
काठमाडौं। अर्थतन्त्रमा शिथिलतासँगै साना तथा मझौला उद्योग एकपछि अर्को धराशायी बनेका छन्। बैंकबाट ऋण लिएर उद्यम गरेकाहरूको धमाधम धितो लिलामी भइरहेको छ। सम्पत्ति लिलामीमा परेका उद्यमीमा तीव्र असन्तुष्टि छ। शिथिलताले सरकारको ढुकुटीमा पनि ठूलो ‘स्ट्रेस’ छ।
संघ, प्रदेश र स्थानीय तहको कमाण्ड सम्हाल्ने नेतृत्व र उनीहरूका निकट तथा वेतनभोगी कर्मचारीबाहेक बहुसंख्यक जनतामा आक्रोशको तीव्र बेग चलिरहेको छ। उच्च, मध्यम र निम्न मध्यमवर्ग बेखुसी छ। उनीहरूको आक्रोश छ- ‘यो व्यवस्थाले केही सीमित नेता, तिनका आसेपासे र भरौटेलाई लाभ पुर्यायो। तर, बहुसंख्यकलाई हानी।’
यो आक्रोशका बीच मुलुकभित्र जबर्जस्तरुपमा आन्दोलनको तयारी सुरु भएको छ। त्यो पनि एउटा मात्रै होइन, विभिन्न समूहले व्यवस्थाप्रति नै लक्षित गर्दै आन्दोलनको तयारी गरिरहेका हुन्।
विभिन्न समूह आन्दोलनको रिहर्सलमा लागेपछि सुरक्षा निकाय हाइ अलर्ट भएर बसेको स्रोतले बतायो। स्रोतका अनुसार नेपाली सेनाले समेत विभिन्न समूह र तहबाट हुन लागेको आन्दोलनलाई सुक्ष्मरुपमा हेरिरहेको छ।
प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेको भिडियो सन्देशले पनि आन्दोलनको तयारीमा रहेको समूह उत्साही बन्न पुगेको सुरक्षा निकायको विश्लेषण छ।
‘देशका निम्ति, राष्ट्रका खातिर हाम्रो समर्पण, निष्ठा सदैव हुने छ। राष्ट्र रक्षाका निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनु पर्दछ। हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौं।अब नेपालको उन्नतिका लागि हामीबाट अरू के के त्याग गर्नुपर्ने हो हामी तयार छौं। अब समय आयो, राष्ट्र जोगाउने हो भने राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौं,’ ज्ञानेन्द्रले भनेका थिए।
ज्ञानेन्द्रको अभिव्यक्तिपछि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) सबैभन्दा बढी उत्साही भएको छ। राप्रपाले जनतामा व्याप्त निराशालाई हेरेर आन्दोलनको तयारी गरेको छ। त्यो पनि देशव्यापी।
त्यसको तयारीस्वरुप राप्रपाले आन्दोलनमा जनताबाट कुन रूपमा समर्थन पाइन्छ भनेर आमसभाका नाममा नाडी छाम्ने काम गरिरहेको छ। राप्रपाले अहिले देशव्यापी आमसभा गरिरहेको छ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले चैतमा काठमाडौं केन्द्रित विरोधका कार्यक्रम तय भएको बताए। ‘अहिले देशैभरी प्रदर्शन भइरहेको छ। प्रदेश संरचनाको खारेजी, राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र र नवीन साझेदारीको मागसहित हामीले चैतमा काठमाडौं केन्द्रित आन्दोलन गर्दैछौ,’ प्रवक्ता श्रेष्ठले भने।

फागुनको प्रदर्शन सकिएलगत्तै चैतको विरोधको कार्यक्रमको स्वरूप तय हुने उनले बताए।
