माले भने विद्यार्थीको चाप नघटेको बताइन्। ‘पढ्न जानेका लागि अमेरिका पहिलो नम्बर नै हो। हाम्रोमा विद्यार्थी घटेका छैनन्,’ शर्माले भनिन्, ‘हामीकहाँ आउने विद्यार्थीमध्ये अधिकांशले अमेरिकाकै लागि प्रोसेस गराइरहेका छन्।’
यस्तो छ एनओसी लिनेको तथ्यांक
ट्रम्पले माघ दोस्रो साताबाट सत्ता सम्हालेका कारण अमेरिका जाने विद्यार्थीको संख्या कुन रुपमा घट्यो भन्ने तथ्यांक आइसकेको छैन। यसका लागि केही महिना कुर्दा तस्वीर प्रष्ट हुन्छ।
शिक्षा मन्त्रालयका अनुसार यो आर्थिक वर्ष ७ महिनामा अमेरिका जानका लागि ८ हजार ३८ विद्यार्थीले नो अब्जेक्सन लेटर (एनओसी) छन्। गत वर्ष १२ महिनामा यो संख्या १६ हजार १६६ थियो।
बेलायत जाने विद्यार्थीको संख्या ह्वात्तै बढेको मन्त्रालयको तथ्यांकले देखाउँछ। गत वर्षभरिमा २७ हजार ४४२ विद्यार्थी बेलायत जान एनओसी लिएकामा यसपालि ७ महिनामै त्यसकै हाराहारी अर्थात २७ हजार ३५२ जनाले लिइसकेका छन्।
भिसा प्रक्रिया सहज रहेकाले पछिल्लो समय विद्यार्थीहरुको रोजाई बेलायत बन्न पुगेको कन्सल्टेन्सीका सञ्चालकहरु बताउँछन्।

‘भिसा पोलिसी राम्रो र परिवारका सदस्य लान पनि सजिलो रहेकाले बेलायततर्फ विद्यार्थीको फ्लो बढेको छ,’ राइटपाथका सञ्चालक डिसीले भने। ग्रेस इन्टरनेसनलकी भण्डारीले पनि अहिले बेलायत जाने बजारको ट्रेन्ड बढेको बताइन्। ‘युके जाने त अहिले ट्रेन्ड नै छ। मार्केट जता चलेको छ उतै ढल्कने विद्यार्थी पनि,’ उनले भनिन्।
क्यानडा जानेको संख्या ओरालो लागेको छ। गत वर्ष २६ हजार ६०५ जनाले क्यानडाका लागि एनओसी लिएकामा यस वर्ष ७ महिनामा त्यो संख्या जम्मा २ हजार २३६ छ। क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थी भर्नामा कडाइ गरेपछि त्यसको असर परेको हो।
अस्ट्रेलिया जानेको संख्या पनि घटेरहेको देखिन्छ। अस्ट्रेलिया जान २०७८/७९ मा ९० हजार र २०७९/८० मा ६८ हजार विद्यार्थीले एनओसी लिएकामा त्यो संख्या २०८०/८१ मा करिब ३० हजारमा सीमित भयो। यो वर्ष ७ महिनामा त १० हजार ९४१ जनाले मात्र अस्ट्रेलिया पढ्न एनओसी लिएका छन्।