
काठमाडौं। बीमा कम्पनीसँग क्षतिको भुक्तानी दाबी गर्न आफ्नै पसलमा आगजनी गरेको आरोपमा प्रहरीले पोखरामा एक जना व्यवसायीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको जगरनाथपुर-३ घर भइ पोखरा-२७ तालचोक बस्ने २८ वर्षीय रमेश शर्मा लोहार छन्।
पोखरा-८ न्युरोडमा रहेको कम्प्युटर लगायत इलेक्ट्रोनिक्स सामानको पसल शर्मा आइटी हबमा फागुन १६ गते साँझ आगलागी भएको थियो। घटनामा उक्त पसलका सामान डढेर नष्ट भएको थियो। साथै नजिकको सोलार ब्याट्रीको पसल श्यामा श्याम ट्रेडर्समा पनि क्षति पुगेको थियो। आगो निभाउन दमकल प्रयोग गरिएको थियो भने जिल्ला प्रहरी र बैदामको वडा कार्यालयबाट प्रहरी खटिएका थिए।
घटनाको भोलिपल्ट लोहार बीमा रकम दाबीका लागि सिफारिस लिन वडा प्रहरी कार्यालय बैदाम पुगेका थिए भने तेस्रो दिन नै इन्स्योरेन्स कम्पनीमा दाबी भुक्तानीका लागि निवेदन पेस गरेका थिए। निवेदनमा उनले आगलागीबाट ९४ लाख रुपैयाँ बराबरको क्षति भएको उल्लेख गरेका थिए।
प्रहरीका अनुसार बीमा कम्पनीलाई दिएको निवेदनमा चार्जमा राखेको मोबाइल पड्किएर घटना भएको भनिएको थियो। ‘शंका लागेर घटना अनुसन्धान गर्दा बीमा रकम दाबी गर्न आफ्नै पसलमा आगो लगाएको खुलेकाले लोहारलाई पक्राउ गरिएको हो,’ जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्माले भने।
प्रहरीले घटनास्थल र लोहारको अर्को पसलबाट विभिन्न प्रमाण संकलन गरेको थियो। त्यसपछि घटना लोहार आफैंले गराएको तथ्य बलियो हुँदा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
तालचोकमा ६ जना कर्मचारी राखेर ५ वर्षदेखि शर्मा आइटी सल्युसन नामको पसल चलाउँदै आएका लोहारको आगलागी भएको न्युरोडको पसल नयाँ थियो। शर्मा आइटी हब उनले न्युरोडमा ब्लक र टिनको टहरालाई मासिक ३५ हजार रुपैयाँ भाडामा लिएर गत पुसदेखि सञ्चालनमा ल्याएका थिए।
उनको नयाँ पसल घटनाको दुई दिन अघिदेखि बन्द थियो भने कार्यरत दुई कामदार बिदामा थिए। उनले गत महिना मात्रै शिखर इन्स्योरेन्समा उक्त पसलको एक करोड रुपैयाँको बीमा गरेको खुल्न आएको प्रहरीले जनाएको छ।
पक्राउ परेका लोहारलाई जिल्ला अदालत कास्कीबाट ७ दिनको हिरासत म्याद लिइ घटनाको अनुसन्धान भइरहेको छ।