
आईसीसी च्याम्पियन्स ट्रफीमा भारतले न्युजिल्याण्डलाई हराएको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गएराति सम्पन्न खेलमा भारतले न्युजिल्याण्डमाथि ४४ रनको जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४९ रन बनाएको थियो।
भारतका लागि श्रेयस ऐय्यरले सर्वाधिक ७९ रन बनाउँदा हार्दिक पाण्ड्याले ४५, अक्षर पटेलले ४२, केएल राहुलले २३, रवीन्द्र जडेजाले १६ तथा कप्तान रोहित शर्माले १५ रनको योगदान दिए।
बलिङतर्फ न्युजिल्याण्डका म्याट हेन्रीले सर्वाधिक ५ विकेट लिँदा केल जेमिसन, विल ओरोउर्के, मिचेल स्यान्ट्नर र रचिन रविन्द्रले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको न्युजिल्याण्ड ४५.३ ओभरमा २०५ रनमा समेटियो। न्युजिल्याण्डका लागि केन विलियमसनले सर्वाधिक ८१ रन बनाउँदा विल योङले २२ तथा मिचेल स्यान्टनरले २८ रन बनाए।
बलिङतर्फमा भारतका वरुण चक्रवर्तीले सर्वाधिक ५ विकेट लिँदा कुलदीप यादवले २ तथा हार्दिक पाण्ड्या, अक्षर पटेल र रवीन्द्र जडेजाले समान १ विकेट लिए। योसँगै च्याम्पियन्स ट्रफीको सेमिफाइनल समीकरण तयार भएको भएको छ।
सेमिफाइनलमा समूह ‘ए’ को विजेता भारतले समूह ‘बी’ को उपविजेता अस्ट्रेलियासँग भोली दुबईमा खेल्नेछ। त्यस्तै समूह ‘बी’ को विजेता दक्षिण अफ्रिकाले समूह ‘ए’ को उपविजेता न्युजिल्याण्डसँग खेल्नेछ। यो खेल मार्च ५ मा लाहोरमा हुनेछ।