
भारतीय क्रिकेट टोली आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा अस्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत प्रतियोगिताको फाइनलमा पुगेको हो।
आज सम्पन्न खेलमा अस्ट्रेलियाले टस जित्दै पहिलो ब्याटिङ रोजेको थियो। ४९.३ ओभर ब्याटिङ गर्दा अलआउट भएको अस्ट्रेलियाले २६४ रन बनायो।
अस्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथले सर्वाधिक ७३ रन बनाउँदा एलेक्स करेले ६१ तथा ट्राभिस हेडले ३९ रनको महत्वपूर्ण योगदान दिए।
बलिङतर्फ भारतका मोहम्मद सामीले सर्वाधिक ३ विकेट लिँदा वरुण चक्रवर्ती र रवीन्द्र जडेजाले समान २ तथा हार्दिक पाण्ड्या र अक्षर पटेलले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको भारतले ४८.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो।
भारतका लागि संयमित ब्याटिङ गरेका विराट कोहलीले सर्वाधिक ८४ रन बनाउँदा श्रेयस ऐय्यरले ४५ तथा केएल राहुलले अविजित ४२ रन बनाए। त्यस्तै हार्दिक पाण्ड्या र रोहित शर्माले समान २८ रन बनाए।
बलिङतर्फ अस्ट्रेलियाका एडम जाम्पा र नाथन एल्लिसले समान २ विकेट लिँदा कुपर कोनोली र बेन द्वारसुइसले समान १ विकेट लिए।
प्रतियोगितामा भारत समूह ‘ए’ को विजेता र अस्ट्रेलिया समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल पुगेका थिए। दोस्रो सेमिफाइनलमा बुधबार न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्नेछन्। यी दुईबीचको विजेताले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ।