
टोरेन्ट ग्रुपले इण्डियन प्रिमियर लिग (आईपीएल)को फ्रेन्चाइज गुजरात टाइटन्सको ६६ प्रतिशत सेयर खरिद गरेसँगै अन्य फ्रेन्चाइजको मूल्यांकन पनि चर्चामा छ।
यसक्रममा आईपीएलका पुराना ८ टोलीको बजार मूल्य कम्तीमा २ बिलियन डलर अर्थात (२ खर्ब ८० अर्ब रुपैयाँ) रहेको आईपीएलको उच्च अधिकारीलाई हवाला दिँदै भारतीय संचारमाध्यम जनाएको छ।
सीभीसीले गुजरातको ६६ प्रतिशत हिस्सा १ खर्ब २५ अर्ब रुपैयाँ भन्दामाथिको मूल्यमा लिएको रिपोर्टहरु सार्वजनिक भएका छन्। अन्य फ्रेन्चाइजीहरुको मूल्य गुजरातको भन्दा डेढ देखि दुई गुणासम्म बढी भएको अनुमान गरिएको छ।
यस्तो अवस्थामा केही फ्रेन्चाइजीहरुले आईपीओ निष्कासनको समेत तयारी गरिरहेको हुन सक्ने चर्चा हुन थालेको छ। सन् २०२३ मै दिल्ली क्यापिटल्स र किंग्स ११ पञ्जाब पब्लिक लिस्टिङको प्रक्रियामा जान चाहेको र राजस्थान रोयल्सले प्राइभेट इक्विटी फण्डको लागि तयारी गरेको समाचार आएको थियो।
मुम्बई इण्डियन्स, चेन्नइ सुपर किंग्स र रोयल च्यालेन्जर्स बेङ्ग्लुरुको मुल्यांकन गुजरातको तुलनामा दोब्बर हुने बताइएको छ। त्यस्तै, कोलकाता नाइटराइडर्स, राजस्थान रोयल्स, पञ्जाव किंग्स, सनराइर्स हैदराबाद र दिल्ली क्यापिटल्सको बजार मूल्य गुजरातको भन्दा डेढ गुणा बढी हुने बताइएको छ।
‘आठ टोलीहरू प्रत्येक वर्ष राम्रो नगद प्रवाह उत्पन्न गरिरहेका छन्। त्यसैले, घाटामा रहेको गुजरातको तुलनामा उनीहरूको मूल्यांकन निकै बढी हुनेछ,’ इकोनमिक टाइम्सले लेखेको छ।
आईपीएलका फ्रेन्चाइजहरुले पछिल्लो समय आइपीएलमा मात्र नभएर विश्वभरका लिगमा लगानी गर्दै आएका छन्। रिलायन्स इन्डस्ट्रिज, सन टिभी नेटवर्क, आरपीएसजी ग्रुप, शाहरुख खानको केकेआरलगायत विभिन्न टोलीको स्वामित्व राख्ने कम्पनीहरुले दक्षिण अफ्रिका, यूएई, इङ्ग्ल्याण्ड, अमेरिकालगायतका देशका लिगहरुमा लगानी गरिरहेका छन्।
नेपालमा यही वर्ष सम्पन्न नेपाल प्रिमियर लिगमा पनि लगानी गर्न आईपीएल फ्रेन्चाइजी इच्छुक भएको भनाइ क्यानको संस्थापन पक्षले नै जनाएको थियो। यद्यपि, एनपीएलको पहिलो संस्करणमा नेपाली व्यवसायी तथा घरानाको मात्र प्रत्यक्ष लगानी रहेको थियो।
आईपीएलको ब्राण्ड भ्यालु विभिन्न मूल्यांकनमा १० देखि १६ बिलियन अमेरिकी डलरको बीचमा भएको पाइन्छ। हुलिहान लोकी, ब्राण्ड फाइनाइन्स र डी एण्ड पी एडभाइजरीजस्ता फर्मले यो मूल्यांकन गरेको हो।
इन्डियन प्रिमियर लिगका १० वटा फ्रेन्चाइजीहरूको संयुक्त आम्दानी आर्थिक वर्ष २०२४ मा ६७९७ करोड भारु (१ खर्ब १० अर्ब रुपैयाँ) पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा दोब्बर बढी हो। टोफ्लरद्वारा प्रकाशित तथ्यांक अनुसार आईपीएल टोलीहरूको राजस्व पनि उल्लेखनीय रूपमा बढेको देखिएको छ।
हालै फ्रेन्चाइजीहरूको मूल्यांकन आकाशिएको भए पनि कुनै पनि टोलीले आफ्नो बहुमत स्वामित्व बेच्ने सम्भावना निकै कम भएको ब्राण्ड फाइनाइन्सले जनाएको छ। अहिलेको सन्दर्भमा धेरै टोलीका मालिकहरू आफ्नो नियन्त्रण कायम राख्न चाहन्छन्, जसका कारण कुनै सेयर बिक्री भए पनि साना अनुपातमा मात्र हुनेछ।