
युरोपेली फुटबल महासंघ (यूईएफए)ले स्पेनिस फुटबल जायन्ट रियल मड्रिडमाथि ३० हजार युरो (करिव ४५ लाख रुपैयाँ) को जरिवाना लगाएको छ। च्याम्पियन्स लिग अन्तर्गत इङ्ग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलविरुद्ध मड्रिडका समर्थकले ‘होमोफोबिक चान्ट’ गरेको भन्दै यूईएफएले कारवाही गरेको हो।
नगद कारवाही सँगसँगै मड्रिडले स्टेडियमको आंशिक भाग बन्द गर्नुपर्ने छ। बर्नेबेउमा आगामी यूएईएफएको खेल हुँदा पाँच सय सिट खाली छाड्नु पर्नेछ। यदि फेरि यस्तो घटना दोहोरिएमा यो दुई वर्षका लागि लागु हुनेछ।
यूइएफले यो निर्णय उनको अनुशासन सम्बन्धी नियम आर्टिकल १४ को आधारमा गरेको छ। यसले ‘कुनै पनि व्यक्ति वा समूहको मानवीय गरिमालाई अपमान गर्ने’ कार्यलाई दण्डनीय ठान्छ। यसमा जात, रंग, धर्म, लिङ्गजस्ता आधारमा गरिने भेदभाव समावेश छन्।
उक्त दिनको खेलमा मड्रिडले किलियन एम्बाप्पेको ह्याट्रिकको सहायतामा सिटीमाथि ३-१ गोलको जित निकालेको थियो। मड्रिडले च्याम्पियन्स लिगमा प्रि-क्वाटरफाइनलमा एट्लेटिको मड्रिडसँग खेल्नेछ। ला लिगामा हाल रियल मड्रिड २६ खेलबाट ५४ अंक बनाउँदै तेस्रो स्थानमा छ। २५ खेलबाट समान अंक बनाएको बार्सिलोना दोस्रो स्थानमा छ। शीर्षस्थानमा २६ खेलबाट ५६ अंक बनाएको एट्लेटिको मड्रिड छ।