पूर्वराजाको आह्वानलाई साथ दिनेगरी दुर्गा प्रसाईँलगायत ‘इन्फ्लुएन्सर’हरु पनि विभिन्न गतिविधिमा लागेको देखिन्छ।
पूर्वमा प्रदेश नामकरणको विरोधी ‘नो कोशी’ समूहले आन्दोलन घोषणा गर्ने तयारी गरेको छ। समूहले अब चाँडै आन्दोलन थाल्ने बताएको छ। ‘अब सिंहदरबार हल्लने गरी आन्दोलन हुन्छ। वार कि पार गरिन्छ,’ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले भने।
मधेशवादी मुद्दा छाडेर राष्ट्रिय मुक्ति क्रान्ति मोर्चा गठन गरेका राजेन्द्र महतो ताप्लेजुङको पाथीभरादेखि बागलुङ पुगेका छन्। पाथीभरामा नो केबलकारको विरोध गरेका उनले शनिबार बागलुङको बुर्तिबाङमा ढोरपाटन आरक्षविरुद्ध प्रदर्शन गरे। महतोले सरकारविरुद्ध आन्दोलनमा उत्रन सबैलाई आग्रह गरिरहेका छन्।
यता सरकारप्रति वितृष्णा देखाउँदै पूर्वमा पहिचानवादी मोर्चाले नो कोशी पक्षधरलाई समर्थन गर्दै आन्दोलन चर्काएको छ। अशोक राईले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी फुटाएका बेला डा महेन्द्र लावतीले गत वैशाखमा दुबैबाट पार नलाग्ने भन्दै नयाँ मोर्चा बनाएका थिए।
अमेरिकास्थित वेस्टर्न मिसिगन विश्वविद्यालयमा राजनीतिशास्त्र र अन्तर्राष्ट्रिय विकास विषय पढाउने लावतीले पुराना दलप्रति रुष्टहरूलाई जम्मा पारेर मत बटुल्ने प्रयास गरिरहेका छन्। ‘टीकापुर काण्डले थरुहटमा एमाले कांग्रेस हराएकै हो। फुङ्लिङ काण्डले पूर्वी पहाडमा एमाले कांग्रेस हराउँछन्,’ पहिचानवादी मोर्चाका संयोजक लावतीले भने।
फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले लावती र महतोले प्रवासी नेपालीलाई उक्साएर राजनीति गरिरहेको बताए। ‘उनीहरू न त पहिचानवादी हुन्, न त विकासका पक्षधर। कतै पार नलागेर प्रवासमा बसेका नेपालीहरूलाई उक्साइरहेका छन्,’ मादेनले भने।’
माओवादी ‘पर्ख र हेर’मा
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र अहिले तराई मधेश जागरण अभियानमा छ।अभियानलाई नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारविरुद्ध लक्षित गर्दै माओवादीले पक्षमा जनसमर्थन बढाउन खोजिरहेको छ।
माओवादीका एक नेताका अनुसार कांग्रेस र एमालेको लोकप्रियताको ग्राफ घटाएर आफ्नो बढाउने रणनीतिसहित अभियान थालिएको हो। ‘अहिले विभिन्न समूह आन्दोलन गर्न सलबलाई रहेको हामीले बुझेका छौं। हाम्रो अभियान अहिलेको राज्य प्रणाली विरुद्ध होइन,’ ती नेताले भने, ‘हामीले यो व्यवस्थालाई बलियो बनाउन अभियान गरेका हौं।’
पुरातनवादी शक्तिलाई मलजल हुनेगरी आन्दोलन नगर्ने ती नेताको भनाइ छ। ‘हाम्रो अध्यक्षज्यूले विभिन्न समूहले गर्न खोजेको आन्दोलनप्रति सचेत भएर अभियानमा जाने भन्नुभएको हो। अहिलेको सरकारले गरिरहेको काम कारबाहीले जनतामा तीव्र निराशा छ। त्यसलाई चिर्न हामी सक्षम छौं भन्न जनतामा जाने काम भएको हो,’ उनले भने।